१७ असार, काठमाडौं ।
नेकपा (एमाले)का तात्कालीन महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा मदन पत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको जानकारी गराइन् ।
उनको त्यो जानकारी एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएँ भनेर औपचारिक घोषणा थियो । पार्टी सदस्यता नवीकरण गरेसँगै सम्माननीय पूर्वराष्ट्रपति भण्डारी एमालेकै सामान्य कार्यकर्तामा झरेकी छिन् ।
दुई पटक राष्ट्रपति भइसकेकी व्यक्ति फेरि कुनै दल विशेषको झण्डा बोक्नु हुँदैन भन्ने आम मान्यता र जनभावना विपरित उनले यो निर्णय लिएकी छन् ।
खासमा पार्टी सक्रिय राजनीतिमा पुनः सक्रिय हुने भण्डारीको निर्णयले कसैलाई चकित बनाएन् । राष्ट्रपति रहँदै उनले आफू पार्टीमा फर्किन सक्ने संकेत गरेकी थिइन् ।
तथापि उनको राजनीतिक महत्वाकाङ्क्षालाई पार्टीको आन्तरिक जीवनमा कस्तो फेरबदल हुन्छ भन्ने पेचिलो नै थियो । गत शनिबार यी सबै शङ्का मेटियो र एमालेको राजनीतिक वृत्तमा भण्डारीको पुनः आगमन भयो ।
भण्डारीको राजनीतिक पुनरागमनलाई एमालेभित्रै सबैका लागि रुचिकर बनेको छैन । खुद एमाले अध्यक्ष केपी शर्मा ओली भण्डारीको पुनरागमनप्रति बेखुस छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
शनिबारको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र भण्डारीले दिएको मन्तव्यले ती कुराहरूलाई प्रष्ट्याउँछ । अर्को उदाहरण हो, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको मन्तव्य ।
पोखरेलको भनाइले पनि पार्टीभित्र एक मत नरहेको स्पष्ट भयो । देशको सर्वोच्च ओहोदा, राष्ट्रपति पदमा आसिन हुनु अघिसम्म सधैं ओलीको साथ र समर्थनमा देखिएकी भण्डारीले राजनीतिको आफ्नो दोस्रो कार्यकालमा ओलीलाई पहिले जस्तै समर्थन दिने सम्भावना न्यून देखिन्छ।
धेरैले उनलाई एमालेको भावी नेतृत्व र ओलीको विकल्पका रुपमा हेरिरहेका छन् । सधैं एउटै कित्तामा उभिएका ओली र भण्डारी अब भने आमुने–सामुने उभिने आँकलन गरिएको छ ।
पार्टीमा भण्डारीको भूमिका के रहने ?भन्नेबारे एमालेले औपचारिक रुपले केही निर्णय गरिसकेको छैन । यस अर्थमा सबै कुरा सम्भावना र आँकलनको घेराभित्रै छन् ।
तथापि आउँदो ११ औं महाधिवेशनमा भण्डारीले एमाले नेतृत्वका लागि प्रतिस्पर्धामा अघि बढ्ने सम्भावना छ । पार्टीभित्र एउटा समूहले भण्डारीलाई चाहेको छ । ओलीपछिको उत्तराधिकारी आफूहरु बन्ने विश्वासमा रहेकाहरुका लागि भण्डारीको पुनरागमन पक्कै टाउको दुखाई बनेको छ ।
पूर्वराष्ट्रपतिको हैसियतमा रहेका व्यक्ति राजनीतिमा आइसकेपछि राजनीतिक भूमिका के हुने भन्ने नयाँ विषय नेपाली राजनीतिमा भण्डारीले पार्टीमा फर्किएर गराएकी छन् ।
