२ चैत , काठमाण्डौ।
धेरै जानकार रहेको विषय हो कि, बालेन्द्र शाह बालेन पेसाले स्ट्रक्चरल इन्जिनियर हुन्। लोकप्रियताको कसीमा भने इन्जिनियरिङ भन्दा ज्यादा ¥यापरका रूपमा उनी परिचित छन् । पछिल्लो समय भने बालेनले कुशल राजनीतिज्ञको परिचय बनाइसकेका छन् । २०७९ को निर्वाचनमा एकाएक काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि बालेन राजनीतिक वृत्तमा एकाएक उदाए ।
आफ्नै क्षेत्रमा जीवन सहजै चलिरहँदा बालेन रातारात किन राजनीतिमा होमिएका थिए भन्ने प्रश्न अहिले पनि धेरैका लागि कौतुलताको विषय बन्ने गरेको छ । यो प्रश्नको जवाफ भने २०७२ सालमा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीमा खोज्नु पर्ने हुन्छ । जुन विन्दुबाट बालेन राजनीतिमा होमिन पुगे ।
०७२ असोज ३ मा संविधान सभाबाट नेपालको नयाँ संविधान जारी भएपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगायो, यही घटनाले बालेनमा राजनीतिक रूचि बढेको उनीसँगै इञ्जिनियरिङ पढेका रवीन भारती बताउँछन्। उनका अनुसार बालेन नाकाबन्दीका बेलादेखि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका हुन्।
नाकाबन्दीताका फेसबुकको ’एमआरआर’ समूहले आयोजना गरेको सडकभोजमा उनी सहभागी भए। उनी अर्को समूह ’दारी ग्याङ’ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुन्थे। भारतले गरेको उक्त नाकाबन्दीबारे साथीहरूसँग चिढिन्थे। त्यसको विरूद्धमा र्याप गीतहरू गाए पनि। आफ्नो स्तरबाट शसक्त विरोध प्रदर्शन पनि गरे।
यही घटनाले उनलाई राजनीतिमा रूचि मात्र हैन, काठमाडौंको मेयर उठ्न प्रेरित गर्यो। जुन कुरा उनले २०७४ सालमै आफ्नो फेसबुकमा लेखेका थिए । संविधान बनेपछिको पहिलो स्थानीय तहको चुनावका दिन उनले त्यतिबेला लेखेका थिए, ‘मैले आज भोट हालिनँ। म उम्मेदार पनि थिइनँ। मैले सिभिल इञ्जिनियरिङमा ब्याचलर्स गरेको छु र स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गर्दैछु। मलाई देश कसरी बनाउँनुपर्छ भन्ने थाहा छ। अर्को चुनावमा म भोट हाल्नेछु। त्यो भोट म आफैंलाई हाल्नेछु। म मेरो देशको विकास गर्नेछु। मलाई अरू कसैको भर लाग्दैन।’
यो स्टाटस बालेनले आवेगमा लेखेका थिएनन्। नाकाबन्दीपछि ’आफ्नो देश आफैं बनाउने’ भनेर लागेका उनले २०७२ को भूकम्पपछि पाँचखाल र नुवाकोटमा एसएसएफ संस्थासँगको आवद्धतामा २५ सय घरको पुनर्निर्माण भूमिका खेले। यही सिलसिलामा देशका ६५ जिल्ला घुमिसकेका बालेनले काठमाडौंको मेयर बन्न ५ वर्ष तयारी गरेका थिए, यही कन्फिडेन्टले उनको क्रेज बढ्यो र निर्वाचनमा पनि उनले शानदार रुपमा जित हासिल गरे ।
त्यसअघि बालेन विवेकशील पार्टीप्रति आकर्षित थिए। उनले विवेकशील पार्टीबाट राजनीति गर्ने चाहना पनि राखेका थिए। त्यति मात्र हैन, विवेकशीलबाटै मेयर उठ्ने चाहना राखेका थिए। तर विवेकशीलले आफ्नो पार्टीको सदस्यता लिनुपर्ने भनेपछि उनी सदस्यता नलिई आफ्नै तरिकाले मेयरको तयारीमा लागेका थिए।
सटिक र प्रस्ट बोल्न सक्ने क्षमतावान बालेनको बोल्ने शैली र तर्कशील क्षमतालाई समेत काठमाडौंका मतदाताले स्वीकार गरे। चुनावअघि ’म ९० हजार ८३५ मत ल्याउँछु’ भनेर दाबी गर्ने बालेनले ६१ हजार ७६७ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी र्सिजना सिंहलाई पराजित गरे। बालेनका अघि दलीय राजनीतिको दबदबा रहेको काठमाडौंमा सिंह ३८ हजार ३ सय ४१ र एमालेका केशव स्थापित ३८ हजार १ सय१७ मतमा सिमित भए ।
