३१ वैशाख ,काठमाण्डौ।
केही दिनदेखि देशका केही क्षेत्रमा वर्षा भएपनि धेरै ठाउँको अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेकाले गर्मी पनि बढी भइरहेको छ । पछिल्लो समय काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१–३३ डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो ३१ दशमलव १ डिग्री पुगेको काठमाण्डौ उपत्यकाको तापक्रम आज ३३ डिग्री सेल्सियस पुग्ने बताइएको छ । यस्तै लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू–भागका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागलगायत पहाडी भू–भागका धेरै ठाउँमा अधिकतम तापक्रम बढेको छ । यस क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ । यसको प्रभावले गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।