ट्रम्पले मोवाइलसहित इलेक्ट्रोनिकमा नयाँ कर हटाए

३१ चैत , एजेन्सी ।

आफ्नैबाट घेराबन्दी र महंगीको मारमा आफ्नै जनता पर्ने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः केही सामानमा आफैले बढाएको कर घटाउन बाध्य भएका छन् । त्यो पनि चीनमा बनेका इलेक्ट्रोनिक सामानसहित ।

ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर केही विद्युतीय सामग्रीहरूमा नयाँ लगाइएको उच्च आयात महसुल छुट दिएको जनाएको छ । यो निर्णयले चीनबाट आयात हुने विद्युतीय सामग्रीहरूमा लगाइएको १४५ प्रतिशतसम्मको महसुल लागू नहुने भएको खबर बीबीसीले लेखेको छ ।

Advertisement

अधिकांश देशहरूमाथि लगाइएको १० प्रतिशत विश्वव्यापी महसुल पनि यस्ता सामानहरूका लागि लाग्ने छैन । अमेरिकी सीमाशुल्क र सीमा सुरक्षा विभागले सूचना प्रकाशित गर्दै यो छुटको घोषणा गरेको हो ।

विज्ञहरुले यो निर्णयपछि प्रविधि उद्योगका लागि राहत पुग्ने विश्वास गरेका छन् । एप्पल, माइक्रोसफ्ट, एनभिडिया लगायतका कम्पनीहरूले यो निर्णयको स्वागत गरेका छन् । अमेरिका आयात हुने वस्तुहरुमा शताब्दीकै सबैभन्दा बढी शुल्क लगाउने निर्णय गरेको केही दिनमै ट्रम्पको यो घोषणा सार्वजनिक भएको हो ।

Advertisement

अमेरिकाको कस्टम एण्ड बोर्डर पेट्रोल (सीबीपी)ले सूचना जारी गरी शुल्क छुट चीनबाट अमेरिका आयात हुने स्माटफोन र तिनका पार्टपूर्जासहितका इलेक्ट्रोनिक सामानमा समेत हुने जनाएको छ ।

यसअघि ट्रम्पले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए । साथै यसबाट व्यापार युद्ध हुने आशंका पनि गरिएको थियो । तर ट्रम्पको पछिल्लो निर्णयसँगै सूचनामा सेमीकण्डक्टर, सोलार ब्याट्री, टिभी डिस्प्ले, फ्ल्यास ड्राइभ (पेन ड्राइभ), मेमोरी कार्ड लगायतमा शुल्क छुट दिइएको बीबीसीले जनाएको छ ।

यस्ता अधिकांश इलेक्ट्रोनिक उपकरणहरु चीनमा बन्ने गर्दछन् र ती अमेरिकामा पनि आयात हुने गर्दछन् । शुल्क वृद्धिको घोषणा कार्यान्वयनमा आउँदा चीनबाट अमेरिकामा पुग्ने इलेक्ट्रोनिक उपकरणहरुको मूल्य बढ्ने अनुमान थियो ।

तर ट्रम्पले स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाउने निर्णय गरेपछि यसबाट सबैभन्दा बढी राहत एप्पल कम्पनीलाई हुने अनुमान छ । किनभने चीनबाट अमेरिका आयात हुने वस्तुहरुमा १४५ प्रतिशत शुल्क बढाउँदा १ हजार डलरको आइफोनमा लगभग ७०० डलरसम्म इम्पोर्ट ट्याक्स लाग्ने अवस्था थियो ।

मिडिया रिपोर्र्टका अनुसार ९० प्रतिशत आइफोन चीनमा बन्ने गर्दछन् । चर्को भन्सार दर लगाएपछि अमेरिकी प्राविधिक कम्पनीहरूले चिनियाँ उत्पादनका कारण इलेक्ट्रोनिक सामानको भाउ आकाशिने चिन्ता गरेका थिए ।

त्यसकारण पनि ट्रम्प त्यस्ता सामानमा भन्सार छुट दिन तयार भएका हुन् । भन्सार छुट भएपछि अमेरिकी टेक कम्पनीहरू उत्साहित हुँदै ट्रम्पको कदमलाई गेम चेन्जर भनेका छन्।

यो नीतिले एप्पल, एनविडिया, माइक्रोसफ्टजस्ता ठूला टेक कम्पनीले राहतको सास लिन पाएको डबश सेक्युरिटीजका प्रविधि अनुसन्धानका विश्वव्यापी प्रमुख ड्यान इभ्सले बताएका छन्।

साथै लगानीकर्ताहरूलाई पनि सहज हुने उनले बताएका छन् । अमेरिकामा स्मार्टफोन, चिप्स, ल्यापटपजस्ता महत्त्वपूर्ण प्रविधिका सामाग्रीहरूको ठूलो हिस्सा चीनबाट आयात हुन्छ ।

अमेरिका आइफोनको ठूलो बजार हो। गत वर्ष एप्पलले आधाभन्दा बढी स्मार्टफोन बिक्री गरेको काउन्टरपोइन्ट रिसर्चले जनाएको छ । एप्पलका लागि अमेरिकी बजारमा बिक्री हुने ८० प्रतिशत आइफोन चीनमा बन्छन् ।

भन्सार दर कायमै रहेको अवस्थामा अमेरिकामा आइफोनको मूल्य तीन गुणासम्म बढ्न सक्ने आँकलन गरिएको थियो। भन्सार लागु भएपछि एप्पलले भारतमा उत्पादन बढाउने योजना बनाएको थियो ।

ट्रम्पले अब धेरै समय चीनलगायत विश्वका अरू देशहरूमा निर्भर रहन नपर्ने गरी अमेरिकाभित्रै उत्पादन गर्ने पनि भनेका छन् । ’राष्ट्रपतिको निर्देशनमा यी कम्पनीहरूले सकेसम्म छिटो अमेरिकामै उत्पादन ल्याउन जुटेका छन्,’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले शुक्रबार भनेकी छन्।

ट्रम्पले शुक्रबार फ्लोरिडामा पत्रकारहरूसँगको कुराकानीमा पनि चीनमाथि उच्च कर लगाउँदा समस्या नहुने बताएका थिए । ’मलाई लाग्छ, यसबाट केही सकारात्मक नतिजा आउनेछ,’ उनको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ । ट्रम्पले चीनबाहेकका देशहरूका लागि घोषणा गरेको पारस्परिक भन्सार पनि तीन महिनाका लागि रोकिसकेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top