१९ चैत, काठमाण्डौ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
सर्वोच्च अदालतले आज प्रकाशित गरेको पेसी सूचीमा उक्त इजलासको पहिलो र दोस्रो नम्बरमा कुलमान र हितेन्द्रदेवका निवेदन क्रमशः परेका छन् । यसअघि आइतबार पेसी तोकिएका भए पनि सुनुवाइ नभएपछि आजका लागि सरेको हो ।
आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका थिए । हितेन्द्रदेव शाक्यका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएको कारण त्यस दिन ‘हेर्न नमिल्ने’ मा परेको थियो ।
कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन् । हितेन्द्रदेवले भने कुलमानको सुरु नियुक्ति नै गलत भएकाले उनको पदाधिकार हुन नसक्ने दाबी गरेका छन् ।
उनले चार वर्षअघि आफूले दायर गरेको रिटमा निर्णय नदिई हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर पनि लिएका छन् । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि अदालत बोलाएको थियो । सर्वोच्चले दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ पनि मागेको छ ।