२८ फागुन , काठमाण्डौ ।
प्रतिनिधिसधामा प्रतिपक्ष दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा राखेको अभिब्यक्तिकै कारण आजको बैठकमा लफडा भएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएपछि प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
कांग्रेस सांसदहरूले गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएकाले तथ्य पुष्टि गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए । शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर नगरपालिका–९ को लोकतान्त्रिक चोकस्थित कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएकी थिइन् ।
उनले स्थानीय बासिन्दाको उजुरीपछि पनि स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको गुनासो गरेकी थिइन् । सुमनासँगै रास्वपाका अर्का सांसद शिशिर खनालले पनि नेवार समुदायको चिहानको उक्त जग्गा कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका थिए ।
उनले उक्त जग्गा उजुरी पर्दासमेत स्थानीय तहले संरक्षणमा कुनै पहल नगरेको आरोप लगाएका थिए । ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर–९ लोकतान्त्रिक चोकस्थित नेवार समुदायको चिहान रहेको कित्ता नं. ६२÷६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको अवस्था छ । स्थानीयवासीको गुनासो र उजुरीको बावजुद स्थानीय तहले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको गुनासो आएको छ,’ खनालले भनेका थिए ।
सांसद श्रेष्ठको आरोपपछि कांग्रेस सांसदहरूले उठेर आपत्ति जनाए । उनीहरूले सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउनसमेत माग गरे । रास्वपा नेताहरूले यस्तो आरोप लगाएपछि कांग्रेस सांसदहरू उठेर विरोध जनाए।
जसका कारण संसद् बैठक केहीबेर अवरुद्ध भयो । विरोध जनाउने कांग्रेस सांसदहरूमा राजेन्द्र बजगाईं, सुशीला थिङ र सन्तोष चालिसेसहित थिए । केहीबेरपछि रास्वपा सांसद श्रेष्ठले फेरि त्यही कुरा दोहो¥याइन्।
त्यसपछि कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्नुपर्ने बताएका थिए । यस विषयमा आएका विवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै उनले कांग्रेस सांसदहरूलाई बस्न आग्रह गरेका थिए ।
कांग्रेस सांसदहरूले आशन ग्रहण गरेपछि सभामुखले बैठक अघि बढाएका थिए । कांग्रेसका कुन नेताले लोकतान्त्रिक चोकस्थित उक्त जग्गा कब्जा गरेको हो भन्ने विषय चाँही रास्वपा सांसदहरूले नाम खुलाएका छैनन्।
तर दुधे अवस्थामै निधन भएका बालबालिकाहरुको अन्तिम संस्कारका लागि प्रयोग गर्दै आएको सरकारी जग्गा कांग्रेस नेता एवं डाक्टर केदार नरसिंह केसीले कब्जा गरेको आरोप लागेको खबर गएको साउनमा बाहिरिएको थियो ।
उक्त सरकारी जग्गा (मचागाः) डाक्टर केसीले आफ्नो घरकम्पान्ड बनाएर तारबार गरेर राखेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नंं ९ मनमैजुको लोकतान्त्रिक चोकस्थित कित्ता नम्बर ६३ को मचागाः आफ्नो दाजु मन्त्री भएको समयमा पर्खाल लगाएर सो जग्गा आफ्नो घर कम्पान्डमा ल्याएर प्रयोगमा ल्याएको आरोप लाग्दै आएको छ ।
नौ आना रहेको सो जग्गा करिब पाँच करोड मूल्यबराबरको रहेको अनुमान छ । सरकारी जग्गा कब्जा गरेर घर कम्पाउन्ड बनाएपछि स्थानीयहरूले लगातार विरोध गरे पनि कांग्रेस नेता समेत रहेका केसीले जग्गा स्थानीय तहलाई जिम्मा नलगाएको स्थानीयको आरोप छ ।
जग्गा हडपेको विषयमा तारकेश्वर नगरपालिकाको सार्वजनिक सुनुवाइ र संघीय सांसदले आयोजना गरेको सार्वजनिक सुनुवाइमा समेत यस विषयमा कुरा उठ्दा नगरपालिका यस विषयमा मौन रहने गरेको आरोप छ । यो आरोपका विषयमा डां केसीले पनि मौनता साध्दै आएका छन् ।
तारकेश्वर नगरपालिकाको मेयरमा कांग्रेसबाट निर्वाचित कृष्णहरि महर्जन रहेका छन् । सरकारी जग्गा हडपेको आरोप लागेका डा. केसी भने नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सांसद अर्जुन नरसिंह केसीका भाइ तथा कांग्रेस नेता हुन् । उनी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका पूर्वनिर्देशक र नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुन् ।