२२ असार , काठमाडौं ।
विश्वकै सर्वशक्तिमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुईचार दिनअघि मात्रै नयाँ पार्टी खोल्ने चेतावनी दिएका विश्वकै धनाढ्य, अमेरिकी खर्बपति इलोन मस्कले आफ्नो त्यो चेतावनी पूरा गरेका छन् ।
कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक संसदबाट पास भए आफूले नयाँ दल गठन गरेर आगामी चुनावमा ट्रम्पसहित रिपब्लिकन पार्टी र सो विधेयकमा सहमति जनाउने अन्य सांसदहरुलाई पनि चुनौती दिने ट्रम्पले बताएका थिए ।
सोही अनुसार नै उनले नयाँ राजनीतिक पार्टी गठन गरेको शनिबार बताएका छन् । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका सीएनबीसी न्युजले जनाएको छ ।
एक दिनअघि उनले सामाजिक सञ्जाल एक्समा अमेरिका पार्टी गठन गर्न समर्थन गर्ने कि नगर्ने भनी सोध्दै एक सर्वेक्षण पोस्ट गरेका थिए। “२ देखि १ को अनुपातमा तपाईंहरू नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ !,” मस्कको एक्स पोस्टमा उल्लेख छ ।
नयाँ पार्टीले अमेरिकीलाई स्वतन्त्रता फिर्ता दिने पनि उनले जिकिर गरेका छन् । नयाँ पार्टीले केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० हाउस जिल्लामा ध्यानकेन्द्रित गर्न सक्ने उनले बताएका छन् ।
“संसद्हरूमा कानुन निर्माण गर्दा हुने थोरै मतको मार्जिनलाई ध्यानमा राख्दा यो पार्टीले विवादास्पद कानुनहरू निर्माण गर्दा निर्णायक मतको रूपमा काम गर्न पर्याप्त हुनेछ, जसले जनताको साँचो इच्छालाई सेवा गर्छ,” मस्कले शुक्रबार भनेका थिए ।
तर, मस्कले पार्टी कहाँ दर्ता हुनसक्छ भनेर बताएनन् । संघीय निर्वाचन समितिमा यो दर्ता भएको देखिँदैन । सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानमा मस्क ट्रम्पका सबैभन्दा ठूलो  चन्दा दाता थिए ।
उनले पूरै अवधिमा २८० मिलियन डलरभन्दा बढी चन्दा दिए । मुख्य रूपमा राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प र अरू रिपब्लिकनलाई पनि उनले समर्थन गरेका थिए ।
तर अहिले ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन् । ‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन, हामी एक दलीय प्रणालीमा हुन्छौँ’, मस्कले शनिबार एक्समा लेखेका छन्, ‘आज तपाईंहरूलाई आफ्नो स्वतन्त्रता फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ।’
यसअघि ट्रम्प प्रशासनको सरकारी दक्षता विभाग (डज) का प्रमुख रहेका मस्कले अचानक पद छाड्दै ट्रम्पले ल्याएको कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक ‘बिग ब्युटिफुल बिल’ को कडा आलोचना गरेका थिए ।
त्यसयता ट्रम्प र उनीबीच सामाजिक सञ्जालमा भनाभन भएको थियो ।  ‘बिग ब्युटिफुल बिल’ भने पारित भइसकेको छ । उक्त विधेयक अमेरिकाका दुवै सदनबाट पास भएपछि शुक्रबार ट्रम्पले हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दल घोषणा गरेका हुन् ।
सन् २०२४ को निर्वाचनमा मस्कले ट्रम्पलाई राष्ट्रपति पदमा जिताउन अर्बौं डलर खर्चेका थिए। त्यसैकारण ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख बनाउँदै मन्त्रिपरिषद् बैठकमा समेत सहभागी गराएका थिए ।
