×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज बागमती–लुम्बिनी–कर्णालीमा भारी वर्षा, कस्तो छ अन्य ठाउँको मौसम ?

१७ आश्विन २०८२

१७ असोज , काठमाण्डौ ।

हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Advertisement

जसका कारणले गर्दा आज लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो ।

यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच बाढी–पहिरो र वर्षाका कारण ठाउँठाउँमा सडकहरु अवरुद्ध भएका छन् । कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार अविरल वर्षाले संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसैगरी बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ मा नेपाल–चीन नाका जोड्ने पुलनेर सडक पूर्णरुप्मा अवरुद्ध भएको छ । यसैगरी गोसाइँकुण्ड गाउँपालिका २ मै पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलो भन्ने स्थानमा पहिरो झरेर अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यता हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ ः ०० बजेदेखि बिहान ६ ः ०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

आजदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

यस्तै बीपी राजमार्गमा पनि आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आजको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

समितिले साँझ ५ बजेदेखि भोलिपल्ट बिहान पाँच बजेसम्मको अवधिमा सवारी साधन नचलाउन भनेको हो । राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धूलीसीमा नेपालथोकको सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।

समितिले हाल मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढिपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिलसमेत गरेको छ ।

समितिका अनुसार काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ ।

गत वर्ष असोजमा बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएको थियो ।

सो राजमार्गमा कतै त कतै कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढीपहिरोले राजमार्गको कुल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको थियो ।

यसबीच बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरुमा जलसतह बढ्ने र स–साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

आज बिहान ८ बजे जारी गरिएको बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनीहरुको सहायक नदीहरु तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।

तर आगामी २४ देखि ७२ घण्टासम्मको पूर्वानुमान अनुसार केही मुख्य नदीमा उल्लेख्य जलसतह बढ्ने देखिएको छ । कोशी जलाधारअन्तर्गत सुनकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा आज सामान्य वृद्धि देखिए पनि भोलि र पर्सि उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

नारायणी जलाधारका नारायणी, त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी, सेती र कालीगण्डकी नदीमा आगामी तीन दिन जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।

कर्णाली र महाकाली जलाधारका नदीहरुमा आज र भोलि सामान्य वृद्धि देखिए पनि पर्सि उल्लेख्य बढ्ने प्रक्षेपण गरिएको छ । अन्य नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती र पश्चिम राप्तीमा आगामी तीन दिन उल्लेख्य जलसतह बढ्ने अनुमान छ भने बबईमा आज सामान्य वृद्धि र भोलि तथा पर्सि उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।

स–साना नदीहरुमा पनि जोखिम बढ्ने महाशाखाले जनाएको छ। ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बागलुङ, मनाङ, गोर्खा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया लगायतका जिल्लामा बहने स–साना नदीमा आज बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको छ।

त्यसैगरी, इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला र कंचनपुरमा बहने स–साना नदीमा पनि आकस्मिक बाढीको जोखिम मध्यम रहने अनुमान छ ।

भोलि र पर्सि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स–साना नदीमा बहाव आकस्मिक रुपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले नदी किनारका बासिन्दा र तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यसबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पूर्व तयारीका लागि बिहीबार उच्च अधिकारीसहित देशैभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको बैठक गरेको छ ।

भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएका कारण पूर्व तैयारीमा प्राधिकरणले भर्चुअल बैठकको आयोजना गरेको हो।

त्यसलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललले सम्भावित खतरालाई मध्यनजर राखेर आवश्यक सबै तयारी पूरा गरेर बस्न निर्देशन दिएका छन् ।

मानवीय क्षति रोक्नका लागि आवश्यक सतर्कता अपनाउन उनले विपद्को व्यवस्थापन तथा राहत र उद्धार कार्यमा सक्रिय रहने अधिकारीहरूलाई निर्देश गरेका हुन् ।

विपद्कै समयमा विगतमा भएका कमी कमजोरी, जनतालाई सेवा दिन नसेको र सुशासन कायम गर्न नसक्दा आम मानिसको असन्तुष्टि भड्किएको भन्दै उनले त्यस्तो कुनै पनि गल्ती नदोह¥याउन सचेत गराएका छन् ।

‘जनस्तरमा विभिन्न खालका असन्तुष्टि कायम छ । देशको राजनीति जटिल मोडमा छ । शान्ति सुरक्षा र राष्ट्रिय सुरक्षाका लागि काम गर्नुपर्ने बेला छ,’ उनले भनेका थिए ‘यस्तो बेलामा विपद्को संकेत पनि आएको छ ।

कुनै पनि कसर बाँकी नराखिकन आपसी समन्वय गरेर खटिनु होला । यो जनतासँग जोडिने बेला पनि पनि हो ।’ जल तथा मौसम विज्ञान विभागले १७ देखि २० असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

खासगरी कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यदेखि भारी वर्षाको सम्भावना देखिएको छ । प्राधिकरणले भारी वर्षाको सम्भावना रहेकाले त्यसैलाई मध्यनजर गरेर आवश्यक पूर्वतयारी र सतर्ककता अपनाउनका लागि बैठकको आयोजना गरिएको बताएको छ ।

बैठकमा प्राधिकरणका अधिकारीहरू, चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका सदस्यहरूको सहभागिता थियो ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक प्रतिकार्यका लागि तयारी रहन निर्देशन दिइएको छ । नेपाली सेनाका अधिकारीले राहत तथा उद्धार कार्यका लागि सेनाको ६ वटा हेलिकप्टरलाई तयारी हालतमा राखिएको बैठकमा जानकारी दिएका थिए ।

सेनाका तर्फबाट गरिने सम्पूर्ण तयारी र सतर्कता अपनाइएको बताइएको छ । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले चाडबाडका बेला देखिएको सम्भावित विपद्को सामना गर्न तयार रहन प्रहरी अधिकारीहरुलाई जुम बैठकबाटै निर्देशन दिएका थिए ।

त्यस्तै, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि सम्पूर्ण शक्तिका साथ सशस्त्र प्रहरी विपद्को सामना गर्न तयार रहेको बताएका थिए ।

बैठकमा गृह सचिव रामेश्वर दंगाल आवश्यकता हेरेर राजमार्गहरूमा रात्रिकालीन यातायात बन्द गर्न, ट्रेकिङ कार्य रोक्न तथा खतरा रहेका स्थानबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्नगरी काम गर्न जिल्ला विपद् व्यवस्थान समितिलाई निर्देश गरेका थिए ।

प्राधिकिरणले काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहट आसपासका नदीहरुमा आकस्मिक बहावको सम्भावना देखाएको छ ।

त्यसका लागि सतर्कता अपनाउन र पूर्वतयारी र पूर्वकार्य गर्न प्राधिकिरणले सबैमा आग्रह गरेको छ ।

Advertisement

 

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top