२१ जिल्लामा बाढी, कोशी ब्यारेजका ढोका खोलिने, ठाउँ–ठाउँमा सडक अवरुद्ध

२ साउन ८३, आइतबार

३ साउन , काठमाण्डौ ।

आज पनि देशभर मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोदेखि शुरु भएको वर्षा रातभर निरन्तर रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य वर्षा मापन गरिएको छ ।

मौसम प्रणाली पश्चिमतर्फ थप सक्रिय बन्दै गएकाले आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना पनि छ । महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे क्षेत्रमा मापन गरिएको छ । त्यहाँ १०२ मिलिमिटर वर्षा भएको छ, ।

Advertisement

बागमती प्रदेशका अन्य जिल्लासहित कोशी प्रदेशका विभिन्न ठाउँमा पनि निरन्तर वर्षा भइरहेको छ । यस्तै गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा समेत मध्यमदेखि अति ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् । निरन्तर वर्षाका कारण नदी, खोला तथा साना खोल्सीहरूमा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस्तै, पहाडी जिल्लाका भिरालो तथा कमजोर भू–भागमा पहिरो जाने जोखिम उच्च रहेकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । मुसलधारे र आरिघोप्टे वर्षाका कारण होचा तथा डुबान हुने क्षेत्रमा आकस्मिक बाढी, सडक जलमग्न हुने, सडक अवरुद्ध हुने तथा यातायात सेवा प्रभावित हुन सक्ने सम्भावना कायमै छ ।

Advertisement

ग्रामीण सडक तथा राजमार्ग आसपासका पहिरो जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । यसैबीच बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक र ललितपुर जिल्ला आसपासका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने चेतावनी दिएको छ ।

महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले वर्षा थप भएमा साना खोलामा आकस्मिक बाढी आउने जोखिम बढ्न सक्छ । विशेष गरी नदी तथा खोलाको किनार, तटीय बस्ती, डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ । सम्भावित उद्धार तथा राहतका सामग्री तयारी अवस्थामा राख्न, जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन गर्न तथा आवश्यक परेमा तत्काल सूचना प्रवाह गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन, अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा पौडी खेल्ने वा तर्ने प्रयास नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न सबै नागरिकसँग अनुरोध गरेको छ ।

बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ । जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको हो ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । देशका हिमाली भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति पनि देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । यसबीच जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने आकलन गरेपछि स्थानीय प्रशासनले धमाधम ‘ट्राभल अलर्ट’ जारी गरेका छन् । शनिबार देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले ‘ट्राभल अलर्ट’ जारी गरी अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्।

मनसुनको समयमा सकभर यात्रा नगर्न र गर्नै परेमा पनि मौसम सम्बन्धी जानकारी लिन सचेत गराएका छन् । जिल्ला प्रशासन कार्यालय, चितवनले जारी गरेको सूचनामा नारायणगढ–मुग्लिन सडकमा पटकपटक पहिरो खस्ने गरेको स्मरण गराएको छ। सूचनामा भनिएको छ, ‘कृपया अत्यावश्यक नपरी यात्रामा ननिस्किनु होला।’

नारायणगढ–मुग्लिन सडकमा जतिबेला पनि आवागमनमा रोक लाग्न सक्ने प्रशासनले जनाएको छ। प्रशासनले भनेको छ, ‘जसरी पनि गन्तव्यमा पुगेरै छोड्ने वा अगाडिसम्म पुगेर मात्र रोकिन्छु भन्ने निर्णय घातक हुनसक्छ। जहाँ हुनुहुन्छ, त्यही आसपास रोकिएर सुरक्षित स्थानमा बास बस्नुहोला।’

त्यस्तै, जिल्ला प्रशासन कार्यालय, काठमाडौले ‘ट्राभल अलर्ट’ जारी गरी सडकमार्गबाट आवतजावत गर्दा सतकर्ता अपनाउन अनुरोध गरेको छ। केही दिन अत्यधिक वर्षा हुने आकलन गरिएकाले रात्रिको समयमा यात्रा गर्दा अझ बडी उच्च सावधानी र सतर्कता अपनाउन सचेत गराएको छ ।

काठमाडौँ प्रशासनले भनेको छ, ‘बाढी, पहिरोबाट पूर्ण रुपमा सुरक्षित सथनमा मात्र रोक्ने व्यवस्था गर्नहुन र सडकको अवरोध खुलिसकेको भनी प्रहरी प्रशासनबाट यकीन सूचना लिएपछि मात्र यात्रा अघि बढाउनुहुन सूचित गरिएको छ।’
यस्तै, जिल्ला प्रशासन कार्यालय, खोटाङले रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाएको छ।

साँझ ७ देखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ । यता अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ । यद्यपि बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सवारी सञ्चालनको व्यवस्था गरिएको छ ।

त्यसैगरी, कान्ति लोकपथमा अपराह्न ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ । त्यस्तै काठमाडौंबाट चितवन, गोरखा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरूमा चल्ने सवारी साधन पनि शनिबार राति १० बजेदेखि आइतबार बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द गरिएका थिए ।

रातको समयमा बन्द गरिएका सडकमा बिहानीपख सवारी साधन चल्न थालेका छन् । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ । यसैगरी, अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं २ कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुङ्गा–माटो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं ८ गिम्दी तथा वडा नं ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बिपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबीच चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ ।

दुर्घटनामा केही यात्रु घाइते भएका छन् । वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो । सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन अनुसार मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ ।

सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ । यता मौसम विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ ।

यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिए । प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालेको छ ।

प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । साथै, सर्वसाधारणलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणको अनुरोध छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top