२७ जेठ , काठमाण्डौ।
लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा आज विहानैदेखि मेघगर्जन तथा विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको र मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
“हाल पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको छ । आवश्यक सावधानी अपनाउनु होला”, उनले भने । लामिछानेका अनुसार नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । काठमाडौँ उपत्यकामा भने केही समयपछि वर्षा हट्ने सम्भावना रहेको उनले बताएका छन् ।
काठमाडौँ उपत्यकामा गएरातिदेखि नै मौसम बदली र वर्षा भइरहेपनि विहान भने रोकिएको छ। तर अझै बादल लागिरहेकाले थप वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज दिनभर काठमाडौँ उपत्यकामा मौसम बदली भइरहने सम्भावना छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
उता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागका केही स्थानहरूमा कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभाग साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उता नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका– १ सिसेनी क्षेत्रमा मंगलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो ।
केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ । प्रहरीका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक, ओमबहादुर कुमाललगायतका घरमा क्षति पुगेको छ ।
यस्तै, मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पु¥याएको छ । कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल खसेको तथा केही घरमा रूखका हाँगा खस्दा सामान्य क्षति भएको प्रहरी उपरीक्ष खड्काले बताए । हुरीबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ ।