भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

२७ जेठ , काठमाण्डौ।

भोलिदेखि फिफा विश्वकप २०२६ सुरु हुँदैछ । फुटबलको यो महाकुम्भको चर्चा र उत्साह अहिले संसारभर छाएको छ । प्रतियोगिताको करिब एक सय वर्ष लामो इतिहासमा पहिलोपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन् । विश्वकप २०२६ को आयोजना मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा गरिरहेका छन् ।

उद्घाटन खेल ११ जुनमा मेक्सिको सिटीमा हुनेछ भने फाइनल १९ जुलाईमा अमेरिकाको न्यु जर्सीमा खेलाइनेछ । अब विगतमा झैं यो विश्वकपमा पनि दुई सुपरस्टर, जसलाई गोट पनि भन्ने गरिएको छ, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आमनेसामने हुन्छन् कि हुँदैनन् भन्नेमा धेरैको चासो बढेको छ ।

किनभने यी दुई महारथि फुटबल मैदानमा कुनै प्रतिस्पर्धात्मक खेलमा एक–अर्काको विरुद्धमा उत्रिएको करिब ६ वर्ष भइसकेको छ । अन्तिम पटक उनीहरू सन् २०२० को च्याम्पियन्स लिगमा भिडेका थिए । त्यसमा बार्सिलोना युभेन्टससँग ०–३ ले पराजित भएको थियो । उक्त खेलको समूह चरणमा रोनाल्डोले मेस्सीको बार्सिलोनाविरुद्ध दुई गोल गरेका थिए ।

त्यसयता यी दुई खेलाडीको करियरको बाटो फरक हुँदा मैदानमा आमनेसामने हुने अवसर जुरेको छैन । तर, फिफा विश्वकप २०२६ मा यी सबै कुरा परिवर्तन हुन सक्छन् । त्यहाँ अर्जेन्टिना र पोर्चुगलबीच क्वार्टरफाइनलमै भिडन्त हुने सम्भावना देखिएको छ । यसपटकको विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा छ भने पोर्चुगल समूह ‘के’ मा परेको छ ।

मेस्सीको अर्जेन्टिनाले समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डन जस्ता टोलीहरूको सामना गर्नुपर्नेछ भने रोनाल्डोको पोर्चुगलले डीआर कंगो, उज्बेकिस्तान र कोलम्बियाको सामना गर्नेछ । यी दुई टोलीको प्रदर्शनका आधारमा विश्वकपमा मेस्सी र रोनाल्डोबीच भिडन्त हुन सक्ने मुख्य तीनवटा सम्भावनाहरू रहेका छन् ।

पहिलो सम्भावना अनुसार, अर्जेन्टिना (समूह जे) र पोर्चुगल (समूह के) दुवैले आ–आफ्नो समूहको शीर्ष स्थान हासिल गरे भने उनीहरू प्रतियोगिताको ब्य्राकेटको एउटै पक्षमा पर्नेछन् । यस्तो अवस्थामा उनीहरू दुवैले राउन्ड अफ ३२ र राउन्ड अफ १६ का आ–आफ्ना खेलहरू जिते भने प्रतियोगिताको क्वार्टरफाइनलमा मेस्सी र रोनाल्डो एक अर्काविरुद्ध मैदानमा उत्रनेछन् ।

दोस्रो सम्भावना अनुसार, अर्जेन्टिना र पोर्चुगल दुवै आ–आफ्नो समूहमा दोस्रो स्थानमा रहेर उपविजेता बने भने प्रतियोगिताको संरचनाले उनीहरूलाई क्वार्टरफाइनलमा भेट हुनबाट रोक्नेछ । यस्तो समीकरण बनेमा उनीहरू राउन्ड अफ १६ मै एक अर्काविरुद्ध खेल्नुपर्ने हुन्छ । यद्यपि, उनीहरूका विपक्षी टोलीहरूको स्तर र वर्तमान क्षमतालाई हेर्दा दुवै टोली समूहमा दोस्रो हुने सम्भावना निकै कम देखिन्छ ।

तेस्रो सम्भावना अनुसार, अर्जेन्टिना र पोर्चुगलमध्ये एकले आफ्नो समूह जित्यो र अर्को टोली दोस्रो स्थानमा रह्यो भने उनीहरूको भेट हुने बाटो अन्तिमसम्मका लागि अलग रहनेछ । यस्तो अवस्थामा मेस्सी र रोनाल्डोको भेट केवल न्यु जर्सीमा हुने विश्वकपको फाइनलमा मात्र सम्भव हुनेछ ।

