५ चैत , एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज कुराकानी हुँदै छ । यी दुई नेताबीच मुख्यतः युक्रेनको विषयमा कुराकानी हुन लागेको हो । कुराकानीलाई लिएर ट्रम्प उत्सुक देखिएका छन् ।
उनले भनेका छन– म पुटिनसँग हुने टेलिफोन कुराकानीलाई लिएर उत्सुक छु । पुटिनसँगको कुराकानी हुनुअघि ट्रम्पले आफूहरूबीच केही मुद्दामा सहमति बनेको प्रतिक्रिया दिएका छन् ।
युक्रेनमा शान्ति स्थापनाका लागि हुने सम्झौताका केही मुद्दामा सहमति बनेको उनको भनाइ छ । आफ्नो ट्रुथ सोसलमा उनले लेखेका छन– मंगलबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्धसँग जोडिएका मामिलामा कुराकानी गर्दै छु ।
ट्रम्पले अगाडि भनेका छन– केही मुद्दामा सहमति बनेको छ भने केही बाँकी छ । रुस–युक्रेन युद्धका बारेमा ट्रम्पले लेखेका छन– हजारौँ युवा सैनिकहरूसमेत कयौँ व्यक्तिहरू मारिएका छन् । हरेक साता दुवैतर्फ गरी २५ सय सैनिकको मृत्यु भइरहेको छ । यो युद्ध अब समाप्त हुनु आवश्यक छ ।
अमेरकाले तीव्र दबाब बढाउँदै युक्रेनलाई ३० दिने अस्थायी युद्धविराममा राजी बनाएसँगै रुसमाथि पनि दबाब बढाएको थियो । आफ्नो प्रस्ताव नमाने रुसले विनासकारी परिणाम भोग्नुपर्ने चेतावनी अमेरिकाले दिएको थियो । तर, रुसले भने यसमा संयमित प्रतिक्रिया जनाएको थियो ।
रुसले अस्थायी युद्धविरामको प्रस्तावलाई अस्वीकार नगरे पनि त्यसका लागि केही सर्तहरू पूरा हुनुपर्ने बताएको छ । विश्लेषकहरूले भने रुसले राखेका त्यस्ता सर्तहरू कडा रहेको जनाएका छन् । यस्तो अवस्थामा हुन लागेको ट्रम्प–पुटिन वार्तालाई महत्त्वका साथ हेरिएको छ ।
यो वार्ताका सम्बन्धमा युक्रेनले पनि प्रतिक्रिया दिएको छ । युक्रेनको विदेश मामिलाको संसदीय समितिका अध्यक्ष अलेक्जेन्द्रो मेरजले युक्रेनका सम्बन्धमा तीन सर्त उठाएका छन् । उनले भनेका छन– युक्रेन आफ्नो सीमा जोडिएको विषयमा कुनै पनि छुट दिन तयार छैन । र, यसमा युक्रेन कुनै पनि कुरा गर्न तयार छैन ।
त्यस्तै उनले दोस्रो सर्तबारे भनेका छन– अन्तर्राष्ट्रिय संगठन खासगरी नेटोको सदस्यताबारे युक्रेनको विषयमा रुसी राष्ट्रपति पुटिनले कुनै पनि निर्णय हुनु हुँदैन । त्यस्तै उनले तेस्रो कुरा भनेका छन– हामी आफ्नो रक्षा क्षमताका लागि पुटिनको कुनै पनि निर्णयमा राजी हुन सक्दैनौँ ।
यसबीच ट्रम्पले भने रुसी राष्ट्रपति पुटिनसँग फोन वार्ता पहिले कयौँ विषयमा सहमति जुटेको बताएका हुन् । उनले आफू पुटिनसँगको कुराकानीका लागि व्यग्र प्रतिक्षा गरिरहेको पनि भनेका छन् । यसअघि संवाददाताहरुसँग आफुहरु शान्ति सम्झौता तथा युद्धविराम गर्ने सन्दर्भमा सक्षम हुने प्रतिक्रिया दिएका थिए ।
बेलायत र फ्रान्सले पुटिनसँग यो सबै सावित गर्न आग्रह गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले युद्ध विराम प्रस्तावमा सहमति जनाउने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ‘साहस’ सराहाना योग्य रहेको बताएका छन् । उनले रुसलाई यस्तो साहस गर्न चुनौती समेत दिएका छन् ।
यसैबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी– ७ शिखर सम्मेलनमा आमन्त्रण गरेका छन् । अमेरिकामा ट्रम्प सत्तामा फर्किएपछि रुस–युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो ।
गत हप्ता क्युबेकमा भएको जी– ७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो ।
तर त्यस्तो भाषा शुक्रबार जी– ७ बैठकमा जारी विदेशमन्त्रीहरूको अन्तिम बयानमा समावेश थियो । यो रुसले अमेरिकी नेतृत्वको युद्धविराम पहलका शर्तहरू तत्काल स्वीकार गरेन भन्ने सन्दर्भमा सम्भवतः वासिङ्टनमा निराशाको सङ्केत हो ।
यस हप्ता पेरिस र लण्डनको भ्रमण गरिरहेका कार्नीले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै जेलेन्स्कीले आफ्नो कलमा ‘युक्रेनको रक्षा र शान्तिलाई अगाडि बढाउनका लागि विश्वव्यापी प्रयासहरू’ बारे अपडेट दिएको बताए ।
‘क्यानाडा रुसी आक्रमणविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँलाई दृढतापूर्वक समर्थन गर्दछ’, उनले भने । जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्नीसँगको कुराकानीलाई ‘राम्रो र सारगर्भित’ भनेका छन् । यो वर्षको जी–७ अध्यक्षता गर्ने क्यानडाले जुन १५–१७ मा अल्बर्टाको कानानास्किसमा शिखर सम्मेलनको आयोजना गर्नेछ ।