१५ असोज , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली र वर्षा हुने प्रक्षेपण गरेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाड र तराई भूभाग लगायत मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यस्तै आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागलगायत मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यस्तै टीकाको भोलिपल्टदेखि अतिभारी अर्थात आरिघोप्टे बर्षाको सम्भावना रहेको मौसमबिद्ले बताएका छन् ।
मौसम पूर्वानुमान् महाशाखाले गएराति विशेष बुलेटिन निकालेर असोज १७ गते पर्सिदेखि भारी हुँदै अतिभारी बर्षाको संभावना रहेको जनाएको छ ।
मौसमबिद् उज्जवल उपाध्यायले फेसबुकमा लेख्दै आउँदो शनिवार र आइतवारका लागि तय भएका सबै लामो दुरीका यात्रा स्थगीत गरी सुरक्षित बस्न आव्हान गरेका छन् ।
मौसम पूर्वानुमान् महाशाखाले पनि असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।
यस्तो वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पु¥याउने सम्भावना उच्च रहने जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताए । उप्रेतीकाका अनुसार असोज २१ गतेसम्म पनि पानी पर्ने संकेत देखिएका छन् ।
असोज २१ गतेदेखि बेलुकादेखि भने प्रणाली कमजोर हुने र राति नेपालभर पानी पर्न रोकिने संभावना छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलका अनुसार मौसम पूर्वानुमान प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टोबर ३ अर्थात् असोज १७ गते शुक्रवारदेखि शुरु हुने प्रणालीको असरले आरिघोप्टे बर्षाको संभावना उच्च बनेको छ ।
मौसम प्रक्षेपणका लागि प्रयोग युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल (ग्लोबल फोरकास्ट सिस्टम (जीएसएफ)ले भारीदेखि अतिभारी वर्षा हुने संकेत गरेका उनले फेसबुकमा उल्लेख गरेका छन् ।
यी तीनवटै मोडलका अनुसार असोज १७ गते शुक्रवारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ ।
भारतको मौसम बिभागले असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बङगाल, बिहार अत्यधिक बर्षाको चेतावनी जारी गरिसकेको छ ।
महाशाखाले गएराती निकालेको दशैँ विशेष बुलेटिनमा दशैँको टीकाको दिनदेखि त्रयोदशीसम्म पानी पर्ने भनेको छ । महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभाव भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने छ ।
त्यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । यस वर्ष अक्टोबर २ तारिख अर्थात् असोज १६ गते दशैंको टीका परेको छ ।
असोज १६ गते र त्यसपछि पनि मनसुन सक्रिय हुने भएकाले नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलाइ हुने देखिएको छ। नेपालमा यस अघि पनि मनसुन भित्रने र बाहिरिने मितीमा केही अघिपछि हुँदै आएको छ ।