४ साउन , काठमाण्डौ ।
बेलायतको ऐतिहासिक १० डाउनिङ स्ट्रिटको त्यो प्रसिद्ध कालो ढोका, जसको बाहिरपट्टिबाट चाबी खोल्न मिल्दैन , त्यही ढोका आज एक नयाँ अनुहारलाई स्वागत गर्न व्यग्र पर्खाइमा छ । एक दशकअघि लन्डनको परम्परागत राजनीतिबाट बिरक्तिएर उत्तरतिर लागेका एक नेता, जसलाई जनताले मायाले ’किङ अफ द नर्थ’ को उपाधि दिए, उनी विना कुनै आमनिर्वाचन बेलायतको ५९औँ प्रधानमन्त्रीको कुर्सीमा पुग्दैछन ।
के एन्डी बर्नहमले पूर्वप्रधानमन्त्री कियर स्टार्मरले छोडेर गएको अस्थिरता र उच्च महँगीको भुमरीबाट बेलायतलाई बाहिर निकाल्न सक्लान ? यो सबैभन्दा महत्पूर्ण प्रश्न जसले आज बेलायतको राजनीतिको ध्यान तानेको छ। आज हामी त्यही बेलायती राजनीतिको यो नाटकीय परिवर्तन र सत्ता हस्तान्तरणको घटनालाई नजिकबाट नियाल्ने प्रयास गर्नेछौ ।
सत्ता परिवर्तनको घटना सुरु हुन्छ, पूर्वप्रधानमन्त्री कियर स्टार्मरको राजीनामाबाट । बेलायती राजनीतिमा पछिल्ला केही महिनाहरू निकै उथलपुथलपूर्ण रह्यो । सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई सानदार जित दिलाएका स्टार्मरको प्रधानमन्त्रीको यात्रा दुई वर्ष पनि टिक्न सकेन ।
सत्ताको शिखरमा पुगेपछि उनले गरेका केही निर्णयहरूले उनकै पार्टीभित्र र बाहिर ठूलो असन्तोष जन्मायो। विशेषगरी, यौनदूराचारका अपराधी जेफ्री एप्स्टिनसँग निकट सम्बन्ध रहेका भनिएका पिटर म्यान्डेल्सनलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गर्ने उनको निर्णयले ठूलो राजनीतिक आँधी ल्यायो।
जनताको असन्तुष्टि त्यतिबेला छताछुल्ल भयो, जब मे महिनामा भएको स्थानीय निर्वाचनमा सत्तारूढ लेबर पार्टीले नराम्रो पराजय भोग्नुप¥यो। चौतर्फी दबाब, पार्टीभित्रको आन्तरिक कलह र जनविश्वास गुम्दै गएपछि अन्ततः जुन २२ मा स्टार्मरले हार मान्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरे। उनको यो कदमले बेलायतलाई एक नयाँ नेताको खोजीमा धकेलिदियो।
स्टार्मरको राजीनामापछि बेलायती राजनीतिमा एउटा पुरानो तर निकै लोकप्रिय अनुहारको पुनरागमन भयो, एन्डी बर्नहम । ५६ वर्षीय बर्नहम कुनै समय परम्परागत वेस्टमिन्स्टर राजनीतिका एक हिस्सा थिए र सन् २०१७ अघि लेबर सरकारमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
तर, केन्द्रको राजनीतिबाट वाक्क भएर उनी ग्रेटर म्यानचेस्टरको मेयर बनेर उत्तरतिर लागे । कोभिड–१९ को विश्वव्यापी महामारीका बेला जब उत्तरी इङ्ल्यान्ड सङ्कटमा थियो, बर्नहमले केन्द्र सरकारको नीतिको खुलेर विरोध गर्दै आफ्नो क्षेत्रका जनताको पक्षमा बुलन्द आवाज उठाए।
क्षेत्रीय लगानी बढाउन र जनताको स्वास्थ्य सुरक्षाका लागि उनले चलाएको अभियानले उनलाई रातारात बेलायतको सबैभन्दा चर्चित क्षेत्रीय नेता बनाइदियो । जनताले उनलाई सम्मानस्वरूप ’किङ अफ द नर्थ’ (उत्तरका राजा) को उपनाम दिए। सहज, सरल र जनमैत्री शैलीका बर्नहमले आफूलाई सधैँ लन्डनका सुट–बुट लगाउने परम्परागत राजनीतिज्ञभन्दा फरक रूपमा उभ्याए।
केही साताअघि मात्र उपनिर्वाचन जितेर पुनः संसद् (हाउस अफ कमन्स) मा फर्किएका उनलाई लेबर सांसदहरूले स्टार्मरको उत्तराधिकारीका रूपमा खुलेर समर्थन गरे। नेतृत्वको प्रतिस्पर्धामा उम्मेदवार बन्न आवश्यक पर्ने २० प्रतिशत सांसदको समर्थन उनले यति सहजै जुटाए कि, उनको विरुद्धमा कोही उम्मेदवार नै उठेनन्।