भण्डारीको राजनीतिक महत्वाकांक्षा कसैबाट छिपेको छैन । देशको पहिलो महिला राष्ट्रपति बनेकी भण्डारी, एमाले अध्यक्ष हुँदै देशको पहिलो महिला प्रधानमन्त्री हुने आकांक्षा लिएरै राजनीतिमा फर्किएकी हुनसक्ने यतिखेर नेपाली मूलधारको राजनीतिमा बहस सुरु हुन थालेको छ ।
उनको राजनीतिक अभिष्ट पुरा हुन्छ वा हुँदैन त्यो हेर्न बाँकी छ । तर भण्डारीले अबको राजनीतिमा सोचेजस्तो सफलता प्राप्त गरिन् भने पनि उनको अगाडिको यात्रा त्यति सहज हुने छैन ।
आउने दिनमा एमालेको नेतृत्व नै गरेपनि वा अन्य कुनै महत्वपूर्ण तथा कार्यकारी पदमा पुगेपनि पूर्व राष्ट्रपतिको ओहोदाले उनलाई पछ्याई नै रहनेछ ।
उनका हरेक विचार, अभिव्यक्ति, गतिविधि र निर्णयलाई आम मानिसले मात्र एमाले नेतृको विचार र निर्णय भन्ने छैनन् । पूर्व राष्ट्रपतिको विचार, अभिव्यक्ति र निर्णयको रुपमा समेत हेर्नेछन् ।
पूर्वराष्ट्रपति पदको कद र गरिमालाई ध्यानमा राखेर उनले राजनीति गर्न सक्छिन् वा सक्दिनन् भन्ने प्रश्नलाई व्यवहारमा पुष्टि गर्न झन् हम्मे पर्नेछ । प्रत्यक्ष राजनीतिमा आइसकेपछि आलोचना, टिप्पणी, विवाद, असहमति जस्ता कुराबाट टाढिन सकिँदैन ।
राष्ट्रपति वा उपराष्ट्रपति भइसकेका व्यक्तिले राष्ट्रहित र जनसेवा भन्दा पर गएर कुनै पनि राजनीतिक विचार व्यक्त गर्नु, कुनै आलोचना वा विवादमा मुछिनु शोभनीय हुँदैन भन्ने एउटा स्थापित मान्यता हो ।
तर यो मान्यता विपरित नेपालमा पूर्वराष्ट्रपति र पूर्व उपराष्ट्रति राजनीतिमा आएका छन् । नेपालको संविधानले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको भूमिकाका बारेमा स्पष्ट नबोलेका कारण पनि उनीहरुलाई पार्टीभित्र फर्किन सजिलो भएको हो ।
राष्ट्रपति हुँदा पनि भण्डारी बारम्बार विवादमा आइरहिन् । संसद विघटनको सवालमा होस् वा नागरिकता विधेयकको प्रसङ्गमा, राष्ट्रपति सबैको साझा हुन नसकेको आरोप लागि उनी माथि लागि नै रह्यो ।
राष्ट्रपतिमाथि साम्प्रदायिकताको आरोप लाग्नु, राष्ट्रपतिलाई कालो झण्डा देखाइनु, निकै दुःखद कुराहरु थिए । यद्यपि नेपालमा आफू अनुकुलका निर्णयहरु भएनन् भने जो कोहीको पनि विरोध हुनु नयाँ विषय चाँही होइन ।
राष्ट्रपति पदमा रहँदै गम्भीर राजनीतिक आरोपहरु खेपेकी भण्डारीको राजनीतिको यो दोस्रो इनिङ्गको गोरेटो उनको राजनीतिक व्यवहारले पुष्टि हुन केही समय कुर्नुपर्ने हुन्छ ।
राष्ट्रपति देशको सर्वोच्च ओहोदा हो । नेपालको संविधानले राष्ट्रपतिलाई देशको अभिभावकको दर्जा दिएको छ । संविधान मौन रहेपनि राष्ट्रपति पदबाट विदा भइसकेपछि पनि आजीवन देश र जनताको साझा अभिभावककै रुपमा रहनुपर्ने नैतिकताप्रति जिम्मेवार बन्नु पर्ने हुन्छ ।
तर भण्डारीको राजनीतिक महत्वाकांक्षाले यो नैतिकतालाई तुहाइदियो । त्यसैले उनीमाथि आफ्नो सक्रिय राजनीतिमा पुनरागमनको निर्णयलाई सही प्रमाणित गरेर देखाउनुपर्ने नयाँ चुनौतिसँगै अवसर पनि देखा परेको छ ।