३ चैत , काठमाण्डौ ।
प्रतिनिधिसभा निर्वाचनबाट १८२ सिटमा जित हासिल गर्दै सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा दुईदिने अभिमुखीकरण आयोजना गरिएको हो ।
रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका हुन् । अभिमुखीकरण शुभारम्भमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देखिएनन् । लामिछाने बुधबार (चैत ४) अभिमुखीकरण समापनमा सहभागी हुनेछन् ।
उनले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता तथा समापन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिका छ । बालेन पनि भोलि मात्र उपस्थित हुने रास्वपाका तर्फबाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले जानकारी दिए । रवि र बालेन स्वास्थ्य अवस्था र कार्यव्यस्ताताका कारण आउन नसकेको उपसभापति अर्यालले बताए ।
सम्भव भएसम्म भोलि दुवैजना कार्यक्रम समापन हुनुअघि उपस्थित हुने उनले जानकारी गराए । नवनिर्वाचित सांसदलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्नेलगायत उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
अभिमुखीकरणमा नेपाल सरकारका पूर्वसचिव, आईटीविज्ञलगायत व्यक्तिहरूले विभिन्न विषयमा जानकारी प्रदान गर्नेछन् । रास्वपाबाट यसअघि पनि सांसद रहिसकेकाहरूले संसदीय अनुभव सुनाउने कार्यक्रम तालिका छ ।
सत्रमा संसदका पूर्व सचिव सुरेश अधिकारीले मौजुदा संसदको संरचना कार्यप्रणालीबारे नव सांसदहरूलाई जानकारी गराउने कार्यसूची रहेको छ।
उनले आफ्नो अनुभवको आधारमा प्रस्तुति दिनेछन्। मंगलबारको सत्रमा पार्टी उपसभापति स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षित तुल्याउनेछन्। वाग्ले वाचापत्र लेखन समितिका संयोजक पनि थिए। यस्तै, आजको सत्रमा कानुन सचिवसमेतको जिम्मेवारी सम्मालिसकेका तोयानाथ अधिकारी कानुन निर्माण संघीय संसदको भूमिकाबारे सुसूचित गर्नेछन्।
उनले पनि आफ्नो अनुभवका आधारमा सांसदहरूलाई नोट सेयर गर्ने छन् । अभिमुखीकरणमा रास्वपाले अध्येता तथा विश्लेषक दोभान राईलाई पनि आमन्त्रित गरेको छ। राईले संसद र नागरिकको बीचको सम्बन्धबारे बताउनेछिन्। डिजिटल युगमा नागरिकसँग संवाद कसरी कायम गर्ने, प्रभावकारी सञ्चारसीपको प्रयोग कसरी गर्ने भन्नेबारे प्रशिक्षित तुल्याउने उनको कार्यसूची छ।

आजैको सत्रमा चितवन–३ बाट निर्वाचित सोविता गौतमलगायत केही सांसदहरूले आफ्नो अनुभव साझा गर्नेछन्। गौतम यसअघिको संसदमा पनि सांसद थिइन्। दोस्रो दिनको सत्र योग–ध्यानबाट आरम्भ हुनेछ। भोलिको सत्रको सुरूआतमा एलपी भानु शर्माले योगाभ्यास, ध्यान गराउनेछन्।
त्यसपछि योजना तर्जुमा, बजेट निर्माण, विन्यासबारे तोयानारायण ज्ञवालीले प्रशिक्षण दिनेछन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वसचिवसमेत हुन्। यस्तै, पार्टी र संसदको सम्बन्धबारे महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूलाई प्रशिक्षित गर्नेछन्। फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेको थियो।
प्रत्यक्षतर्फ १२५ र समानुपातिक गरी ५७ सिटमा विजय हासिल गरेको छ । समानुपातिकतर्फ ५७ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । समानुपातिकमा ४८ जना महिला र नौजना पुरूष परेका छन् । रास्वपाबाट यौनिक तथा अल्पसंख्यक समुदायको तर्फबाट भूमिका श्रेष्ठ प्रतिनिधिसभा सदस्य बनेकी छन् । उनी ट्रान्सजेन्डर हुन् ।
