४ जेठ , काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैर कानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण निवेदन आज पनि हेर्न नमिल्नेमा परेको छ ।
उनको निवेदन फेरि पहिलेकै न्यायाधीशसहितको इजलासमा परेपछि हेर्न नमिल्ने भएको हो । आइतबार पनि उनको निवेदन न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमै परेको छ ।
उनको निवेदन न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिरहेका छैनन् । यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेलको इजलासमा पेसी तोकिँदा हेर्न नमिल्ने भनेर सुनुवाइ गरिएन ।
यो निवेदन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको आज पाँचौँपटक हो । हरि फुयालले पनि यो निवेदनमा सुनुवाइ गरेनन्।
वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेका छैनन् ।
लामिछानेसंगै पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराइसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिटमाथि पनि पेसी तोकिएको छ । यी तीन रिट लगाउमा राखिएको छ ।
यद्यपि आज पनि उक्त मुद्दा हेर्न नमिल्नेमा जाने पक्का भएको छ । इजलास तोकिएका न्यायाधीश पोखरेल अधिवक्ता हुँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा बहस गरेकाले यसअघि पनि उक्त रिट हेर्न नमिल्नेमा गएको थियो ।
वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।
वैशाख ८ गते उक्त रिट हेर्न नमिल्ने भएकोमा वैशाख ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।त्यसयता यसअघि तीनपटक पेसी तोकिएकोमा तीनै पटक हेर्न नमिल्ने भएको थियो ।
रवि र पूर्वडीआईजी छविलाल जोशी रुपन्देही कारागारमा छन् । जिल्ला अदालत रुपन्देहीले छविलाई पुर्पक्षका लागि थुनामा पठाउँदा रविसँग एक लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
तर उच्च अदालतट बुटवलले रविलाई पनि थुनामा पठाउने आदेश गरेको थियो । उनलाई थुनामा पठाउने आदेश आएकै दिन प्रहरीले पक्राउ गरेको थियो ।
तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर तीन दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग लामिछानेले गरेका छन् ।
यस्तै थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन्। यी सबै निवेदन साथै राखेर पेस गरिएको छ ।
उता उच्च अदालत पोखरामा शुक्रबार लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेकोमा आज सुनुवाइ हुँदैछ । शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले समय अभावपछि मुद्दा हेर्दाहेर्दैमा राखेका थिए ।
साथै अदालतले यसबारेको सूचना लामिछाने र जोशीलाई दिन आदेश दिएको थियो । ‘प्रतिवादीहरूमध्येका रवि लामिछाने र छविलाल जोशीको तर्फबाट विद्वान् वरिष्ठ कानुन व्यवसायीहरूले प्रतिवादीहरू हाल अन्य मुद्दाको सन्दर्भमा कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेको भनी जानकारी गराउनु भएको सन्दर्भलाई विचार गरी रवि र छविलाललाई सुनुवाइको जानकारी छिटो माध्यमबाट सम्बन्धित कारागार कार्यालयमार्फत पठाई निवेदक प्रतिवादीहरू आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाईं र कृष्णबहादुर गुरुङका हकमा सुनुवाइलाई निरन्तरता दिने गरी प्रस्तुत प्रतिवेदनलाई जेठ ४ गतेको हेर्दाहेर्दैको पेसीमा तोकी नियमानुसार पेस गर्नू, आदेशमा भनिएको थियो ।