देशभर रेड अलर्ट! आज अति भारी वर्षा, बाढी–पहिरोको उच्च जोखिम

३ साउन ८३, सोमबार

४ साउन , काठमाण्डौ ।

देशभर मनसुनी वायुको प्रभाव अत्यन्त सक्रिय अवस्थामा पुगेसँगै नेपालको समग्र मौसमी प्रणालीमा ठूलो र बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिनभरि नै देशका अधिकांश भूभागमा पूर्ण बदली रहनेछ। यतिबेला नेपालभर मनसुन निकै सक्रिय अवस्थामा रहेको छ।

विशेषगरी काठमाडौँ उपत्यकालगायतका पहाडी भूभागमा आज अधिकतम तापक्रम २७ देखि २९ डिग्री र न्यूनतम तापक्रम २० डिग्री सेल्सियसको आसपास रहनेछ भने दिउँसो र बेलुकापख मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना (७० प्रतिशतसम्म) रहेको छ ।

Advertisement

उता, तराईका क्षेत्रहरु जस्तै विराटनगर, भैरहवा र धनगढीमा तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियससम्म पुगेर निकै गर्मी महसुस हुनेछ, तर दिउँसोपछि एक्कासी मौसम बद्लिएर कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

यही लगातारको भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च भएपछि, यसको प्रत्यक्ष असर देशभरको यातायात सञ्जालमा पर्न थालेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।

Advertisement

सोमबार देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै देशका पहाडी भूभागका धेरै स्थानमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उता बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै धादिङ जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र सवारी आवागमनमा कडा रोक लगाएको छ। आइतबार राति १० बजेदेखि आज साउन ४ गते बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधन चलाउन पूर्ण रूपमा बन्देज लगाइएको थियो ।

यद्यपि, एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई भने यो नियम लागू हुनेछैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंबाट चितवन, गोरखा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरूमा रातिको समयमा सवारी आवागमनमा उच्च जोखिम रहेको ’रेड अलर्ट’ जारी गरेपछि प्रशासनले यो कदम चालेको हो।

दर्शकवृन्द, धादिङ मात्र होइन, बर्खा सुरु भएसँगै देशभरका ८० वटा राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम बढेको छ। सडक विभागअन्तर्गतको यान्त्रिक महाशाखाका अनुसार, सडक खुलाउन र आपत्कालीन अवस्थाको सामना गर्न देशभर १ सय ५५ वटा हेभी उपकरणहरू परिचालन गरिएका छन् भने थप १ सय २२ उपकरण तैनाथ अवस्थामा राखिएका छन्।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा दैनिकजसो पहिरो खसिरहेको छ भने, चितवन प्रशासनले रातिको समयमा नारायणगढ–मुग्लिन र नागढुंगा–मुग्लिन सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ। नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा गत वर्ष पहिरोले ३५ जना यात्रुको ज्यान लिएको दुःखद घटनालाई स्मरण गर्दै, हाल यो निर्माणाधीन सडकमा नयाँ–नयाँ ठाउँबाट पहिरो खस्ने जोखिम रहेकाले विशेष निगरानी बढाइएको छ।

यसैगरी कान्ति राजमार्गको ललितपुर र मकवानपुर खण्डमा पानी पर्नासाथ दैनिकजसो पहिरो खस्ने गरेको छ। यद्यपि, त्यहाँ तैनाथ मेसिनले १५ देखि २० मिनेटमै सडक खुलाउने गरेका छन्। तर केही सडकको अवस्था भने गम्भीर छ। अरनिको राजमार्गअन्तर्गत तातोपानी नाका जोड्ने कोदारी खण्ड सडक नै भासिएर अवरुद्ध छ भने, मेची राजमार्गअन्तर्गत राजदुवाली खण्डमा पहिरो खसेर एक सातादेखि सवारी ठप्प छ।

त्यहाँ वैकल्पिक मार्गको रूपमा तिल्केनी–सिमलगोलाई सडक प्रयोग गरिएको छ र मुख्य सडक खुल्न अझै एक साता लाग्ने अनुमान छ।मौसम विज्ञान विभाग र सडक विभाग दुवैले लगातार पानी परिरहे पहिरो र डुबानको जोखिम अझै बढ्ने चेतावनी दिएका छन्।

त्यसैले अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोला, विशेषगरी रातको समयमा राजमार्गको यात्रा गर्दै नगर्न अनुरोध गरिएको छ । आफू सतर्क रहौं, अरुलाई पनि सुरक्षित राखौं। अहिलेलाई विशेष मौसम बुलेटिन यति नै, अन्य महत्त्वपूर्ण समाचारका लागि नेपाल टाइम्स अनलाइन टेलिभिजन, हेर्दै गर्नुहोला। नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top