यो विश्वकप मेस्सी र रोनाल्डो दुवैका लागि करियरको अन्तिम विश्वकप हुने निश्चित जस्तै भएकाले विश्वभरका प्रशंसकहरू उनीहरूलाई अन्तिमपटक मैदानमा भिडेको हेर्न आतुर छन् । फुटबलका देवताहरूले साथ दिए भने विश्वकपको फाइनलमा यी दुई महान् खेलाडीबीचको भिडन्त खेल इतिहासकै सबैभन्दा स्मरणीय क्षण हुनेछ ।

यी दुईबाहेक अन्य धेरै राम्रा खेलाडीहरुको पनि अहिले चर्चा भइरहेको छ । उनीहरुको फ्यानहरु विश्वभर बाँडिएका छन् । फ्यानक्लबहरु अहिलेदेखि नै हारजितको दाबी गरिरहेका छन्, आफ्नो टोली र खेलाडीहरुको प्रशंसा गर्दै जर्सीको जोहो गर्न लागि परेका छन् । सामाजिक संजाल विश्वकपकै रंगमा रंगिन थालिसकेको छ ।

हुन पनि विश्वकपले फुटबल स्टारलाई एउटै मञ्चमा ल्याउने गर्छ । यसपाली पनि फुटबल लिजेन्डदेखि युवा प्रतिभाले आफ्नो खेल प्रस्तुत गर्दैछन् । लियोनल मेसीको ‘म्याजिकल फिट’, क्रिस्टियानो रोनाल्डोको ‘एक्रोब्याटिक फिनिसेज’, विंगर लामिन यामलको त्यो जादु र किलियान एम्बाप्पेको त्यो स्पीड ।

प्रतीक्षाको घडी अब समाप्त हुँदैछ । बिहीबार जुन ११ बाट विश्वकप सुरु हुँदैछ । अब चर्चा गरौं विश्वकपका हेर्नलायक १० खेलाडीहरुको । पहिले कुरा गरौं विश्वविजेता अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको । चार वर्षअघि मेसीले आफ्नो बाल्याकालको सपना पूरा गरे । उनको ट्रफी क्याबिनेटमा ‘मिसिङ पीस’ थियो ।

जुन उनले पाइहाले । अहिले उनी ३८ वर्षका भए । स्टार फरवार्ड मेसी आफ्ना पूराना प्रतिद्धन्द्धी रोनाल्डोसँगै कीर्तिमानी छैटौं विश्वकप खेल्दैछन् । अमेरिकामा उनी र उनको टिम अर्जेन्टिनाको एउटै मात्र लक्ष्य हुनेछ, त्यो हो जसरी पनि उपाधिलाई रक्षा गर्ने । अर्जेन्टिनी फुटबलका हार्टबीट मेसीको संलग्नता पछिल्ला संस्करणहरु जस्तो बलियो नहुन सक्छ । किनभने उनको उमेर बढिसकेको छ । अनि फिटनेसलाई लिएर पनि पछिल्लो समय उनीमाथि प्रश्न उब्जिएको छ ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

रोनाल्डाका लागि विश्वकप २०२६ ‘लास्ट डान्स’ हो । ४१ वर्षको उमेरमा पनि उनी विश्वकप स्तरका लागि फिट छन् । १० वर्षअघि पोर्चुगललाई ‘कन्टिनेन्टल (युरोपियन च्याम्पियनसिप)’को उपाधि जिताएका रोनाल्डो आफ्नो मेडन विश्वकप जित्ने लक्ष्यमा छन् । चार वर्षअघि कतारमा रोनाल्डोले प्लेइङ मिनेट्सका लागि ‘स्ट्रगल’ गरेका थिए । अहिले रोबोर्टो मार्टिनेजले उनलाई अन्तिम विश्वकपमा पर्याप्त समय दिने निश्चित छ ।

किलियन एमबाप्पे (फ्रान्स)

कतार विश्वकपको फाइनलमा एमबाप्पेले सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । तर, पेनाल्टी सुटआउटमा टोलीले मेसीको अर्जेन्टिनासँग पराजय बेहोर्यो । एमबाप्पेले पछि उच्च गोलकर्ताको पुरस्कारनै जिते । एमबाप्पे अहिले परिपक्व खेलाडी भइसकेका छन् । अहिले त उनी फ्रान्सका कप्तान पनि हुन् । आफ्नो कप्तानीमा टोलीलाई विश्वकप उपाधि जिताउने दाउमा छन् । एमबाप्पे फ्रान्सको सर्वाधिक गोलकर्ता बन्न मात्र एक गोल टाढा छन् । यो रेकर्ड अहिले ५७ गोलका साथ आलिभियो जिरुडसँग छ । उनले यो उपलब्धि ३६ वर्षमा हासिल गरेका थिए । एमबाप्पेसँग २७ वर्षमै यो उपलब्धि हासिल गर्ने अवसर छ ।

