२ जेठ , काठमाण्डौ ।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा नै उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरुको विपक्षमा उभिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन्।
नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ ।
यसरी परिवर्तन गरिएका समितिहरूमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् ।
यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक थिए ।
अब ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजीना श्रेष्ठ संयोजक तोकिएका छन् ।
संयोजकबाट हटाइएका वडाध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई महानगरका हाजिरी गराउन सक्रिय रुपमा लागेका थिए ।
पछिल्लो समय बालेनका विभिन्न क्रियाकलापहरुप्रति खुला असहमति जनाएका वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितबाट हटाइएको छ ।
प्रशासकीय अधिकृत गुरागाईंलाई नगर प्रहरीको अवरोध बाबजुद कार्यालय प्रवेश गराउन मानन्धरले अग्रणी भूमिका खेलेका थिए । नविनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएको छ ।
यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई क्रमशः सुशासन समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिबाट हटाइएको छ ।
सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् ।
यसैबीच काठमाडौं महानगरले २५ बर्ष पछि नक्साल हिटीमा पानीको पुनःप्रवाह स्थापित गराएको छ । ५ बर्ष पछि नक्साल हिटीमा पानीको पुनःप्रवाह गराएको भन्दै मेयर बालेनले सम्पदा संरक्षणको सफल प्रयास भनेका छन् ।
बालेनले २०७९ को भदौमा महानगरपालिकाका ३२ वटै वडामा अनुगमनका लागि पुग्दा नक्साल हिटीको पनि अनुगमन गरिएको भन्दै ५५ सालदेखि बन्द रहेको हिटीमा पुनर्निर्माण कार्य सम्पन्न भएसँगै परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको जानकारी दिएका छन् ।
पूर्ववत अवस्थामै धारालाई फर्काउन गरिएका प्रयासका विषयमा पूर्ण जानकारी दिँदै बालेनले लेखेका छन््,अनुगमनका क्रममा स्थानीय बासिन्दाले उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको जानकारी दिनुभयो।
साथै, पुरातत्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको भेटियो।
हामीले उक्त समस्याको जानकारी पाएपछि त्यसको समाधानका लागि सम्पदा तथा पर्यटन विभागलाई आवश्यक पहल गर्न अनुरोध गर्यौं।
विभागले अनुगमन गर्दा हिटीको निकाससँग जोडिएको पुरानो मंगाललाई माटोले पुरिएको अवस्थामा फेला पारेको थियो। करिब ४ फिट खन्दा उक्त मंगाल भेटिएको हो।
तर, त्यस मंगालमा पानीको बहाव देखिएन। सोही क्रममा उक्त मंगालसँग जोडिएका तीनवटा घरहरूले पनि हिटीको निकास अवरुद्ध पारेको पत्ता लाग्यो। ती घरधनीहरूसँग वडा नम्बर १ मार्फत समन्वय गरिएको थियो।
छलफलको क्रममा पुरानो मंगालमार्फत पानीको निकास सम्भव नभएको निष्कर्षमा पुगिएपछि नयाँ मंगाल निर्माण गर्नुपर्ने सुझाव प्राप्त भयो। त्यसअनुसार ती तीनवटा घरधनीहरूलाई जनही रु. २–२ लाख जरिवाना गराई सो रकमबाट नयाँ मंगाल निर्माण गरिएको हो।
उक्त हिटीको निकास नारायणहिटी संग्रहालय भित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। तर, टुकुचासम्मको मार्गभित्र रुखका जरासहितका अवरोधहरूका कारण पनि हिटीको प्रणाली प्रभावित भएको पाइयो।
करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।
यस अवधिमा विभिन्न हिटीसम्बन्धी जानकारहरूले पनि स्थलगत अनुगमन गर्नुभएको थियो। हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ।
हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौं।