२६ असार , काठमाण्डौं ।
आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
यी प्रदेशमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान भए पनि राति भने भारी वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले जारी गरेको बुलेटिनमा लेखिएको छ, ‘कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकावाला सबै निकायमा अनुरोध समेत गरेको छ ।
आज डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालीकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला र बैतडी भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने महाशाखाको अनुमान छ । यसबीच उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमन थालिएको छ ।
त्यहाँ ७ वटा पुलमा बाढीले क्षति पु¥याउँदा करिब डेढ करोडभन्दा बढी नोक्सान भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी आउनुको कारण हिमताल फुटेको आशंका गरिएको छ ।
पानीनै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले उल्लेख गरेका छन् ।
अध्यक्ष गुरुङले भने, ‘यसरी एकाएक बाढी आउनुको एउटै कारण हुन सक्छ, त्यो हो हिमताल फुट्नु ।’ नेपाल–चीन उत्तरी सीमावर्ती क्षेत्रको नेपालतर्फको चुम्जुङस्थित छुआमा खोलाको मुहानसम्म पुग्ने करिव ५० किलोमिटर दूरी तय गर्नुपर्ने गाउँपालिका अध्यक्ष गुरुङले उल्लेख गरे ।
अहिले तत्कालै त्यसक्षेत्रमा पुगेर बाढी आउनुको कारण पत्ता लगाउन नसके पनि अनुकूल समय मिलाएर गाउँपालिका र सुरक्षा निकायको टोलीले मुहानसम्म पुगेर सूक्ष्म अध्ययन गरिने बताए ।
यहाँ के कसरी बाढी आयो भन्ने विषय अनुसन्धानका लागि महत्वपूर्ण भएकाले अब चाँडै छुआमा खोलाको शिरमा पुग्ने निर्णय भएको बताए । मुहानसम्म पुग्न पैदल यात्रा गर्दा पुरै एकदिन लाग्ने उनले जानकारी दिए ।
यता लोमान्थाङ–२ छोसेर स्थित नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनुको कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए ।
चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा संकलन गर्नेहरूले बताएको उनको भनाइ छ । ‘यहाँ बाढी आउनुको मुख्य कारण हिमताल नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भन्ने कुरा आएन, यसको मतलव हिमताल नै फुटेर बाढी आएको हाम्रो ठम्याई छ,’ उनले भने ।
धमुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौं हिमतालहरू रहेको जानकारी दिए ।
उनले उपल्लो मुस्ताङमा बाढी आउनुको कारण हिउँको ढिस्को हिमतालमा खसेर ओभरफल भई अकस्मात बाढी आएको हुन सक्ने बताए ।
जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालहरूमा हिउँका ढिस्का खसेर हिमपातमा क्षति पु¥याउने सम्भावना रहेको उल्लेख गरेका छन् ।
यसबीच गत मङ्गलवार नेपाल–चीन सिमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बाढीमा परी ज्यान गुमाएका नौमध्ये आठ जनाको शव सङ्कलन गरी काठमाण्डौ ल्याइएको छ । प्रहरीका अनुसार अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो कि होइन भनेर पहिचान हुन बाँकी छ ।
बाढीमा अझै दुई प्रहरी, ११ जना नेपाली नागरिक र ६ चिनिया नागरिक बेपत्ता रहेका प्रहरीले जनाएको छ ।
बेपत्ताहरूको खोजीका लागि रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म प्रहरी परिचालन गरिएको छ । बाढीमा फसेका ५७ जनाको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ ।