२५ असार, काठमाण्डौ ।
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने केही भूभागमा भने धेरै भारी वर्षाको पनि पूर्वानुमान छ । यस्तै पछिल्लो २४ घण्टामा कास्की लगायतको क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।
देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
वाग्मती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ । विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित रहेको विभागले बताएको छ । पछिल्लो २४ घण्टाको विवरणअनुसार कास्कीमा भारी वर्षा (१०२ मिलिमिटर) भएको छ । यस्तै, अन्य स्थानमा समेत भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले ठाउँठाउँमा भारी वर्षा भइरहेको जानकारी दिए । वर्षामापन केन्द्रको विवरणअनुसार सङ्खुवासभामा ६३ दशमलव चार, दोलखामा ५१, सिन्धुपाल्चोकमा ६८, म्याग्दीमा ६२, अर्घाखाँचीमा ५३ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, कास्कीको एक मापन केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने अन्य तीन मापन केन्द्रमा अधिक वर्षा भएको छ । यस्तै, जाजरकोटमा ५७ दशमलव छ, अछाममा ६६, डोटीमा ७८ मिलिमिटर वर्षा भएको छ । ५० देखि १०० मिलिमिटरको वर्षालाई भारी वर्षामा गणना गरिन्छ भने १०० भन्दा माथि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षामा मापन गरिन्छ ।
चितवन, उदयपुर, पाल्पा, सङ्खुवासभा, सल्यानलगायत जिल्लामा भारी नजिक वर्षा भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू–भागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ ।
गएराति राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा भारी वर्षा र कोशी तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा भएको छ ।