त्यस्तै, बडिबिल्डर रजनी श्रेष्ठलाई पनि रास्वपाले समानुपातिक सांसद बनाएको छ । उज्यालो नेपाल छाडेकी रीमा विश्वकर्माले दलित क्लस्टरबाट संसदीय यात्रा तय गरेकी छन् । अभिनेत्री तथा टीभी कार्यक्रम प्रस्तोतासमेत रहेकी उनी सुरुआतमा उज्यालो नेपाल पार्टीमा थिइन् ।
उज्यालो नेपाल पार्टी र रास्वापबीच एकताको सहमतिसँगै रास्वपाले उनको नाम समानुपातिक सूचीमा राखेको थियो । तर, पछि रास्वपा र उज्यालो नेपाल पार्टी अलग हुँदा रीमा रास्वपामै बसिन् । जेनजी आन्दोलनका सहिदकी आमा रचना खतिवडा क्षेत्री पनि रास्वपाबाट सांसद बनेकी छन् ।
खसआर्य महिलातर्फ दोस्रो स्थानमा रहेकी खतिवडालाई निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद बनाएको हो । उनी जेनजी सहिद रसिक खतिवडाकी आमा हुन् । जेजनी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीको गोली लागेर २३ वर्षीय रसिकले ज्यान गुमाएका थिए ।
रचना खतिवडा रास्वपाको चुनावी अभियानमा समेत खटिएकी थिइन् । खतिवडाको गृहजिल्ला काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपाले जितेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी खतिवडा सोमबार आयोजित अभिमुखीकरण कार्यशालामा भावुक भएकी छन्।
भदौ २३ को घटनामा रसिकको ज्यान गएपछि उनी सहिदहरूको न्यायका लागि सडकमा आवाज उठाउँदै आएकी थिइन्। रास्वपाले उनलाई खसआर्य क्लस्टरबाट समानुपातिक सूचीमा राखेको थियो। सांसदहरूको अभिमुखीकरण कार्यशालामा उपस्थित भएकी उनी कार्यक्रमको सुरूमा भावुक देखिएकी थिइन्।
गृहणीको जीवन बिताउँदै आएकी रचना छोराको मृत्युपछि सडक संघर्ष गर्दागर्दै रास्वपाबाट राजनीतिमा आएकी हुन्। त्यस्तै, जेनजी आन्दोलनका क्रममा घाइते भएका मुकेश अवस्थीकी दिदी आकृति अवस्थी पनि सांसद बनेकी छिन् । रास्वपाले खसआर्यमा नवौँ नम्बरमा उनको नाम राखेको थियो ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा मुकेशको खुट्टामा गोली लागेको थियो । जसका कारण उनले बाँया खुट्टा गुमाउनुपरेको थियो । अहिले उनी उपचाररत छन् । डडेल्धुराको अमरगढीका २२ वर्षीय मुकेश आकृतिका भाइ हुन् । त्यस्तै, डा. ओजस्वी शेरचन र डा. अंकिता यादव पनि समानुपातिकतर्फबाट सांसद बनेका छन् ।
त्यस्तै, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले पनि पहिलोपटक संसदीय यात्रा तय गरेकी छन् । आदिवासी जनजाति क्लस्टरबाट उनी सांसद बनेकी हुन् । उनी सन् २०१९ मा ’मिस नेपाल’ बनेकी थिइन् । रास्वपाको केन्द्रीय समितिबाट ११ जना महिला र दुईजना पुरुष गरी १३ जना समानुपातिकतर्फबाट सांसद बनेका छन् ।
रास्वपाको केन्द्रीय सदस्यबाट ११ जना महिला र दुईजना पुरुष समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । खसआर्यबाट कोषाध्यक्ष लिमा अधिकारी, जनजातिबाट सहकोषाध्यक्ष बसुमाया तामाङ प्रतिनिधिसभा सदस्य बनेका छन् । अधिकारी एमालेका दिवंगत नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीकी छोरी हुन् ।
त्यस्तै रास्वपाका सहप्रवक्ताद्वय प्रतिभा रावल र रमेश प्रसाई खसआर्यबाट सांसद बनेका छन् । खसआर्यबाटै केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, पिछडिएको क्षेत्रबाट टीका संग्रौला, जनजाति क्लस्टरबाट प्रमिला कुलुजु, एलिजा गुरुङ र काठमाडौंकी कुसुम महर्जन र मधेसी महिलातर्फ निशा मेहता, कामिनी कुमारी (चौधरी) सांसद बनेका छन् ।
विवकेशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका समीक्षा बाँस्कोटा र प्रकाशचन्द्र दर्जी पनि रास्वपाबाट समानुपातिकतर्फका सांसद बनेका छन् । यी दुवै रास्वपाका केन्द्रीय सदस्य हुन् ।