तर ‘बिग ब्युटिफुल बिल’मा विवाद परेपछि यी दुईबीचको मित्रता अहिले तिक्ततामा परिणत भएको छ । मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा केही सीमित कंग्रेस र सिनेट सिटमा उम्मेदवार खडा गरेर सक्रिय राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
तर यस विषयमा ट्रम्पबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पु¥याउने पनि मस्कले बताएका छन्। मस्कले पार्टीको संरचनाबारे विस्तृत भनेका छैनन् ।
नयाँ पार्टी घोषणासँगै मस्क र ट्रम्पबीचको सम्बन्ध थप चिसिने आकलन गरिएको छ । अमेरिकाको दुवै सदनबाट पारित भएपछि ट्रम्पले प्रमाणीकरण गरिसकेको कर खर्च कटौती विधेयकलाई मस्कले घृणित र घिनलाग्दो भनेका थिए ।
ट्रम्प र रिपब्लिकनहरू भने त्यसलाई ठूलो र सुन्दर विधेयक (बिग ब्युटिफुल बिल) भन्दै आएका छन् । रिपब्लिकन पार्टीको बहुमत भएको सिनेटबाट सो विधेयक पारित भए नयाँ पार्टी खोल्ने मस्कले धम्की दिएका थिए ।
‘यदि यो पागल खर्च विधेयक पारित भयो भने, भोलिपल्टै अमेरिका पार्टी गठन हुनेछ । हाम्रो देशलाई डेमोक्र्याट–रिपब्लिकन ‘युनिपार्टीको’ (एउटै दल) विकल्प चाहिन्छ ताकि जनताको वास्तवमा आवाज होस्,’ उनले त्यतिबेला भनेका थिए ।
एक्समा २२ करोड फलोअर्स भएका मस्कले सरकारी खर्च कटौती गर्ने वाचा गरेर विधेयक पास गरे सबै रिपब्लिकन सांसदलाई प्राइमरीमै हराउनेसमेत धम्की दिएका थिए ।
मस्कले सो विधेयकको विरोध गरेपछि ट्रम्पले पनि उनका कम्पनीहरूलाई दिएको सरकारी अनुदान कटौती गर्ने धम्की दिएका थिए । ‘इलनले इतिहासमा कुनै पनि मानिसभन्दा धेरै अनुदान पाइरहेका हुनसक्छन्।
र अनुदान बिना इलनले सायद दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्नेछ। अब कुनै रकेट प्रक्षेपण, उपग्रह, वा विद्दुतीय कार उत्पादन हुने छैन। र हाम्रो देशले ठूलो रकम बचत गर्नेछ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए।
रिपब्लिकन पार्टी निकट मानिने द वाल स्ट्रिट जर्नलले पनि कर काट्ने र व्यापार प्रोत्साहन गर्ने केही व्यवस्था भए पनि त्यसले संघीय बजेट घाटा र राष्ट्रिय ऋण दुवै बढाउने भनेर आलोचना गरेको छ ।
मस्कले सो विधेयक प्रतिनिधि सभाबाट पास हुनेबित्तिकै पनि विधेयक कि त ठूलो हुनसक्ने कि त सुन्दर, तर ठूलो र सुन्दर दुवै हुन नसक्ने भनेर संक्षिप्त प्रतिक्रिया दिएका थिए।
त्यसपछि सो विधेयकलाई घृणित र घिनलाग्दो भनेका थिए । ’मलाई माफ गर्नुहोस्, तर म यो अब सहन सक्दिनँ,’ आफ्नो सामाजिक सञ्जाल एक्समा उनले पोस्ट गरेका थिए, ’यो विशाल, अपमानजनक र सांसदको स्वार्थले भरिएको संसदीय खर्च विधेयक एक घृणित, घिनलाग्दो कुरा हो। यसको पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नुपर्छः तपाईंलाई थाहा छ तपाईंले गलत गर्नुभयो। तपाईंलाई यो थाहा छ,’ उनले जोड दिएका थिए ।
तर मस्क त्यतिमै रोकिएनन् । उनले ट्रम्पबारे व्यक्तिगत आक्षेप पनि लगाएका थिए । शक्तिशाली र धनाढ्यलाई बालिकाहरू यौनकर्मीका रूपमा मिलाउने जेफ्री एपस्टिन बारेको अनुसन्धान फाइल आफू पनि सो काण्डमा मुछिने भएकाले ट्रम्पले सार्वजनिक नगरेको आरोप लगाएका थिए ।
