४ चैत , काठमाण्डौ।
आइबारदेखि सामाजिक संजालमा भाइरल भइरहेको भिडियोमा देखिएका कर्णाली नदीमा गाईमाथि क्रुरतापूर्ण व्यवहार गर्नेहरु अन्ततः प्रहरीको निशानामा परेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ का बासिन्दाले गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेलेका थिए ।
यो घटनामा संलग्न सबैमाथि अब प्रहरीले अनुशन्धान गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई वडाअध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशनसमेत दिएको छ । यो घटनामा स्थानीय एक व्यक्तिको मलामी गएकाहरुले एउटा गाई कुट्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेका हुन् ।
स्थानीय परम्परा अनुसार कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने र गौदान गरेको गाईलाई यसैगरी कर्णाली नदी पारी लेखेट्ने गरिएको छ । तर यो पशुमाथिको चरम यातना भएको भन्दै व्यापक विरोध भइरहेको छ ।
यसबारे अब जिल्ला प्रशासन कार्यालय र प्रहरीले चासो व्यक्त गरेको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताएका छन् ।
यता वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कृत्य हुँदै आएको छ । ‘गाउँमा कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने गरिन्छ’ उनी भन्छन्, ‘यसरी गौदान गर्दा मृतकको आत्माले स्वर्गमा सजिलै वास पाउने तथा पापमुक्त हुने अन्धविश्वास छ ।’
यस पटा पनि स्यानीय साउने सार्कीको फागुन २८ गते निधन भएपछि भोलिपल्ट अन्त्येष्टि गरिएको थियो । साउने सार्कीको निधनपछि परिवारले उक्त गाई गौदान गरेका थिए । यसबीच उक्त गाई घर फर्किएको छ ।
गाई मृतक साउने सार्कीकै घर फर्किएको हो । स्थानीय बासिन्दा धनबहादुर बिसीले गाई घर फर्किएको बताएका छन् । ‘गाई कर्णाली नदी तर्न नसकेपछि सोही दिन बेलुकी घर फर्किएको हो,’ उनले भने । यो गाई साउने सार्कीका परिवारले केही समयअघि कालिकोटबाट किनेर ल्याएर घरमा पाल्दै आएका थिए ।