माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

१४ असार ८२, आइतबार

१५ असार , काठमाण्डौ ।

नेकपा (एस)की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई हटाएर पार्टी पुर्नगठनको माग गरेकी छन् । शनिबार बुटवलको एक कार्यक्रममा ‘मरेको सिनोलाई काँधमा बोकेर हिड्न नसक्ने’ अभिव्यक्ति दिएपछि झाँक्री चर्चामा छिन् ।

बुटवलमा दिएको अभिव्यक्ति बारे झाँक्रीले नेपालटाइम्ससँग आइतबार मध्यान्ह भनिन्– ‘मूल नेतृत्वलाई नै भ्रष्टाचार जस्तो गम्भिर विषयमा मुद्दा लागेपछि उहाँले स्वतः पद छोड्नुपर्ने हो ।

Advertisement

तर अध्यक्ष माधवकुमार नेपालले छोड्नु भएको छैन । उहाँ मात्रै हैन, अन्य नेताहरूलाई पनि मुद्दा लागेकाले अर्लि महाधिवेशनको आव्हान गरेर नयाँ नेतृत्व चयनगरी पार्टीलाई अगाडि बढाऔं भनेकी हुँ ।’

झाँक्रीको भनिन्– ‘नेकपा (एस) यही ढंगले अघि बढ्न सक्दैन । त्यसका लागि पनि अर्लि महाधिवेशन आवश्क हुन्छ भन्ने मेरो सामान्य माग हो । अहिले पार्टीभित्र, बाहिर अलिक बढि चर्चा भएको मात्रै हो ।’

Advertisement

पूर्वविद्यार्थी आन्दोलनबाट स्थापित झाँक्रीको अभिव्यक्ति पछि पार्टी पंक्तिमा आरोपप्रत्यारोप चलेको छ । शुक्रबार मात्रै पदाधिकारीको बैठकले भ्रष्टाचार भनि मुद्दा चल्दैमा अध्यक्ष नेपालले पदबाट राजिनामा दिनु नपर्ने निश्कर्ष निकालेको थियो ।

नेपालमाथि सरकारले ‘राजनीतिक प्रतिशोध’ लिएको निश्कर्ष पदाधिकारीको बैठकको थियो । पूर्वप्रधानमन्त्री नेपाललाई गत बुधबार विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा ३५ लाख रुपैयाँ धरौटीमा छोडेको छ ।

अदालतबाट धरौटीमा रिहापछि पहिलो पटक शुक्रबार पदाधिकारी बैठकले नेपालले अध्यक्ष पद छोड्न नपर्ने निर्णय गरेको थियो । पार्टी पदाधिकारीको निर्णयप्रति असन्तुष्टी जनाउँदै झाँक्रीले ‘मरेको सिनोलाई काँधमा बोकेर हिड्न नसक्ने’ भनेर सिधै नेतृत्वप्रति चुनौति दिएकी थिइन ।

नेकपा (एस)को युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्ने क्रममा शनिबार झाँक्री बुटवल पुगेकी थिइन् । पार्टी गठन हुनेबेला निर्वाचन आयोगमा नेपालको हात समाएर निर्वाचन आयोग पुगेकी झाँक्री महाधिवेशनमा महिला उपाध्यक्ष पदमा पराजित भएकी थिइन् ।

महाधिवेशनपछि पार्टीमा खासै जिम्मेवारी नपाएकी झाँक्रीलाई केही समयअघि एमालेमै फर्किन लागेको भनेर पार्टी पंक्तिबाटै हल्ला चलाइएको थियो ।

केही दिनअघि चेक अनादर मुद्दा लागेका मेटमणि चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा झाँक्रीको उक्त भनाई बाहिर नजानका लागि कार्यकर्तालाई भिडियो, अडियोसमेतमा रोक लागाइएको थियो ।

युवा पुस्तामा सधैं चर्चामा रहने झाँक्रीको बुटवल सम्बोधनमा भनेकी छन्– ‘अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ ।’

पार्टी निर्माण र नेतृत्व यस्तै संकटका बीचबाट उठने जिकिर झाँक्रीको थियो । झाँक्रीले शनिबार बुटवलमा मूल नेतृत्वप्रति दिएको आक्रोशित अभिव्यक्तिको चर्चा थिएन । प्रमुख अतिथि चौधरीले रोकेका थिए ।

तर आइतबार युवा संघकी केन्द्रीय सदस्य तथा गोरखा पार्टीकी नेतृ रेखा तामाङ लोप्चनले फेसबुकमा झाँक्री बोलेको भिडियो सार्वजनिक गरेपछि एकाएक चर्चामा आएको छ ।

झाँक्रीको आलोचनात्मक टिप्पणीपछि नेकपा (एस) निकट विद्यार्थी संगठनका पूर्वअध्यक्ष सुदेश पराजुलीले फेसबुक वालमा उनको आलोचना गर्दै लेखेका छन्– ‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्टा छरपस्ट भएछ ।’

त्यसैगरी पार्टी पोलिटव्युरो सदस्य दिलु पन्त लगायत नेता तथा कार्यकर्ताल् पनि झाँक्रीप्रति आक्रोश पोख्दै आलोचना गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top