जेलमा रहेका एपस्टिनले ट्रम्पको पहिलो कार्यकालमा २०१९ मा जेलभित्रै आत्महत्या गरेका थिए । ट्रम्पले मस्कका कम्पनीलाई दिइरहेको अनुदान कटौती गर्ने भनेपछि मस्कले ट्रम्पलाई महाभियोग लगाउनुपर्ने समेत बताएका थिए ।
उनले ट्रम्पलाई आफैले राष्ट्रपति बनाएकोसमेत दाबी गरेका थिए । राष्ट्रपतिसँगको झगडाले आफ्नो व्यवसायमा नोक्सानी हुने भएपछि मस्कले ती पोस्टहरूबारे तीन साताअघि पछुतो भएको भनेर सार्वजनिक रूपमा घुमाउरो पाराले माफी मागेका थिए ।
तर उनले सिधै माफी भने मागेनन्। त्यस्तै, ट्रम्पविरूद्ध उनले गरेका धेरै पोस्टहरूमध्ये कुन–कुनमा पछुतो लागेको भनेर पनि खुलाएनन् । त्यतिबेला मस्कको आक्रमणबाट ट्रम्पलाई रिस उठ्नुभन्दा पनि धेरै उनको चित्त दुखेको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।
आफू रक्सी वा कुनै पनि मादक पदार्थ सेवन नगर्ने ट्रम्पले आफ्ना सल्लाहकारहरूसँग मस्कले लागुपदार्थ सेवन गरेर त्यसरी झगडा गरेको अनुमान गरेका थिए भनेर समाचारहरू आएका छन् ।
द वाल स्ट्रीट जर्नल र द न्युयोर्क टाइम्सले मस्कले ट्रम्पको चुनावी अभियानका दौरान र त्यसअघि केटामिन, साइकेडेलिक च्याउ, ‘एक्स्टसी’ सहित अवैध लागुपदार्थ प्रयोग गरेको भनेर केही समयअघि समाचार नै लेखेका थिए ।
उनले ट्रम्पलाई राष्ट्रपतीय निर्वाचन जिताउन मस्कले २५ करोड डलरभन्दा धेरै खर्च गरेका थिए । त्यसैले चुनाव जितेपछि ट्रम्पले मस्कलाई सरकारी सेवा प्रभावकारी बनाउन खोलेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) को प्रमुख बनाएका थिए ।
ट्रम्पसँगको निकटताका कारण मस्कलाई धेरै नोक्सानी भएपछि उनले डज छोडेका थिए । यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा ७१ प्रतिशत घटेको अप्रिलमा सार्वजनिक भएको थियो।
त्यसको केही घण्टापछि मस्कले अब भने आफ्नो ध्यान टेस्लामा बढी केन्द्रित हुने घोषणा गरेका थिए । अघिल्लो वर्ष पहिलो त्रैमासमा टेस्लाको नाफा १ अर्ब ४० करोड डलर थियो ।
यो वर्ष पहिलो त्रैमासमा ४० करोड ९० लाख डलर मात्रै कमाएको छ । यसरी बिक्रीमा भारी गिरावट आएकाले कम्पनी सम्हालेर स्थिति सुधार्न र लगानीकर्तालाई विश्वास दिलाउन मस्कले सो घोषणा गरेको मानिन्छ ।
गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि टेस्लाको सेयर र मस्कको व्यक्तिगत सम्पत्ति दुवै ह्वात्तै बढेको थियो। ट्रम्पसँगको निकटताका कारण स्वचालित कार बनाउने क्रममा रहेका नियामकीय बाधा कम हुनेलगायत अरू फाइदाका कारण टेस्लाको व्यापार झन् बढ्ने अपेक्षा गरिएको थियो । तर त्यस्तो भएन ।
ट्रम्पले कार्यभार सम्हालेपछि मस्कले अमेरिकाको संघीय सरकारको शासकीय संरचनामा धावा बोलेका छन् । त्यस्तै, युरोपेली देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै ट्रम्पजस्तै उग्र दक्षिणपन्थी विचारधारा भएका पार्टीलाई समर्थन गरेका छन् ।
त्यसैकारण ट्रम्पको विजयपछि मस्क र टेस्लालाई प्राप्त सबै लाभ गुमेको छ । टेस्ला कम्पनीले आधिकारिक रूपमै राजनीतिक कारणले आर्थिक नोक्सानी भएको स्वीकार समेत गरेको थियो ।
Scroll to Top