३ साउन , काठमाण्डौ ।
गोलको बर्षा भएको खेलमा इंग्ल्याण्ड फ्रान्समाथि हावी रहदा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान केलियन एम्बाप्पेको नाममा कोरिएको छ । अमेरिकाको मियामीमा सम्पन्न खेलमा फ्रान्सविरुद्धको १० गोलको रोमाञ्चक खेल जित्दै इङ्ल्यान्ड विश्वकपको २३ औं संस्करण तेस्रो स्थानमा हात पार्न सफल भएको छ ।
बुकायो साकाको ह्याट्रिक तथा डेक्लान राइस, एज्री कोन्सा र जुड बेलिङघमका गोलहरूले इङ्ल्यान्डलाई सन् १९६६ यताकै उत्कृष्ट विश्वकप नतिजा दिलायो । फ्रान्सेली कप्तान केलियन एम्बाप्पे विश्वकपको इतिहासमै सर्वाधिक गोलकर्ता बन्न पुगे ।
मियामीमा फ्रान्सविरुद्धको खेलमा चार गोलको अग्रता गुमाउनै लागेको अवस्थाबाट ’थ्री लायन्स’ (इंग्ल्यान्ड) ले बुकायो साकाको ह्याट्रिकको मद्दतले ६–४ को शानदार जितसहित कांस्य पदक हात पार्न सफल भएको छ । यससँगै टोलीले सन् १९६६ यताकै उत्कृष्ट विश्वकप नतिजा हासिल गर्न सफल भएको छ ।
थोमस टुचेलको टोलीले खेलप्रति खासै उत्साह नदेखाएको फ्रान्सको कमजोरीको फाइदा उठाउँदै पहिलो हाफसम्म ४–० को विशाल अग्रता लिएको थियो । जसमा डेक्लान राइसको सुरुवाती गोल, एज्री कोन्साको हेडर र साकाका दुई गोल समावेश थिए।
तर, दुई पटकको विश्वकप विजेता टोलीले खेलको दोस्रो हाफमा लय समात्दै उत्कृष्ट पुनरागमनको प्रयास ग¥यो । जसमा केलियन एम्बाप्पेले दुई गोल गरे भने वैकल्पिक खेलाडी ब्राडली बार्कोलाले पनि गोल गरे । यही २ गोलको सहयोगमा फ्रान्सेली कप्तान एम्बाप्पे विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्दै नयाँ कीर्तिमान कायम गरे ।
जारी विश्वकपमा पनि सर्वाधिक १० गोल गर्ने खेलाडी बन्दै गोल्डेन बुटका लागि बलियो दाबेदारी पेश गरेका छन् । मालो गुस्टोको ’ट्याकल’ (चुनौतीपूर्ण प्रयास) का कारण जेड स्पेन्सले खेलको अन्त्यतिर पेनाल्टी अवसर सिर्जना गरेपछि साकाले गोल गरे । तर त्यसअघि माइकल ओलिसेले खेल बराबरी गर्ने दुई उत्कृष्ट अवसर गुमाएका थिए।
यद्यपि, खेलमा अझै नाटकीय मोड बाँकी नै थियो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ओसमान डेम्बेलेले ९६औँ मिनेटमा गोल गरेर डिडियर डेसच्याम्प्सको नेतृत्वमा रहेको अन्तिम खेलमा फ्रान्सलाई हारबाट बचाउने आशा दिलाएका थिए । तर दुई मिनेटपछि, वैकल्पिक खेलाडी जुड बेलिङ्घमले खेलको दशौं गोल गर्दै विश्वकपमा सात गोलसहित सर्वाधिक गोल गर्ने इङ्गल्याण्डका खेलाडीको कीर्तिमान कायम गरे ।
इङ्गल्याण्डको गोल–वर्षापूर्ण प्रदर्शन र साकाको खेलले अर्जेन्टिनासँगको बुधबारको सेमिफाइनल हारप्रति थप निराशा र पछुतो बढाएको छ । उक्त खेलमा आर्सनलका विङ्गर साका वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश नै गरेका थिएनन् । सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्याण्डले हासिल गरेको यो उत्कृष्ट स्थान हो ।
यसअघि सन् २०१८ मा इंग्ल्याण्ड चौथो भएको थियो । खेल सुरु हुनुअघि इङ्ल्यान्डका समर्थकहरूले टुचेलको नाममा असहमतिको हुटिङ्ग गरेका थिए । तर खेलको अन्त्यमा इङ्ल्यान्डका खेलाडी तथा समर्थकहरूको अनुहारमा देखिएको खुसीले ती जर्मन प्रशिक्षकमा सन् २०२८ को घरेलु युरो प्रतियोगितामा टोलीलाई सफलताको शिखरमा पु¥याउन सकिन्छ भन्ने आशा जगाएको छ ।
