२२ फागुन , काठमाण्डौ।
प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्रब पार्टीले एकछत्र अग्रता कायम राखेको छ । नेपाली काग्रेस र नेकपा एमालेका उम्मेदवारहरु पछि परेका छन् । मतगणना जारी रहेका क्षेत्रहरुमा ३२ क्षेत्रमा रास्वपाले अग्रता कायम राख्दा, कांग्रेस दोस्रो स्थानमा रहदै ४ स्थानमा अघि देखिएको छ भने एमाले ३ स्थानमा मात्रै अघि छ ।
नेकपा भने एक स्थानमा मात्रै अग्रता बनाउन सफल भएको छ। एमालेका प्राय सबैजसो चर्चित नेता निकै पछि परेका छन् भने रास्वपाका प्राय सबै उम्मेदवारहरु अगाडि देखिएका छन् । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।
प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।
रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पछि परेका छन् । रुपन्देही क्षेत्र नं २ का ताजा मतगणनामा रास्वपाले शुरुवाती अग्रता लिएको छ । तिलोत्तमा वडा नं १ को मतगणना सकिंदा रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ६०९ मत पाएका छन् ।
नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ३०५ र नेपाली कम्युनिष्ट पार्टीका सुभास पाण्डे (विश्वदीप)ले ३५ मत पाएका निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । रुपन्देही २ मा एकलाख ३५ हजार ५० मतदाता छन् । यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि परेका छन् ।
यस क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् । तेस्रोमा एमाले उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् ।
बुढानीलकण्ठ–६ को मत गणना हुँदा आएको यो प्रारम्भिक मत हो । यसैगरी भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेत पनि पछि परेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले निरन्तर मत अगाडि बढाइरहेका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार खत्रीले २००० मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याएका छन् ।
उनीहरूलाई नेपाली कांग्रेसका कबीर रानाले १७४ मत सहित पछ्याइरहेका छन् । पहाडी जिल्ला तेह्रथुममा भने नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अन्य प्रत्यासी भन्दा अगाडि देखिएका छन् । जारी गणनामा ढकालले १२६२ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोपा सुब्बा छन् ।
उनले १२४५ मत पाएका छन् । तेस्रो मत भने रास्वपाका सुरेन्द्र कार्कीले पाएका छन् । उनले १२४९ मत पाएका छन् । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ ।
नेकपा एमालेका शंकर थपलियाले १ हजार ५९ मत पाएका छन् । नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले ६ सय ६८ मत ल्याएका छन् । मतगणना जारी छ । चितवन–२ मा जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ । लामिछानेले २ हजार २५ मत पाएका छन् ।
नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ६ सय ६८ मत ल्याएकी छन् । नेकपाका प्रताप गुरुङले १ हजार १० मत पाएका छन् । यस्तै ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता बनाएको छ ।
हालसम्म दुई हजार १०० मतगणना गरिएको छ । रास्वपाकी उमेदवार तोसिमा कार्कीले एक हजार ७४६ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले १५० मतसहित पछ्याइरहेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राजकाजी महर्जनले १३३ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) सन्दन थापामागरले ३३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ललितपुर–३ मा शुक्रबार (फागुन २२) बिहान २ बजेदेखि मतगणनाा थालिएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा मतगणना जारी छ ।
हालसम्म दुई हजार ७६७ मतगणना गरिएको छ । पछिल्लो समयसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्ले एक हजार ३५२ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)की भगवती न्यौपानेले ४१६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा कञ्चनपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता बनाएको छ । हालसम्म ६०० मतगणना गरिएको छ ।
रास्वपाका उमेदवार ज्ञानेन्द्रसिंह महता २६० मतसहित अगाडि छन् । नेपाली कांग्रेसका उमेदवार हरिकृष्ण बोहराले १०० मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का दीपकप्रकाश भट्टले ६१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मानबहादुर सुनाले ३८ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार राजुनाथ पाण्डे अघि लागेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार उनले दुई हजार ९६० मत ल्याएका छन् । हालसम्म आठ हजार ९३ मत गन्दा पाण्डेलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछ्याएका छन् । घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् ।