४ मंसिर , काठमाण्डौ ।

कल्पना गर्नुहोस् त… ८० लाख रुपैयाँको ऋणको भारी, महिनौंको ज्यान जोखिममा पार्ने डंकी यात्रा, जंगल र समुद्र छिचोलेर अमेरिका पुग्दाको त्यो संघर्ष अनि अन्त्यमा हातमा हत्कडी, खुट्टामा नेल अनि काँधमा एउटा बोरा ।

त्रिभुवन विमानस्थलमा हिजो साँझ जब अमेरिकी चार्टर्ड विमान अवतरण भयो, त्यहाँबाट बाहिरिएका ३५ नेपालीका पाइलाहरू स्वदेश फर्किएको खुसीले होइन, सपना टुटेको पीडाले लरबराएका थिए।

अमेरिका्, जसलाई सपनाको देश भनिन्थ्यो, त्यहीँबाट उनीहरूलाई अपराधी जसरी, भोकभोकै र अनिदो आँखा लिएर लखेटियो। सुटकेसभरि डलर र परिवारका लागि उपहार होइन, उनीहरू आफ्ना पुराना लुगा खाँदिएका बोराहरू बोकेर फर्किएका छन्।

अमेरिकाबाट थप ३५ जना नेपाली नागरिकलाई अभियुक्त जसरी डिपोर्ट गरिएको छ। अमेरिकाबाट डिपोर्ट भएका ३५ जना नेपालीहरू बुधबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

उनीहरूलाई अमेरिकाले चार्डर्ट विमानमार्फत स्वदेश फर्काएको हो । डिपोर्ट भएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाएको थियो ।

ब्यूरोले उनीहरूसँग प्रारम्भिक सोधपुछ गरेको थियो । मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसार डिपोर्ट भएकाहरू दाङ, रुकुम लगायतका जिल्लाका छन् । ब्यूरो स्रोतका अनुसार दाङका मात्रै १६ जना रहेको पाइएको छ ।

उनीहरूमध्ये अधिकांश मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरू रहेका छन् । अमेरिकाबाट डिपोर्ट हुने ३५ जनाहरूमा एक जना विद्यार्थी भिसामा अमेरिका गएका रहेका छन् भने एक जना पर्यटक भिसामा अमेरिका पुगेको पाइएको छ ।

उनीहरूमध्ये अहिलेसम्म कसैले पनि उजुरी भने दिएका छैनन् । अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि आप्रवासन नीतिलाई कडाइका साथ लागू गरिएको छ ।

अक्टोबर महिनामा मात्रै अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका थिए, जसमा ४ जना महिला र ३४ जना पुरुष थिए । अमेरिकाबाट डिपोर्ट गरिएकाहरु अधिकांश सिमित सामानका बोराका साथमा फर्किने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा सोधपुछपछि उनीहरू आ–आफ्नो बासस्थान फर्किए । अनुसन्धान व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार फर्किएका ३५ मध्ये सबै तल्लो बाटो, अर्थात् ‘डंकी रुट’ प्रयोग गरेका थिए ।

सबैले विभिन्न दलाललाई पैसा बुझाएका थिए । तर, ती दलाल को–को हुन् भन्नेबारे केही बताउन चाहेनन् । फर्किने क्रममा आफ्ना सामान बोरामा हालेर ल्याइएको, अमेरिकाबाट जहाजमा चढेदेखि नै हातमा हत्कडी र खुट्टामा नेल लगाइएको थियो ।

हात र खुट्टा नै बाँधिएका कारण जहाजमा राम्रोसँग सुत्न नपाएको गुनासो गरेका थिए । उनीहरूले प्रहरीलाई भनेका थिए ‘निद्रा पुगेको छैन, खान पनि राम्रोसँग पाइएन ।’ निराश र हतास मनस्थितिमा देखिएका उनीहरुले अमेरिका जाने क्रममा पैसा दिइएका व्यक्तिसँग आफैँले सम्पर्क गर्ने भनेका छन् ।

फर्किएका विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको प्रहरीले जनाएको छ । अर्का एक जना भने भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर डिपोर्ट भएको पाइएको छ।

बाँकी ३३ जना भने अवैध तरिकाले तल्लोबाट अमेरिका पुगेकाहरू छन् । यसरी जानेहरुले ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ । विभिन्न देश हुँदै अवैध तरिकाले छिरेको २ वर्षपछि पनि अमेरिकाले डिपोर्ट गरेको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए । जसअनुसार उनले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि २ सय बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । यस्तै अमेरिकाको न्यूयोर्क सिटीमा अध्यागमन (इमिग्रेशन) मा थप कडाइ गर्ने तयारी गरिएको छ।

ह्वाइट हाउसका बोर्डर प्रमुख टम होम्यानले न्यूयोर्क सिटीमा अध्यागमनमा थप कडाइ गर्ने तयारी भएको घोषणा गरेका हुन्। होम्यानले न्यूयोर्क सिटीमा सङ्घीय अध्यागमन कारबाहीलाई अझ तीव्र बनाइने बताए।

यो घोषणा म्यानहटनका सडक व्यापारीहरूलाई लक्षित गरी गरिएको एउटा उच्च–प्रोफाइल (चर्चित) धरपकड (रेड) पछि भएको हो। ट्रम्प प्रशासनले यसअघि नै न्यूयोर्क सिटीमा विभिन्न अध्यागमन अपरेसनहरू सञ्चालन गरिरहेको छ।

होम्यानले भनेका छन्, “म चाँडै नै न्यूयोर्क सिटीमा हुनेछु। हामी त्यहाँ अपरेसनहरू गर्नेछौँ। हामी अभियानलाई बढाउनेछौँ, किनकि यो ‘स्यान्क्चुअरी सिटी’ हो र दैनिक जीवनमा सार्वजनिक सुरक्षा जोखिम बढिरहेका छन्।”

तर, अपरेसन कहिले सुरु हुन्छ भन्नेबारे उनले स्पष्ट नपारेको अमेरिकाबाट संचालन हुने नेपाली संचारमाध्यामहरुले उल्लेख गरेका छन् । न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीका प्रवक्ता डोरा पेकेकले “न्यूयोर्कका ३० लाखभन्दा बढी आप्रवासी नै शहरको शक्ति, जीवन्तता र सफलताको मेरुदण्ड हुन्” भन्दै नवनिर्वाचित मेयरले सबै न्यूयोर्कवासीको अधिकार र मर्यादा जोगाउन तथा कानुन कायम राख्न प्रतिबद्ध रहने बताएका छन्।

मम्दानीले भने ट्रम्पसँग भेट गर्दैछन् । ममदानीको कट्टर आलोचक रहेका ट्रम्पले नै आफूले उनलाई भेट गर्न समय दिएको जानकारी दिएका छन् । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागो, लस एन्जलस, वाशिङ्टन डीसीजस्ता ठूला सहरहरूमा पनि कडा अध्यागमन कारबाही गर्दै आएका छन्।

ह्वाइट हाउसले यसलाई अपराध नियन्त्रण र सार्वजनिक सुरक्षा लक्षित अभियान भएको बताएको छ। तर ममदानी भने आप्रवासीमाथिको धरपकडको विपक्षमा रहदै आएका छन् ।

Scroll to Top