२१ भदौ , काठमाण्डौ ।

मोरोक्को विश्वकप २०२६ मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । नाइजरलाई ५–० ले हराउँदै मोरोक्कोले २०२६ फिफा विश्वकपमा स्थान सुरक्षित गरेको हो । कतार २०२२ मा इतिहास रच्दै सेमिफाइनल पुगेको मोरोक्कोलाई शुक्रबार तान्जानियाले काँगो–ब्राजाभिलसँग १–१ को बराबरी खेलेपछि जित निकाले पुग्ने अवस्था थियो ।

रबातमा भएको खेलमा नाइजरका अब्दुल–लतिफ गुमेइ २६ औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदान बाहिरिएका थिए । त्यसको तीन मिनेटमै युसेफ बेलामारीको क्रसलाई इस्माएल सैबारीले गोलमा परिणत गर्दै अग्रता दिलाए । मध्यान्तर अघि नै सैबारीले अशराफ हाकिमीद्वारा दिएको पासमा दोस्रो गोल थपे ।

दोस्रो हाफको सुरुवातमा बेलामारीकै अर्को उत्कृष्ट क्रसलाई अयुब एल काबीले जाली चुमाउँदै तेस्रो गोल गरे । पूर्व रेंजर्स खेलाडी हम्जा इगामानेले मैदानमा प्रवेश गरेपछि कर्नरमार्फत आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरे । अन्तिमतिर अज्जेदिन उनाहीले गोल गर्दै अग्रता ५–० बनाए।

मोरोक्कोले पुनर्निर्माण गरिएको प्रिन्स मौलाई अब्दल्ला रंगशालामा पहिलो खेल खेलेको थियो । यही रंगशालामा २०२५ अफ्रिका कप अफ नेसन्सको फाइनल र २०३० को सह–आयोजित विश्वकपका खेलहरू हुनेछ । अफ्रिकी छनोट अन्तर्गत अब अन्य ८ समूह विजेता सिधै विश्वकपमा जानेछन् ।

उत्कृष्ट चार उपविजेताले प्ले–अफमार्फत प्रतिस्पर्धा गर्नेछन् । उता उरुग्वे, कोलम्बिया र पराग्वेले अन्तिम–अघिल्लो चरणमै विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गरेका छन् । दक्षिण अमेरिकी छनोटअन्तर्गत बिहीबारको खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाले भने पराग्वेले गोलरहित बराबरी खेल्दै विश्वकपमा प्रवेश सुनिश्चित गरेको हो ।

यसअघि नै अर्जेन्टिना, ब्राजिल र इक्वेडरले पनि आफ्नो टिकट पक्का गरिसकेका छन् । पछिल्ला दुई खेलमा जित आवश्यक परे पनि उरुग्वेसँग पराजित भएपछि पेरु विश्वकपको दौडबाट बाहिरिएको छ । साविक विजेता अर्जेन्टिना अझै पनि दक्षिण अमेरिकी तालिकाको शीर्ष स्थानमा स्पष्ट अन्तरसहित अगाडि छ ।

ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उता लिओनल मेस्सीले आफ्नो चम्किलो करिअरमा अन्तिमपटक अर्जेन्टिनाको राष्ट्रिय टोलीका साथ घरेलु विश्वकप छनोट खेल्दा राम्रो सम्झना बनाइरहेका छन् ।

बिहीबार मेस्सीले दुई गोल गर्दै अर्जेन्टिनाको भेनेजुएलामाथि ३–० को जित सुनिश्चित गरे । स्टेडियो मोनुमेन्टलमा जम्मा भएको भीड उनलाई विदाई दिन उपस्थित थियो । ‘यसरी यहाँ अन्तिममा खेल्न पाउनु मेरो सधैंको सपना थियो,’ मेसीले भने, ‘मैदानमा धेरै अनुभवहरू प्राप्त गरेको छु, राम्रो पनि नराम्रो पनि। तर, सधैं अर्जेन्टिनामा हाम्रा समर्थकहरूको सामु खेल्नु ठूलो खुसी हो।’

मेस्सीले अहिलेसम्म खेलबाट कहिले बिदा हुने भन्ने कुनै संकेत दिएका छैनन्। तर, २०३० विश्वकपका छनोट खेल २०२७ मा सुरु हुने छन्। त्यतिबेला उनी ४० वर्षका हुनेछन् । अर्जेन्टिनाका कप्तान मेसीले ३९औं र ८०औं मिनेटमा गोल गरे भने ७६औं मिनेटमा लौटारो मार्टिनेजले गोल थपे। दक्षिण अमेरिकी विश्वकप छनोटमा उनी सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।

उनले कुल ३६ गोल गरेका छन् । उनका इन्टर मायामी टोलीका सहकर्मी लुइस सुआरेजले २९ गोल छन्, तर उनले उरुग्वेको राष्ट्रिय टोलीबाट बिदा लिइसकेका छन् । बोलिभियाका मार्सेलो मोरेनो मार्टिन्स तेस्रो स्थानमा छन् । उनले २२ गोल गरेका छन् ।

आगामी विश्वकपका लागि मेसीले भने, ‘म उत्साहित छु। दिनहुँ अनुभव गरिरहेको छु। यदि शरीरले साथ दिन्छ भने म खेल्छु नभएँ, त्यहाँ हुनु आवश्यक छैन। प्रतियोगिता सुरु हुन अझ नौ महिना बाँकी छ, जुन लामो समय हो।’

Scroll to Top