१८ चैत, एजेन्सी।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका गएरातिका खेलमा राजस्थान रोयल्सले पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्ग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । यस्तै सनराइजर्स हैदराबादलाई दिल्ली क्यापिटलले पराजित गरेको छ ।
दिल्ली क्यापिटलसँग हैदाराबाद ७ विकेटले पराजित भयो । यो आइपिएल २०२५ अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार दोस्रो खेलमा जित निकालेको हो । पहिलो खेलमा जित निकालेको हैदरावाद भने पछिल्ला दुई खेलमा पराजित भइसकेको छ।
हैदरावादले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमै ३ विकेट गुमाएर पूरा ग¥यो। दिल्लीका लागि फाप डु प्लेसिसले २७ बलमा ५० रन, जेक फ्रासरले ३८ रन र अभिषेक पोरेलले नटआउट ३४ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद १८.४ ओभरमा १६३ रनमै अलआउट भयो। उसका लागि अंकित बर्माले ७४ रन र हेनरिक क्लासेनले ३२ रन बनाए पनि अरु ब्याटर सस्तैमा आउट भए।
हैदरावादको ब्याटिङलाई दबाब दिने क्रममा दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए। प्लेयर अफ दि म्यच स्टार्कले ३.४ ओभरमा ३५ रन दिए। कुलदिप यादवको नाममा ३ विकेट रह्यो। दिल्ली यस सिजनको पहिलो दुवै खेल जित्ने दोस्रो टोली भएको छ ।
रोयल च्यालेन्जर बेङ्लुरुले पनि पहिलो दुवै खेल जितेको छ । यस्तै राजस्थान रोयल्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । पहिलो दुई खेलमा पराजित राजस्थानले आइतबार चेन्नई सुपर किंग्सको चुनौतीलाई ६ रनले पन्छायो ।
पहिलो खेल जितेको चेन्नई त्यसयता लगातार दोस्रो खेलमा पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ८२ रन बनाएको थियो ।
नितिश रानाले ३६ बलमा ८१ रन जोडे । प्लेयर अफ द म्याच उनले १० चौका र ५ छक्का प्रहार गरे । कप्तान रियान परागले २८ बल खेली समान २ चौका र छक्कासहित ३७, सञ्जु सामसनले २० र सिम्रोन हेटमायरले १९ रन बनाए ।
चेन्नईका खलिल अहमद, नुर अहमद र माथिशा पाथिरानाले २–२ विकेट लिए । जवाफमा आएको चेन्नईले ६ विकेट गुमाई १ सय ७६ रन मात्र बनाउन सक्यो । कप्तान रुतुराज गायकवडले ४४ बल खेली ७ चौका र १ छक्कासहित ६३ रन बनाए ।
राहुल त्रिपाठी १९ बलमा २३, शिवम दुबे १० बलमा १८, महेन्द्रसिंह धोनी ११ बलमा १६ रन बनाई आउट भए । रवीन्द्र जडेजा २२ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ र जेमी ओभरटन ४ बलमा ११ रन बनाई अविजित रहे ।
जोफ्रा आर्चरले पहिलो ओभरमै रचिन रवीन्द्रलाई आउट गरी राजस्थानलाई राम्रो सुरुआत दिलाएका थिए । आर्चरले ३ ओभरमा १३ रन मात्र खर्चे । वानिन्दु हसरंगाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आज, मार्च ३१ मा, मुम्बईको वानखेड़े स्टेडियममा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ। मुम्बई इन्डियन्स यस सिजनमा आफ्नो पहिलो जितको खोजीमा छ, जबकि कोलकाता नाइट राइडर्स साबिक विजेता भएको नाताले आफ्नो प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ।
गत सिजनमा वानखेड़े स्टेडियममा भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको थियो। त्यो खेलमा कोलकाताले १६९ रन बनाएको थियो, जसको जवाफमा मुम्बई १४५ रनमै सीमित भएको थियो।
मुम्बई इन्डियन्सका लागि यो खेल जित हासिल गरी सिजनमा आफ्नो खाता खोल्ने अवसर हो। दोस्रो तर्फ, कोलकाता नाइट राइडर्स आफ्नो जितको क्रमलाई निरन्तरता दिन चाहन्छ। दुवै टोलीका समर्थकहरूका लागि यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।