१७ असोज , काठमाण्डौ ।
चाडबाडका बेला हवाई टिकटको माग अत्यधिक हुँदा महँगोमा बिक्री गर्न सक्ने सम्भावनालाई ध्यान दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।
सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ ।
नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको भाडादरअनुसार सबैभन्दा धेरै हवाईभाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ तोकिएका छन् ।
यस्तै काठमाडौँ–विराटनगर ९ हजार ७८५ रुपैयाँ, काठमाडौँ–भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौँ–भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौँ–जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौँ–पोखरा ६ हजार ६३५ रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १३ हजार १०३ रुपैयाँ, काठमाडौँ–भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौँ–राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौँ–सुर्खेत ९ हजार ३० रुपैयाँ र काठमाडौँ–तुम्लिङटार ७ हजार ६३० रुपैयाँ तोकिएको छ ।
यो उच्चतम हवाई भाडादर भएकाले यसभन्दा बढी मूल्य नलिन प्राधिकरणले वायुसेवा कम्पनी, टिकट बिक्रेताहरूलाई अनुरोध पनि गरेको छ ।