विराटनगर, असोज २२
प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरुलाई लगाउने लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाईदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए ।
सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । त्यसपछि क्रमश सरकारका सदस्यहरु साथै प्रदेश सदस्यहरुलाई सभामुख भण्डारीले लागो वितरण गरेका थिए ।
उनले कार्य व्यवस्था परामर्श समितिले पास गरेको लागो प्रयोगमा ल्याइएको जानकारी दिए । प्रदेश सदस्यहरुका लागि यसअघि नै खैरो रंगको कोट पोशाकको हकमा अनिवार्य गरिएको छ ।
यो लागो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले कला भरेका हुन् । प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमुना मागिएको थियो । प्रदेशसभा सचिवालयमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए । त्यसमध्ये कलाकार श्रीले तयार गरेको लोगोलाई पास गरिएको थियो ।
कस्तो छ लागो ?
प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगोमा महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसका थुङगा अनि मास्तिर धानका बालाले घेरिएका छ ।त्यसैगरी लोगोमा प्रदेश १ का १४ जिल्लाको बीचमा सप्तकोसी नदिको शीरमा विश्वको उच्च सगरमाथा हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा भएको लोगो बनाइएको छ ।
प्रदेश १ का सभ्यतालाई प्रमुख आधार बनाएर लोगो तयार पारिएको छ । लोगोमा हिमाल, पहाड र तराई तीनै भागलाई प्रस्ट देख्न सकिने छ । अन्न भण्डार तराईका धानका बालादेखि प्रदेश १ मा रहेको गुराँसको राजधानीलाई मात्र नभइ पहिचान बनाएका भोजपुरे खुकुरीलाई समेत समावेश गरिएको छ । प्रदेश सभामा ९३ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सरकार गत फागुन ३ गते गठन भएको हो ।