विराटनगर : स्थायी राजधानीका लागि आवश्यक संरचना निर्माण गर्न विराटनगर महानगरपालिकाले ५० विघा जग्गा उपलब्ध गराउने भएको छ ।
स्थायी राजधानी विराटनगरमै रहने वा अन्यन्त्र सार्ने बिषयमा बहस सुरु भैरहेको बेला विराटनगर महानगरपालिकाले विराटनगर–१९ मा ५० विघा जग्गा उपलब्ध गराउने भएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
महानगरपालिकाले विराटनगर–१९ मा व्यवस्थित सहर निमार्णका लागि ल्याण्डपुलिङ(अधिग्रहण) को अवधारणा अनुसार काम गरिरहेको छ ।
सोही योजना अनुसार स्थानीयबासीबाट प्राप्त हुने जग्गा महानगरबाट प्रदेश सरकारलाई आवश्यक संरचना निर्माण गर्न उपलब्ध गराउने भएको हो ।
“१९ नम्बर वडालाई हामीले ‘ल्याण्डपुलिङ’ गर्न सहरी मन्त्रालयको टोलीलाई विराटनगरमा बोलाएका छौँ” मेयर पराजुलीले भने “असोज महिना भित्र नै मन्त्रालयको टोली विराटनगर आउँदैछ ।”
सोमबार पत्रकार सम्मेलन गरी मेयर पराजुलीले जस्तोसुकै त्याग गर्न पनि महानगर तयार भएको बताए ।