ह्यारी केन (इङ्ल्यान्ड)
ह्यारी केन आफ्नो करिअरकै उच्च लयमा छन् । भर्खरै मात्र बार्यन म्युनिखबाट जर्मन बुन्डेसलिगाको उपाधि जितेका केन लगातार दोस्रो बर्ष लिगको उच्च गोलकर्ता बने । सन् २०१८ रसिया विश्वकपका गोल्डेन बुट विजेता केन इङ्ल्यान्डका कप्तान हुन् । लिगको लयलाई कायम राख्ने हो भने केन विश्वकपमा दुईवटा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन् ।

लामिन यमाल (स्पेन)

लामिन यमाल भर्खर १८ वर्षका भए । तर, यी विंगरले सबैको ध्यान आफूतिर तानिसकेका छन् । स्पेनले दुई वर्षअघि युइएफए युरोकप २०२४ जित्दा यामिलले सशक्त प्रदर्शन गरेका थिए । अहिले विश्व फुटबलको महाकुम्भ सुरु हुन लाग्दा समर्थकले उनीबाट फरक जादुको अपेक्षा गरेका छन् । आफ्नो गोल स्कोरिङ बानीमा फर्कने हो भने लामिन सबैभन्दा कम उमेरमा गोल्डेन बुट जित्ने खेलाडी बन्न सक्छन् ।

एर्लिङ हालान्ड (नर्वे)

स्टार स्ट्राइकर एर्लिङ हालान्ड पहिलोपटक विश्वकपको अनुभव लिँदैछन् । नर्वेको प्रमिसिङ गोल्डेन जेनेरेसनलाई नेतृत्व गरेका हालान्ड युइएफए छनोटमा उच्च गोलकर्ता थिए । उनले नर्वेलाई विश्वकप पुर्याउन कूल १६ गोल गरे । अक्टोबरमा म्यानचेस्टर सिटीका फरवार्ड हालान्ड ५० भन्दा कम अन्तर्राष्ट्रिय क्यापमा ५० गोल गर्ने छैटौं खेलाडी बने । ५३ वर्षसम्म पनि यो उपलब्धि कसैले हासिल गर्न सकेका थिएन । त्यसैले त २५ वर्षीय हालान्डलाई गोल मेसिन भनिएको ।

भिनिसियस जुनियर (ब्राजिल)

चार वर्षको अन्तरालमा भिनिसियस जुनियरले आफूलाई परिपक्व खेलाडीका रुपमा उभ्याएका छन् । सन् २०२२ मा उनले भर्खर भर्खर टोलीमा बामे सर्दै थिए । अहिले भिनि स्टार खेलाडी भइसकेका छन् । ब्राजिलको विश्वकप सपना भिनिसियसमै अडिएको छ भन्दा फरक पर्दैन । यसमा साथ दिँदैछन् सप्राइज प्याकेज नेइमारले । भिनिसियस रियाल मड्रिडका पूर्व प्रशिक्षक कार्लो एन्सिलोटीको नेतृत्वमा खेल्दैछन् । उनकै नेतृत्वमा भिनिले दुईपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यस्तै सन् २०२४ मा फिफा वर्ष खेलाडीको पुरस्कार पनि उनले जितेका थिए ।

मोहम्मद सलाह (इजिप्ट)

अफ्रिकन फुटबलका आइकन मोहम्मद सलाहले अनगन्ती र्कीतिमानहरु आफ्नो नाममा लेखाएका छन् । तर, ३३ वर्षीय विंगरले आफ्नो राष्ट्रका लागि उपाधि भने जिताउन सकेका छैनन् । पछिल्लो केही समय सलाहलाई मांशपेशी समस्याले सताएको खबर बाहिर आएको थियो । तर, इजिप्टियन किङ अमेरिकामा आफ्नो ‘अनफिनिस्ड बिजेनस’का लागि तयार छन् ।

एन्टोइन सेमेन्यो (घाना)