जुन प्रतियोगितामा फ्रान्सेली टोलीको नेतृत्व जिनेदिने जिदानले गर्ने तय भएको छ । जारी फिफा विश्वकप २०२६ मा इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एम्बाप्पे सर्वाधिक गोल गर्ने सूचीमा आफ्नो नाम अटाएका छन् । विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका एम्बाप्पेको जारी विश्वकपमा पनि गोल संख्या १० पुगेको छ ।
अलटाइम विश्वकप गोल र जारी विश्वकप दुबैमा एम्बाप्पे अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भन्दा अघि निस्किएका छन् । मेस्सीको नाममा रहेको २१ गोलको कीर्तिमानलाई पछि पार्दै एम्बाप्पे अलटाइम गोलमा अघि निस्कदा जारी विश्वकपमा पनि सर्वाधिक १० गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीको नाममा ८ गोल रहेको छ ।
अब मेस्सीले एम्बाप्पेलाई उछिन्न सोमबार विहानको फाइनल खेलमा स्पेनविरुद्ध ह्याट्रिक पूरा गर्न सक्नु पर्छ । यदि नसके गोल्डेन बुट एम्बाप्पेको खुट्टामा पुग्ने सम्भावना बलियो छ । मेस्सीले विश्वकपमा अहिलेसम्म जित्न नसकेको व्यक्तिगत उपाधि पनि गोल्डेन बुट नै हो । जुन उनले यसपटक जित्ने अपेक्षा राखिएको छ ।
यता कांस्य पदकका लागि हुने खेलहरू समयको बर्बादी हुन् भनेर भन्नेहरुलाई भने यसपटकको खेल गतिलो जवाफ बनेको छ । इङ्गल्याण्डको टोलीले पस्केको खेलहरूमध्ये यो सबैभन्दा अनौठो, रोमाञ्चक, खुला र सनसनीपूर्ण खेलहरूमध्ये एक हुन पुग्यो ।
खेल बास्तवमा नै अधिकांश फुटबलप्रेमीका लागि एउटा अवास्तविक खेल बन्न पुगेको थियो । हाफ–टाइममा इङ्गल्याण्ड ४–० ले अघि रहँदा खेल लगभग एकतर्फी जस्तो देखिएको पनि तर खेलमा अनौठो हिसाबले कुल १० गोल हुन पुगे ।
दोस्रो हाफमा जब फ्रान्सले खेलमा फर्कने प्रयास सुरु ग¥यो, इङ्गल्याण्डको टोलीमा हडबडी र निराशाको भाव प्रष्ट देखिएको थियो ।
किनभने अग्रता बचाउन नसक्दा इंग्ल्याण्डले यही विश्वकपमा नराम्रो हार चीर प्रतिद्धन्द्धी अर्जेन्टिनासँग भोगेको थियो । त्यो पनि टोलीका लागि सबैभन्दा खराब क्षणको सामना गरेको तीन दिनपछि नै। तर इङ्गल्याण्डको दृढता र अदम्य साहसको प्रशंसा गर्न लायक देखियो ।
एम्बाप्पे र ओलिसेले मैदानमा तहल्का मच्चाएर खेलमा फर्कने प्रयास गर्दै गर्दा साकाको प्रदर्शनले उनीहरू दुवैलाई ओझेलमा पारिदियो। सेमिफाइनलमा बेवास्ता गरिएका साका र मार्कस रासफोर्डले फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको देख्दा धेरै अग्रेज फ्यानलाई भने आक्रोशित बनाएको छ । त्यो जायज पनि देखिएको छ ।
यसको हिसाब किताब इंग्ल्याण्ड फुटबल संघले खोज्ला पनि । तर फ्रान्समाथिको यो जितले धेरै कमजोरीलाई छोप्ने सम्भावना पनि बलियो छ । आर्सनलका यी खेलाडी साका विश्वकपमा ह्याट्रिक गर्ने चौथो अङ्ग्रेज खेलाडी बनेका छन् । र इङ्ल्यान्डले कुल छ गोल गरेर चार गोल खाएको खेलमा मुख्य प्रशिक्षक थोमस टुचेलले अपनाएको रणनीतिका तारिफ पनि हुन थालेको छ ।
उनले रक्षात्मक रणनीति (पार्क द बस) अपनाएनन्, जसले गर्दा खेल निकै रोमाञ्चक र बास्केटबल खेलजस्तै तीव्र गतिमा अघि बढ्न पुगेको थियो ।




