६ चैत , एजेन्सी ।
युक्रेनमा जारी युद्ध रोक्ने संदर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार महत्वपूर्ण फोनवार्ता भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बताएअनुसार दुई नेताबीच कम्तीमा ९० मिनेट कुराकानी भएको हो ।
रुसले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पुटिनले ट्रम्पसँगको फोन वार्तापछि युक्रेनको ऊर्जा लक्ष्यमा ३० दिनसम्म आक्रमण नगर्ने सहमति गरेको जनाएको छ । राष्ट्रपति पुटिनले युक्रेन र रुसले ऊर्जा पूर्वाधारमा ३० दिनका लागि आक्रमण रोक्न ट्रम्पको सुझावलाई समर्थन गरेका छन्, विज्ञप्तिमा भनिएको छ ।
यससंगै पुटिनले युक्रेनमा तत्काल पूर्ण युद्धविराम अस्विकार गरेका हुन् । ट्रम्पसँगको संवादका क्रममा उनले केवल उर्जा प्रणाली तथा संरचनामाथिको आक्रमण रोक्ने सन्दर्भमा मात्रै सहमति जनाएका छन् ।
पुटिनले दीर्घकालीन युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरेका हुन् । यस्तै उनीहरुंण् बीच सहमतिअनुसार मार्च १९ मा रुस र युक्रेनले १७५ युद्धबन्दी साटासाट गर्नेछन्। साथै रुसमा उपचाररत २३ गम्भीर घाइते युक्रेनी सैनिकलाई युक्रेन पठाइने छ ।
रुसले ३० दिने युद्धविरामको अवधिमा युक्रेनमा सेनाको आवागमन रोक्न माग गरेको छ । ट्रम्प र पुटिनबीच फोनवार्ता हुनुअघि अमेरिकी अधिकारीहरूले साउदी अरेबियमा युक्रेनसँग वार्ता गरी ३० दिनको अस्थायी युद्धविरामका लागि समझदारी बनाएको थियो ।
यसमा केही सर्तसहित पुटिन सहमत भए पनि अब युक्रेनले के गर्छ भनेर हेर्न भने बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यता वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले पनि जनाएको छ ।
यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन । पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सारे, जबकि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई ‘मात्रै कुरा गर्ने’ प्रयास भएको बताए ।
ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँड’ को विषयमा कुराकानी भइरहेको संकेत गरेपछि युरोपेली राष्ट्रहरू चिन्तित छन् । वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता महत्त्वपूर्ण चरणमा पुगेको बताए, तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको बताए ।
यता, पुटिनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दोहो¥याए । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सैन्य सहायताका लागि वार्ता गर्न फिनल्यान्ड पुगेका छन् ।
उनले टेलिग्राममा आफू फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबलाई भेट्न जाँदै गरेको लेखेका छन् । उनले त्यहाँ प्रधानमन्त्री पेट्री ओर्पो र रक्षा उद्योगका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछन् ।
फिनल्यान्डको राष्ट्रपति कार्यालयले बुधबार राष्ट्रपति भवनमा वार्ता हुने पुष्टि गरेको छ । रक्षा सहायतासहित बैठकको मुख्य एजेन्डा युक्रेनमा हतियार उत्पादनमा लगानी र युक्रेन युरोपमा प्रवेश पनि हो ।
यता पुटिनले भने वृहत ढाँचाको युद्धविराम त्यति बेला मात्रै काम गर्ने छ, जब युक्रेनले पाइरहेको सैन्य सहायता र गोप्य सूचना आदान प्रदान बन्द हुन्छ भनेका छन् । युक्रेनका युरोपेली सहयोगीहरुले भने पहिल्यै यस्ता शर्त अस्विकार गरेका छन् ।
यद्यपि, पुटिन र ट्रम्प मध्यपूर्वमा आगामी शान्ति वार्ता तुरुन्त गर्नेमा भने सहमत भएका छन् । गएको मंगलबार मात्रै अमेरिकी प्रतिनिधिमण्डल र युक्रेनी समकक्षीबीच भएको वार्तामा तत्काल ३० दिने युद्धविराम गर्न सकिने सहमति जुटेको थियो ।
तर, त्यसमा पुटिन सहमत हुन सकेका छैनन् । उनले केबल उर्जा पूर्वाधारमा मात्रै आक्रमण रोक्ने भनेका छन् ।