यसै वर्षमात्र म्यानचेस्टर सिटीमा पुगेका विंगर सेमेन्योले आफ्नो प्लेमेकिङ कौशलबाट सबैलाई प्रभावित पारेका छन् । उनले लिगमा १० गोल गरे । जसले सिटीको उपाधि चुनौतीमा निकै ठूलो बल दिएको थियो । २६ वर्षीय सेमेन्योकै गोलमा सिटीले आफ्नो आठौं ‘एफए कप’ उपाधि उचालेको थियो । अफ्रिकन राष्ट्र घानाका लागि सेमेन्यो प्रतियोगिताकै हेर्नलायक खेलाडीमध्ये एक हुन् । मिडफिल्डर मोहम्म कुदोसले इन्जुरीका कारण विश्वकप गुमाएपछि त झन् सेमेन्योमाथि जिम्मेवारी थप बढेको छ ।

आर्दा गुलर (टर्की)

टर्की २४ वर्षपछि पहिलोपटक विश्वकप खेल्दैछ । यति लामो समयपछि आफ्नो राष्ट्रले विश्वकपमा प्रतिनिधित्व जनाइरहँदा टर्कीस समर्थकले एउटा खेलाडीमाथि ठूलो भर गरेको छ । ती हुन् स्टार विंगर आर्दा गुलर । युरोपमा गुलरले आफूलाई एमर्जिङ खेलाडीका रुपमा उभ्याइसकेका छन् । रियाल मड्रिडका यी खेलाडी पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको जर्सी लगाउँदैछन् ।

अब कुरा गरौं उपाधिका प्रमुख दाबेदारको । दुई पटकको विश्वविजेता फ्रान्स र सन् २०१० को विजेता स्पेनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । फ्रान्ससँग किलियन एम्बाप्पे र उस्मान डेम्बेलेजस्ता उत्कृष्ट खेलाडी छन्, जसले युरोपका प्रमुख क्लब प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका छन् ।

स्पेनले १८ वर्षीय युवा प्रतिभा लामिन यामलमाथि ठूलो आशा राखेको छ। उनले स्पेनलाई दुई वर्षभित्र दोस्रो ठूलो उपाधि दिलाउन सक्ने विश्वास गरिएको छ । लगातार दुई युरोपेली च्याम्पियनसिपको फाइनलमा पराजित भएको इङ्ग्ल्यान्ड पनि उपाधि दौडमा बलियो दाबेदार मानिएको छ । यस्तै, विश्वकप इतिहासकै सबैभन्दा सफल राष्ट्र ब्राजिललाई पनि उपाधिको प्रमुख प्रतिस्पर्धी मानिएको छ ।

ब्राजिल आफ्नो छैटौं विश्व उपाधिको खोजीमा छ। उसले पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको थियो । यस्तै यसपटक पहिलो पटक विश्वकप खेल्ने राष्ट्रहरूको चर्चा गर्नु उपयुक्त हुन्छ । विश्वकपको विस्तारित स्वरूपका कारण केही नयाँ राष्ट्रहरूले पहिलोपटक फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्थान बनाएका छन् ।

कुरासाओ

करिब १ लाख ५६ हजार जनसंख्या भएको कुरासाओ विश्वकपमा छनोट हुने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ। यसअघि सन् २०१८ मा आइसल्यान्डले बनाएको कीर्तिमान उसले तोडेको हो।

केप भर्डे

करिब पाँच लाख जनसंख्या भएको केप भर्डे पनि पहिलोपटक विश्वकपमा सहभागी हुँदैछ। यो विश्वकप खेल्ने इतिहासकै तेस्रो सबैभन्दा सानो राष्ट्र हो।

जोर्डन

जोर्डनले हालका वर्षहरूमा उल्लेखनीय सफलता हासिल गर्दै पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । टोलीका मुख्य प्रशिक्षक जमाल सेलामी मूलतः मोरक्कोका हुन्। टोलीलाई ऐतिहासिक सफलतामा पु¥याएको सम्मानस्वरूप जोर्डनका राजा अब्दुल्लाह द्वितीयले उनलाई जोर्डनी नागरिकता प्रदान गरेका थिए।

उज्बेकिस्तान

पहिलोपटक विश्वकपमा पुगेको अर्को राष्ट्र उज्बेकिस्तान हो । टोलीका मुख्य प्रशिक्षक फाबियो कानाभारोसँग विश्वकपको ठूलो अनुभव छ। उनले खेलाडीका रूपमा चार विश्वकप खेलेका थिए र सन् २००६ मा इटालीलाई कप्तानका रूपमा विश्वविजेता बनाएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top