शानदार रुपमा मेयरमा निर्वाचि भएको साढे ३ वर्षभित्रै बालेन अब देशको प्रधानमन्त्री बन्ने तरखरमा छन् । यो बीचमा राजनीतिक उथलपुथल केही नभए अबको १० दिनभित्र बालेन नेपालको ४७ औं प्रधानमन्त्रीमा नियुक्ति हुनेछन्। प्रधानमन्त्रीका रुपमा बालेनका हातमा अवसर र चुनौती दुबै देखिएका छन् ।
उनको एकातिर दुईतिहाई नजिकको जनमतको विश्वास र अपेक्षाको पहाड उभिएको छ भने अर्कोतिर जेनजी आन्दोलनले थिलथिलो भएको देशलाई उठाउनुपर्ने भार उनको काँधमा हुनेछ । त्यसो त बालेन अहिल्यै संसदीय राजनीतिमा आइहालना चाहँदैन थिए । झट्ट हेर्दा जेनजी आन्दोलनका कारण बालेन संसदीय राजनीतिमा आएको देखिए पनि यसको पृष्ठभूमि बने केही लामै देखिएको छ ।
काठमाडौंको मेयरका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाधक बन्दा बालेन यो निर्वाचन लड्ने मनस्थितिमा पुगेको तथ्यहरूले पुष्टि गर्छ। स्वतन्त्र रूपमा काठमाडौंको मेयर जितेका बालेनले एमालेसँग मिलेर काम गर्न खोजेका थिए किनभने कार्यपालिकामा उपमेयरदेखि वडाध्यक्ष अनि सदस्यसम्म बहुमत सदस्य एमालेका थिए।
यही कारण बालेन एमाले अध्यक्ष ओलीमो निवास दुई पटक पुगे। एमाले नेता महेश बस्नेतको घरमा समेत गए। तर वातावरण सहज बनेन। ’पाँच वर्षको काठमाडौंको नक्सा कोरेर’ आएका बालेनलाई कामै गर्न असहज बनाइयो। अल्फा हाउस पार्किङ, पुरानो बसपार्कको टावरको नक्सा, प्रमुख प्रशासकीय अधिकृतको विवादमा ओली बाधक बनेको बालेन समूहले निष्कर्ष निकाल्यो।
त्यसपछि सुरू भयो, यी दुईबीच फेसबुक वाक–युद्ध । कहिले बालेनले गिरिबन्धु टिस्टेट जग्गा प्रकरणमा ओलीमाथि छानबिन गर्नुपर्ने भन्दै स्टाटस लेखे भने कहिले ओलीले महानगरले सुकुम्बासीको बिल्लीबाठ बनाएको तथा डोजर आतंक चलाएको भन्दै आलोचना गरे। र, यो क्रम लामो समय रहिरह्यो।
यही बीचमा नै २०८४ को संसदीय निर्वाचनमा ओलीसँग झापामा गएर लड्ने मुडमा बालेन पुगिसकेका थिए । विभिन्न मिडिया रिपोर्टहरूका अनुसार बालेनको टिमले झापामा चुनाव लड्न स्थलगत अध्ययनसमेत थालेको थियो । तर ८४ को निर्वाचन अकस्मात भदौको जेनजी आन्दोलनको जगमा ८२ सालमै सर्याे ।
आन्दोलनसँग जोडेर बालेनमाथि उठाइएका कतिपय प्रश्नहरु र ओलीका अभिब्यक्तिहरुले बालेनलाई झापा ५ मा पुर्यायो । जेनजी आन्दोलनले झन् यी दुईबीच दुरी बढायो। भाद्र २३ को जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई बालेनले ‘आतंकवादी’कै संज्ञा दिएर स्टाटस लेखे ।
दुवै प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक डिबेटको चर्चा हुँदा बालेनले ओलीमाथि टिप्पणी गर्न नै अनुपयुक्त भन्दै नजरअन्दाज गरिदिए । यसको जवाफमा ओलीसहितका एमालेजनले भाद्र २४ को विध्वंश बालेनको डिजाइनमा भएको लगातार दोहोर्याइ रहे । त्यसपछि पनि यो क्रम रोकिएन ।
माघ ६ मा उम्मेदवारी दर्ता गराउन झापा पुगेका ओलीले संचारमाध्याममा बालेनको व्यक्तिगत सामथ्र्य र निष्ठामाथि प्रश्न उठाउँदै क्षेत्र विशेष र समुदायको भावनामा चोट पुग्नेगरी टिप्पणी गरे। ‘दमक सफा नगरहरू मध्ये पर्छ। व्यवस्थित नगरहरू मध्ये पर्छ। यो महोत्तरी धनुषा जस्तो अवस्थामा होइन, त्यो भन्दा धेरै एड्भान्स छ,’ ओलीले भने, ‘अब उहाँ (बालेन) त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा अब उहाँले यहाँ गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ मलाई थाहा छैन।’
यो अभिब्यक्तिले बालेनको चर्चा थप चुलियो भने ओलीका लागि आलोचनाको कारण बन्यो । नभन्दै, झापामा ’एमालेबाट जुत्ता उठाए पनि चुनाव जित्ने’ दाबी गर्ने ओली आफैं सर्मनाक रुपमा हार्न पुगे । झापा ५ मा बालेनले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मतमा सिमित भए ।
