देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 
१७ असार, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा छौटौं पटक प्रधानमन्त्री बन्नका लागि दिन गनेर बसी रहेका छन्।
सङ्घीय संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) बिच ठीक एक वर्षअघि  २०८१ असार १७ गते भएको ७ बुँदे सहमति अनुसार अबको  एक वर्षपछि अर्थात् २०८३ साल असार १७ गते एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्रीको पद किस्तीमा राखेर बुझाउनु पर्ने छ ।
यही विश्वासमा बसेका  देउवा आफ्नो पोल्टामा प्रधानमन्त्रीको पद नपरेसम्म पार्टीको महाधिवेशन गर्ने पक्षमा देखिएका छैनन् । विधान अनुसार काँग्रेसको १५ औ महाधिवेशन २०८२ साल मङ्सिर महिना भित्र गरी सक्नु पर्ने हो ।
तर  अहिले सम्म मिति नतोकिएकाले अब महाधिवेशन सर्नेमा कुनै शङ्का छैन । पार्टीको विधान अनुसार सभापति शेरबहादुर देउवाले १५ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवार नै बन्न पाउँदैनन् ।
काँग्रेसको विधानमा लगातार दुई भन्दा बढी कार्यकाल सभापति हुन नपाउने व्यवस्था छ । देउवा १३ औँ र १४ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएका थिए ।
धेरैले देउवाले समयमा नै महाधिवेशन न तोक्ने र फेरी आफू नै उम्मेदवार बन्न विधान परिवर्तन गर्ने प्रयास गर्छन् कि भन्ने आशङ्का सबैमा थियो । तर गएको शुक्रवार देउवाले राजनीतिक अवकाश लिने सार्वजनिक भाषण गरे ।
चितवनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले रिटायर हुन लागेको बताएका हुन् । ‘.. म रिटायर हुन लाग्या छु, यो पार्टीलाई एक बनाउने इच्छा छ’, देउवाले भने ‘यही पार्टीको सभापति भएँ, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक अब मेरो कुनै उद्देश्य छैन ।’
काँग्रेसको पार्टी विधानले लगातार दुई पटक भन्दा बढी सभापति हुन दिँदैन । त्यसो हुँदा देउवाले अवकाश लिने घोषणा गर्नु नौलो विषय नहुनुपर्ने हो ।
तर स्वयं देउवाको पृष्ठभूमि, समकालीन नेताहरूले नेतृत्व नछोड्न गरिरहेको हत्ते र काँग्रेसभित्रको शक्ति–समीकरणले पनि विधानको व्यवस्था बमोजिम अवकाशमा जाने देउवाको घोषणालाई सामान्य निर्णय मान्न सकिँदैन ।
गत ३१ जेठमा देउवा ७९ वर्षमा प्रवेश गरेका छन् । धेरैले यही बढ्दो उमेर र पार्टी विधानको व्यवस्थालाई आधार मानेर देउवाको राजनीतिक अवकाशलाई स्वाभाविक प्रक्रिया ठानेका छन् ।
तर देउवाको महत्त्वाकाङ्क्षा र स्वाभावले पनि उनी तेस्रो पटक पनि सभापतिको चाहना राख्न सक्थे भन्ने कुरामा प्रस्ट नै हुन्छ । यदि देउवाले नेतृत्वमा रहन चाहेका थिए भने पार्टीको विधान संशोधन गर्न पनि सक्थे ।
‘पार्टीभित्र ८० प्रतिशत बढी होल्ड देउवाको छ, यसले गर्दा विधान संशोधन त हुन सक्थ्यो । उता नेकपा एमालेका अध्यक्ष केपी ओली भने विधान परिर्वन गरेरै भए पनि फेरी अध्यक्ष बन्ने दाउमा छन् ।
प्रधानमन्त्री ओलीले बाँचुन्जेल अध्यक्ष रहने गरी पार्टी विधान संशोधन गर्ने प्रयास गरिरहेका छन् । ७० वर्षे उमेर हद छल्ने गरी ओलीले २०७८ असोजको विधान महाधिवेशनमै पार्टी विधानको व्याख्या गरेका थिए ।
तर काँग्रेस सभापति देउवा यो मामिलामा ओली पथमा नहिँड्ने सङ्केत गरेका छन् ।  यदि देउवाले साचीकै राजनीतिक विश्राम लिए भने काँग्रेसको १५ औँ महाधिवेशन निकै रोचक हुने छ ।
संस्थापन इतर समूहबाट १४ औँ महाधिवेशनमा देउवा सँगै पराजित भएका शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफ्नो सभापति पदमा उम्मेदवारी घोषणा गरी सकेका छन् ।
