२५ असार, काठमाण्डौ ।
चीनमा आएको भीषण बाढीका कारण एउटा सर्प प्रजनन केन्द्र (स्नेक फार्म) बाट विषालु कोबरासहित सयौं सर्प भागेका छन्। दक्षिणी चीनको हेङ्झोउ गाउँमा बाढीको धमिलो पानीमा सर्पहरू पौडिँदै र घिस्रिँदै हिँडिरहेको देखाउने भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
द टेलिग्राफ का अनुसार, गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा आएको बाढीले नजिकै रहेको सर्प प्रजनन केन्द्र बगाएपछि करिब ९०० वटा सर्प बाहिर निस्किएका हुन्। स्थानीय गाउँ समितिका प्रमुख वु झीले सरकारी सञ्चारमाध्यम रेड स्टार न्यूजलाई दिएको जानकारीअनुसार, भागेका अधिकांश सर्प विषरहित पानीमा बस्ने जातिका हुन्।
उनीहरूलाई समात्न १० सदस्यीय टोली खटाइएको छ, जसले जाल र स्टन गन प्रयोग गरिरहेको छ। तर, द इन्डिपेन्डेन्ट र चाइना डेलीका अनुसार, भागेका सर्पहरूमध्ये केही अत्यन्त विषालु कोबरा पनि रहेको आशंका गरिएको छ।
सांघाई डेलीका अनुसार, सर्पहरू जुलाई ६ मा भागेका थिए।
सोही घटनामा एक स्थानीय बासिन्दालाई सर्पले टोकेको र उपचारका लागि अस्पताल भर्ना गरिएको पनि उल्लेख गरिएको छ। त्यसको भोलिपल्ट लिउलान र युनबियाओ जलाशयहरूबाट पानी ओभरफ्लो हुन थालेपछि ७१२ जना स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको चाइना डेली ले जनाएको छ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई सर्प देखिएमा आफैं समात्ने प्रयास नगरी सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। एसोसिएटेड प्रेससँग कुरा गर्दै एक स्थानीय बासिन्दाले भनेका छन्, “यो निकै डरलाग्दो अवस्था थियो। बाढीले सर्प फार्म बगायो, र अहिले सर्पहरू जताततै छन्, पानीभित्र समेत।”
सीएनएनले सार्वजनिक गरेको एक भिडियोमा एउटा सर्प झाडीको डन्डीमाथि बसेको देखिन्छ भने अर्को भिडियोमा बाढीको पानीमाथि टाउको निकालेर रहेको एउटा भागेको कोबरा देखिएको दाबी गरिएको छ। मायसाक आँधीले प्रभावित क्षेत्रमा भीषण वर्षा गराएपछि नदी र बाँधहरूमा अत्यधिक दबाब परेको छ।
बीबीसी र द टेलिग्राफका अनुसार, यस विपद्का कारण हालसम्म कम्तीमा १७ जनाको मृत्यु भएको छ भने सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार, आँधीसँग सम्बन्धित बाढीको चेतावनी जुलाई ६ (सोमबार) मध्यरातदेखि चार तहको चेतावनी प्रणालीमध्ये सर्वोच्च ‘रातो’ तह मा स्तरोन्नति गरिएको थियो।
अधिकारीहरूका अनुसार, ५५ वटा नदीको जलस्तर चेतावनी सीमा भन्दा माथि पुगेको छ। चीनमा हरेक वर्षको मनसुनजन्य बाढीको मौसम जुलाईको सुरुआतबाट सुरु हुने गर्दछ। यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले सरकारी टेलिभिजन सीसीटीभी मार्फत स्थानीय सरकारहरूलाई विपद् व्यवस्थापनमा थप जिम्मेवार बन्न निर्देशन दिएका छन्।
उनले भनेका छ्, “सबै स्थानीय सरकारले विपद् रोकथाम र उद्धार कार्यप्रतिको जिम्मेवारी अझ कडा बनाउनुपर्छ। नदी, ताल, जलाशय तथा भू–विपद्को उच्च जोखिम भएका क्षेत्रहरूको विस्तृत निरीक्षण गर्नुपर्छ। साथै, समयमै पूर्वचेतावनी, रोकथाम र उद्धार कार्यलाई सुदृढ बनाउँदै नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ।”
मायसाकआँधी का कारण आएको भारी वर्षा र तीव्र हावाहुरीले चीनको दक्षिणी तथा मध्य क्षेत्र प्रभावित भएको छ। यस विपद्मा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने आगामी केही दिन अझै चरम मौसमको जोखिम रहने चेतावनी दिइएको छ। दक्षिणी चीनको गुआङ्सी प्रान्तको राजधानी नानिङमा आएको भीषण बाढीमा कम्तीमा ६ जनाको ज्यान गएको छ।
बाढीका कारण झण्डै १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ११ जना अझै बेपत्ता रहेका छन्। शनिबार बिहानदेखि सोमबार साँझसम्म लगातार परेको भारी वर्षाले नदी र जलाशयहरू भरिएपछि बाढीको अवस्था भयावह बनेको थियो। यता, हुबेई प्रान्तमा सोमबार आएको शक्तिशाली आँधी र टोर्नाडोका कारण ११ जनाको मृत्यु भएको छ।
हालका वर्षहरूमा चीनमा यस्ता चरम मौसमजन्य घटना बढ्दै गएका छन्। चिनियाँ अधिकारीहरूले यसलाई विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) को प्रभावसँग जोड्दै आएका छन्। यसैबीच, चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले गत महिना जारी गरेको विवरणमा यस वर्षको एल निनो मौसमीय प्रभावका कारण गर्मीयाममा देशभर अझ बढी चरम मौसम देखिन सक्ने चेतावनी दिएको थियो।
यसअघि पनि यस्ता प्राकृतिक विपद्ले ठूलो क्षति पु¥याएका थिए। गत वर्ष बेइजिङमा आएको बाढीमा एक वृद्धाश्रमका ३१ जना बासिन्दाको मृत्यु भएपछि चीनको विपद् तयारी र आपतकालीन व्यवस्थापन क्षमतामाथि प्रश्न उठेका थिए।




