२६ चैत , काठमाण्डौ।
नेपालले चारदेशिय टी–२० सिरिजमा सहज जितसहित सुरुआत गरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ ।
अब नेपालले बिहीबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ । हङकङमा आज कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनायो ।
नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । १९ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे । अर्का ओपनर आसिफ शेखले २१ बलमा चार चौकासहित ३३ रन बनाए ।
यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पु¥याएका हुन् । त्यसमा कप्तान रोहितकुमार पौडेलले ३७ र बसीर अहमदले ३० रन थपिदिए । यी दुवै ब्याटर अविजित रहे ।
कतारका मुजीब–उल–रहमानले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका उनले १२ रन खर्चिए । त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो ।
कतारका कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए । ५४ बल नै खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । शाहजैब जमिल२१ बलमा चार चौकासहित ३१ रनमा ललितनारायण राजवंशीबाट क्याच आउट भए ।
अरुमुगगणेश नागराजन १३ रनमा आउट हुँदा मुजीब–उल–रहमान २० र मोहम्मद इर्शाद १८ रनमा अविजित रहे । नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सनकुमार झा र ललितनारयण राजवंशीको नाममा समान एक विकेट रह्यो ।
चार देशीय श्रृंखलामा नेपाल र कतारका अलावा हङकङ र कुवेतको पनि सहभागिता रहेको छ । नेपालले भोली विहीबार कुवेतसंग खेल्दा आफ्नो तेस्रो खेल शनिबार आयोजक हङकङसंग खेल्नेछ ।
लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल आगामी आइतबार खेलिने छ ।