२५ जेठ , काठमाण्डौ।

विश्व प्रविधि क्षेत्रमा नेपालको उपस्थिति दिनप्रतिदिन बलियो बन्दै गएको छ । कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र कोडिङजस्ता अत्याधुनिक क्षेत्रमा नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमै उत्कृष्टता देखाएका छन् । सीमित स्रोतसाधनका बीच पनि नेपाली विद्यार्थीले विश्वलाई आफ्नो क्षमता देखाइरहेका छन् ।

यसपटक अन्तर्राष्ट्रिय एआई, रोबोटिक्स र कोडिङ प्रतियोगितामा नेपाली विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न पुरस्कार जित्न सफल भएका छन् । प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा नेपाली विद्यार्थीले फेरि एकपटक आफ्नो प्रतिभा देखाएका छन् ।इन्डोनेसियाको राजधानी जाकार्तामा जेठ २ र ३ गते सम्पन्न एआई, रोबोटिक्स र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट सहभागी टोलीहरूले उल्लेखनीय सफलता हासिल गरेका हुन् ।

प्रतियोगितामा विश्वका ७० भन्दा बढी देशका करिब १५ सय विद्यार्थी सहभागी थिए । प्रतिस्पर्धामा नेपालका ६ टोली विभिन्न विधामा पुरस्कृत हुन सफल भए भने थप ३ टोली उत्कृष्ट ३० भित्र स्थान बनाउन सफल भएका छन् । सीमित स्रोतसाधनका बीच अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्दै प्राप्त गरिएको यो उपलब्धिलाई नेपाली शिक्षा तथा सूचना प्रविधि क्षेत्रका लागि महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।

विद्यार्थीहरूले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग सम्बन्धित विषयहरूमा आधारित नवीनतम् प्रविधिमूलक अवधारणा प्रस्तुत गरेका थिए । वायु प्रदूषण न्यूनीकरण, स्वच्छ तथा सुरक्षित खानेपानी, आधुनिक कृषि प्रणालीको विकास, औषधि व्यवस्थापन तथा सार्वजनिक सेवाको प्रभावकारी सञ्चालनजस्ता विषयमा तयार गरिएका परियोजनाले निर्णायकहरूको ध्यान आकर्षित गरेको बताइएको छ ।

प्रतियोगितामा सहभागी नेपाली विद्यार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र होइन, वास्तविक जीवनका समस्याको समाधान खोज्ने खालका प्रविधिमैत्री परियोजना प्रस्तुत गरेका थिए । यस वर्ष सूचना प्रविधि क्षेत्रमा क्रियाशील नीमा एजुकेसन फाउन्डेसनले विभिन्न विद्यालयसँग सहकार्य गरी ८ देखि १८ वर्ष उमेर समूहका ९८ विद्यार्थीलाई प्रतियोगिताका लागि तयार पारेको थियो ।

लामो समयदेखि सञ्चालन गरिँदै आएको प्रशिक्षण, मार्गदर्शन र अभ्यास कार्यक्रममार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि सक्षम बनाइएको फाउन्डेसनले जनाएको छ । प्रतियोगितापछि काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, प्रशिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै काठमाडौँ विश्वविद्यालयका आइटी विभाग प्रमुख प्राध्यापक डा. सुदन झाले अहिलेको विश्व सूचना प्रविधिको तीव्र प्रतिस्पर्धाको युगमा प्रवेश गरिसकेको बताएका छन।उनले करिब तीन दशकअघि कम्प्युटर शिक्षा नयाँ विषयका रूपमा उदाएको स्मरण गर्दै अहिले एआई, रोबोटिक्स र कोडिङले त्यही स्थान लिइसकेको धारणा राखे ।

समयको मागअनुसार विद्यालय शिक्षामा सूचना प्रविधिलाई अझ प्राथमिकता दिनुपर्ने र विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै प्रविधिमैत्री शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन । फाउन्डेसनले आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थिति र उपलब्धिलाई अझ सशक्त बनाउन आगामी महिनादेखि नै चरणबद्ध रूपमा सिर्जनात्मक, नवप्रवद्र्धनात्मक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली विद्यार्थीले हासिल गरेको यो उपलब्धिले देशको सूचना प्रविधि क्षेत्रप्रति नयाँ आशा र उत्साह थपेको छ । विज्ञहरूका अनुसार यस्ता प्रतिभालाई आवश्यक अवसर, स्रोत र प्रोत्साहन उपलब्ध गराउन सके नेपालले भविष्यमा विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्नेछ ।

Scroll to Top