४ वैशाख , विराटनगर ।
कोशी नदीको पाइलट च्यानल निर्माण रोकिएको खबर छ। कोशी नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतर्फ मोड्न भारतीय पक्षले सुरु गरेको ’पाइलट च्यानल’ निर्माणको काममा हाललाई रोक लगाइएको छ ।
बुधवार सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा गएको सरकारी टोलीले स्थल निरीक्षण गरी तत्कालका लागि काम रोक्न आदेश दिएको हो । भारतीय पक्षले चैत १३ गतेदेखि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५, टिकुलियास्थित नदी क्षेत्रमा च्यानल निर्माण सुरु गरेको थियो ।
पाइलट च्यानलले गाउँ जोखिममा पर्ने भन्दै स्थानीय वासीहरु चिन्तित बनेका थिए । च्यानल निर्माण भए टिकुलिया, बानरझुला, डल्बा, रम्पुरालगायत आधा दर्जन बस्तीमा बाढीको उच्च जोखिममा पर्ने स्थानीयको भनाइ छ ।
पाइलट च्यानल निर्माणको विरोध स्थानीयले प्रारम्भदेखि नै गर्दै आएका थिए । उनीहरूको मुख्य चिन्ता भनेको यदि कोशी नदीको बहाव परिवर्तन गरियो भने बर्सेनि बाढीले यहाँको कृषि, आवास र जनजीवन तहसनहस गर्न सक्छ ।
नदीको बहाव पश्चिमतर्फ धकेलिँदा नेपाली भूभागमा कटान र डुबानको जोखिम तीव्र हुन्छ । यो केवल वातावरणीय वा प्राविधिक मुद्दा मात्र होइन, जनजीवनसँग जोडिएको गम्भीर मानवीय समस्या समेत भएको स्थानीयको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार, पाइलट च्यानलको काम तत्काल रोक्न भनिएको छ र अब दुवै देशका प्राविधिकबिच छलफलपछि मात्रै अन्तिम निर्णय गरिनेछ।
सरकारी टोलीमा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल र राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक सुरेन्द्र कोइरालालगायतको टोली त्यहाँ पुगेको थियो ।
भारतीय पक्षले नदी नियन्त्रणका नाममा गर्ने यस्ता एकपक्षीय निर्माण कार्यहरूले विगतमा पनि सीमावर्ती नेपाली भूभागमा विवाद उत्पन्न हुँदै आएको छ । पाइलट च्यानल निर्माण कार्यले केवल तत्कालीन प्राकृतिक जोखिम मात्र होइन, दीर्घकालीन जल–कूटनीतिक सम्बन्ध र स्थानीय जनजीवनमा गम्भीर असर पार्न सक्छ ।
यस्ता कार्यमा पारदर्शिता, संयुक्त प्राविधिक सहमति र सबै सरोकारवालाको सहभागिता सुनिश्चित गरेर मात्र अघि बढाउनू उचित हुने छ । नभए समस्या समाधान होइन, उल्टै द्विपक्षीय अविश्वास बढ्न सक्छ ।