३१ चैत , काठमाण्डौ ।
आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी भने पर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ । महाशाखाका अनुसार विहान पूर्वी नेपालका केही ठाउँमा पानी परेको छ ।
विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परेको हो । आज कोशी प्रदेश, मधेस प्रदेश तथा देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का पानी र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारणले आज दिउँसो पनि कोशी प्रदेशका थोरै स्थानहरु र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
राति पनि कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको मौसविदले जानकारी दिए ।
पानी पार्ने वायु कमजोर बन्दै गएकाले मौसम पनि सफा हुँदै जाने पनि मौसमविद बताउँछन् । गत बिहीबारदेखि भारतबाट आएको जलवास्पयुक्त हावा र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले देशभरजसो वर्षा गराएको थियो।
बिहीबारको तुलनामा शुक्रबार र शुक्रबारको तुलनमा शनिबार कम वर्षा भएको थियो । यसबीच वर्षा र हावाहुरी कम हुनासाथ काठमाडौँ उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । शनिबार विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरको सूचीमा ४२ नम्बरसम्म झरिसकेको काठमाडौँ सहर अहिले फेरि सातौँ स्थानमा उक्लिएको हो ।
आज काठमाडौँ विश्व वायु प्रदूषणको सूचीमा सातौँ नम्बरमा छ भने वायु गुणस्तर सूचकांक (एक्यूआई) १५३ छ । चैत २७ गते वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा रहेको काठमाडौँ (नेपाल) हावाहुरीसँगै वर्षा हुने थालेपछि प्रदूषण स्वाट्टै घटेर चैत २८ गते ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा ४२औँ नम्बरमा झरेको थियो ।
तर शनिबारदेखि फेरि पानी पर्न तथा हावाहुरी चल्न कम भएपछि वायु प्रदूषणको मात्रा बढेको हो ।