विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्
६ साउन , काठमाण्डौं । 
म अघि बढिसकेँ, म माझ किराँतको छोरी हुँ, खुट्टा कमाउँदिनँ।“ यो कुनै सामान्य अभिव्यक्ति होइन, यो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्वमा आफ्नो दाबी नछोड्ने दृढतासहित अध्यक्ष केपी शर्मा ओलीलाई दिएको खुला र प्रत्यक्ष चुनौती हो।
च्यासलमा विद्याको पार्टीमा सक्रिय हुने कि नहुने भन्ने निर्णय हुँदैगर्दा आफ्नो निवास भंगालमा मंगलबार पत्रकारहरूलाई बोलाएर उनले दिएको यो अभिव्यक्तिसँगै एमालेभित्रको शक्ति संघर्ष अब औपचारिक रूपमै युद्धको मैदानमा प्रवेश गरेको छ।
एकातिर भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको औचित्य पुष्टि गर्न विगतका पर्दापछाडिका कथादेखि ओलीको वैचारिक स्खलनसम्मका आरोप लगाएकी छन्, भने अर्कोतिर अध्यक्ष ओलीले उनलाई रोक्न पार्टीको सम्पूर्ण संस्थागत शक्ति प्रयोग गर्ने स्पष्ट संकेत दिएका छन्।
यो रस्साकस्सीले च्यासलमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई तरंगित मात्र बनाएको छैन, पार्टीको भविष्यलाई नै दाउमा राखेको छ। भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको औचित्य पुष्टि गर्न  विगत समेत स्मरण गरेकी छन् ।
उनले २०८० सालमै पार्टी सदस्यता नवीकरण गरेको खुलासादेखि राष्ट्रपति बन्नुपर्दा घरमा खुसी थिएन भन्दै आफू पार्टीको निर्णय मान्ने एक अनुशासित कार्यकर्ता भएको  बताएकी छन् ।
उनले ओलीमाथि सीधा वैचारिक प्रहार गर्दै भनिन्, “ओलीजी आफ्नै विचारबाट पछि फर्कनुभयो, लोकतान्त्रिकरणको विचारबाट उहाँ हट्नुभयो।“
उमेर हद र दुई कार्यकालको व्यवस्था उल्टाएकोमा ओलीको आलोचना गर्दै भण्डारीले आफूलाई पार्टीको लोकतान्त्रिक मूल्यको रक्षकको रूपमा प्रस्तुत गर्न खोजेकी छन्।
उनले आफ्नो पक्षमा बोल्नेहरूलाई आतंकित पार्न खोजिएको र केन्द्रीय कमिटीमा आफ्ना प्रवक्ता नबन्न चेतावनी दिइएको भन्दै ओली पक्षमाथि अप्रत्यक्ष प्रहारसमेत गरिन्।
ओलीले भण्डारीको चुनौतीलाई सार्वजनिक रूपमा जवाफ दिनुको सट्टा पार्टीको संस्थागत संरचनामार्फत उनलाई घेराबन्दी गर्ने रणनीति अपनाएका छन्।
केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यहरूले भण्डारीको पुनरागमन प्रणाली र व्यवस्थाका लागि राम्रो नहुने धारणा  आइरहेको छ ।प्रमुख सचेतक महेश बर्तौलाले अधिकांश केन्द्रीय कमिटी सदस्यहरूले पूर्वराष्ट्रपतिको हैसियतमै बस्नु उपयुक्त हुने विचार व्यक्त  पार्टी नेताहरुले राखेको बताएका छन् ।
ओलीले भण्डारी निकट समूहलाई लक्षित गर्दै पार्टी विभाजन गर्ने तत्वहरू सक्रिय रहेको समेत बताइसकेका छन् ।  यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतलमले भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताएका छन् ।
यसलाई ओली पक्षले प्राविधिक र प्रक्रियागत रूपमा पनि   विद्यालाई रोक्ने तयारी गरेको  रुपमा हेरिएको छ । भण्डारीको राजनीतिक भविष्यको फैसला अब केन्द्रीय कमिटी बैठकको   गर्ने सम्भावना छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको समापनमा अध्यक्ष ओलीको सम्बोधनमार्फत केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको बताएका छन्।
यदि केन्द्रीय कमिटीले भण्डारीको विपक्षमा निर्णय लिएमा के हुन्छ भन्ने प्रश्नमा भण्डारीको जवाफ थियो, यस्तो कठोर निर्णय लिँदैन भन्ने लाग्छ, यदि लियो भने त्यसैबेला प्रतिक्रिया दिउँला।
यो महत्त्वपूर्ण निर्णयले भण्डारीको राजनीतिक यात्रामा पूर्णविराम लगाउन सक्छ वा उनलाई थप संघर्षका लागि मैदान खुला छोड्न सक्छ, त्यसका बारेमा भने प्रतिक्षा गर्नुपर्नेछ ।
भण्डारीको खुट्टा नकमाउने अडान र ओलीको प्रणाली जोगाउने रणनीतिको यो भिडन्तले एमालेलाई कहाँ पु¥याउँछ, त्यो हेर्न अब धेरै कुर्नुपर्ने छैन। च्यासल बैठकको अन्तिम निर्णयले नै एमालेभित्रको बलियो र को कमजोर भन्ने कुराको छिनोफानो गर्नेछ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.