तर संस्थापन पक्षबाट को अघि सर्ने भन्ने चर्चा समेत सुरु भएको छैन । त्यस गुटमा रहेका नेताहरू शेरबहादुर देउवालाई रिझाएर आफू आधिकारिक उम्मेदवार बन्ने दौडमा छन् ।
झनै देउवाले चितवनमा पुगेर राजनीतिक विश्राम लिने सङ्केत गरे सँगै आधिकारिक उम्मेदवार बन्ने दौड सुरु भएको छ । देउवा आफू विश्राम लिए पनि पत्नी आरजु राणालाई कहाँ र कसरी सेटल गर्ने भन्ने चिन्तामा छन् ।
समानुपातिक सांसद, केन्द्रीय सदस्य हुँदै  पत्नी आरजुलाई ओली सरकारमा परराष्ट्र मन्त्री समेत बनाइ सकेका देउवाले १५ औँ महाधिवेशनमा  उनका लागि सुरक्षित ठाउँ हेरिरहेका छन् ।
नेतृत्व लिन कैयौं पटक जोखिम उठाएका देउवा अव त्यो जोखिम श्रीमतीका लागि उठाउन लागि पर्ने कुरामा दुई मत रहँदैन । राजनीति सङ्कटलाई अवसरमा बदल्न माहिर मानिने देउवा आफूले राजनीतिक विश्राम लिए पनि पार्टीको नेतृत्वमा आफ्नै पकडा रहने गरी चाल चल्ने छन् ।
सुदूरपश्चिमको डडेलधुरामा ३१ जेठ २००३ साल जेठ ३१ गते जन्मिएका देउवासँग चुनौती लिने क्षमताकै कारण २४ वर्षकै उमेरमा नेवि संघको सभापति भएका थिए ।
समकालीन नेताहरूलाई उछिन्दै देउवा पार्टी र राज्य सत्ताको नेतृत्वमा पटक–पटक पुग्न सफल भए । आफूलाई अगाडि बढाउन देउवाले ‘एकता–सङ्घर्ष’ को अभ्यासलाई बारम्बार उपयोग गरे ।
२०४८ सालमै देउवा यो देशको गृहमन्त्री बन्न सफल भएका थिए । २०४८ सालदेखि देउवाले डडेलधुराबाट लगायत ७ पटक प्रतिनिधि सभाको सांसद जित्दै आएका छन् ।
२०५२ सालमा देउवा पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०५८ सालमा देउवाले काँग्रेस पार्टीलाई विभाजन गरेर नेपाली काँग्रेस प्रजातान्त्रिकको सभापति भएका थिए ।
देउवाले चाहेको भए प्रधानमन्त्री पद त्यागेर पार्टी विभाजन रोक्न सक्थे । तेस्रो पटक प्रधानमन्त्री बन्दा देउवालाई राजा ज्ञानेन्द्र शाहले ‘अक्षम’ भन्दै १० महिना नजरबन्दमा राखे ।
२०६४ सालमा आएर काँग्रेस र काँग्रेस प्रजातान्त्रिक पार्टी बिच एकिकरण भयो । पञ्चायत विरोधी राजनीति गर्दा देउवामा पटक–पटक जेल परेका थिए।
आफ्नो राजनीतिक जीवनमा उनले पटक पटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएका छन् ।  त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका  देउवा सन् १९८९ देखि १९९० सम्म लन्डन स्कुल अफ इकनिमिक्समा राजनीति शास्त्रको रिसर्च फेलो रहेका थिए।
विपक्षीका नजरमा पनि बोलीमा पक्का र इमान्दार मानिने देउवाले अब राजनीतिकबाट साच्चिकै विश्राम लिन्छन् भन्ने विश्वास धेरैले गरेका छन् । लामो समयसम्म पार्टी र देशको नेतृत्व गरेका देउवा वास्तवमा राजनेताका रूपमा यति बेला सम्म स्थापित भई सक्नु पर्ने हो ।
तर उनी यति बेला धेरै आलोचित मध्येका एक नेतामा नै पर्ने  गर्दछन् । पार्टी भित्रको आन्तरिक गुट बन्दी, मुलुकमा भ्रष्टाचारदेखि सुशासनमा समेत दखल दिने नेताहरूको नामको सुचीमा देउवाको नाम सबै भन्दा माथि नै आउन सक्छ ।
बीपी कोइरालाको राजनीतिक पाठशालादेखि गिरिजाप्रसाद कोइरालासँगको शक्ति संघर्षसम्म, देउवाको अनुभवको बराबरी गर्ने समकालीन नेता कोही छैनन्।
पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति बनिसकेका उनी छैटौँ पटक सिंहदरबार छिर्ने निश्चितप्रायः छ। तर, पद र शक्तिको यो सफल यात्राका बाबजुद देउवा किन कहिल्यै राजनेता बन्न सकेनन् ? यो प्रश्नको जवाफ खोज्न टाढा जानु पर्दैन।
यसको उत्तर सायद उनको राजनीतिक शैलीमै लुकेको छ, सत्ता केन्द्रित कार्यशैली, राष्ट्रिय मुद्दाहरूमा अडान लिनुभन्दा सम्झौता रोज्ने प्रवृत्ति, जसले सधैं सत्तालाई प्राथमिकता दियो, तर दूरगामी राष्ट्रिय दृष्टिकोणलाई कहिल्यै अँगाल्न सकेन।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.