उनी निर्विरोध लेबर पार्टीको नेता चुनिए। आजको दिन बेलायतको इतिहासमा अर्को एउटा सुनौलो पाना थपिएको छ । सत्ता हस्तान्तरणको प्रक्रिया अमेरिकामा जस्तो महिनौँ लामो र झन्झटिलो हुँदैन; बेलायतमा यो केही घण्टामै सम्पन्न हुन्छ।प्रक्रियाको सुरुवात स्टार्मरको बकिङ्घम दरबार यात्राबाट हुनेछ, जहाँ उनले राजा चाल्र्स तृतीयसमक्ष औपचारिक रूपमा आफ्नो राजीनामा बुझाउनेछन्।
राजाले राजीनामा स्वीकृत गरेलगत्तै, एन्डी बर्नहमलाई दरबारमा बोलाइनेछ। बकिङ्घम दरबारको शान्त र भव्य कक्षमा राजा चाल्र्सले बर्नहमलाई नयाँ सरकार गठन गर्न औपचारिक निमन्त्रणा दिनेछन्। बेलायती परम्परामा यस समारोहलाई ऐतिहासिक रूपमा ‘किसिङ ह्यान्ड्स’ (हात चुम्ने) भनिन्छ।
तर, आधुनिक समयमा प्रधानमन्त्रीले राजाको हात नै चुम्नुपर्दैन; यो केवल राजासँगको निजी भेट र सामान्य अभिवादनमा सीमित हुन्छ। राजाको निमन्त्रणा स्वीकार गर्नेबित्तिकै बर्नहम औपचारिक रूपमा बेलायतका ५९औँ प्रधानमन्त्री बन्नेछन् र पछिल्लो १० वर्षमा डाउनिङ स्ट्रिटमा बस्ने सातौँ प्रधानमन्त्रीको रेकर्ड पनि बनाउनेछन्।
बकिङ्घम दरबारबाट निस्किएपछि बर्नहमको गाडी सोझै लन्डनको मुटुमा रहेको १० डाउनिङ स्ट्रिटतर्फ लाग्नेछ। यो त्यही सरकारी निवास हो, जसको कालो ढोका बाहिरबाट खोल्न मिल्दैन। २४सै घण्टा तैनाथ सुरक्षाकर्मीले भित्रबाट ढोका खोलेर नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्नेछन्।
ढोकाभित्र प्रवेश गर्नुअघि बर्नहमले सञ्चारमाध्यम र जनतालाई सम्बोधन गर्दै आफ्नो पहिलो सरकारी वक्तव्य दिनेछन्। आफ्नो नेतृत्व अभियानका क्रममा उनले भनेका थिए,“मैले राजनीति फरक ढङ्गले गर्ने भनेको थिएँ, र त्यसलाई व्यवहारमा पनि उतारेँ। आजको परिवर्तन हाम्रो राजनीतिमा पछिल्लो ४० वर्षयताकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो। हामी यस्तो देश निर्माण गर्नेछौँ जहाँ जीवनयापन सुलभ हुनेछ र देशका सबै क्षेत्र र समुदायलाई माथि उठाइनेछ।“
प्रधानमन्त्री बनेलगत्तै उनले कुनै शपथ ग्रहण वा संसद्को अनुमोदन पर्खिनुपर्दैन। उनले सीधै आफ्नो कार्यभार सम्हाल्नेछन् र विभिन्न मन्त्रीहरू नियुक्त गर्दै नयाँ मन्त्रिपरिषद् गठनको काम सुरु गर्नेछन्।’किङ अफ द नर्थ’ का रूपमा उनले उत्तरको मन जिते पनि अब उनले सम्पूर्ण बेलायतको नेतृत्व गर्दै मन जित्नुपर्नेछ ।
उनले वाचा गरेका छन् कि उनी उत्तर, दक्षिण, पूर्व, पश्चिमका साथै स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड सबैका साझा नेता हुनेछन् । तर, उनका अगाडि चुनौतीका पहाडहरू छन्। सुस्त अर्थतन्त्र र उच्च जीवनयापन खर्चले जनता आक्रान्त छन्। सञ्चारमाध्यमहरूका अनुसार, उनको पहिलो महत्त्वपूर्ण कदम समस्याग्रस्त ’थेम्स वाटर कम्पनी’ लाई ’स्पेसल एडमिनिस्ट्रेसन रिजिम’ अन्तर्गत राख्नु हुनेछ ।
यसको अर्थ, कम्पनीको पुनःसंरचना नहुन्जेल यसलाई अस्थायी रूपमा सार्वजनिक (सरकारी) नियन्त्रणमा ल्याइनेछ। यो निर्णयले बर्नहम जनसरोकारका विषयमा कति गम्भीर छन् भन्ने सन्देश दिनेछ। धेरैलाई लाग्न सक्छ, नयाँ प्रधानमन्त्री आउँदा आमनिर्वाचन किन भएन ? विना निर्वाचन सत्ता परिवर्तन कसरी सम्भव भयो?
यो बेलायतको संसदीय प्रणालीको विशेषता हो। जनताले संसदीय निर्वाचनमा व्यक्तिलाई नभई पार्टीलाई मतदान गरेका हुन्छन्। लेबर पार्टीसँग संसद्मा स्पष्ट बहुमत रहेकाले पार्टीले आफ्नो नेता परिवर्तन गर्दा नयाँ नेता स्वतः प्रधानमन्त्री बन्छन् । सन् २०२४ को चुनाव जितेको लेबर पार्टीले अब अर्को चुनाव सन् २०२९ भित्र गराए पुग्छ।
यसरी, क्षेत्रीय राजनीतिबाट खारिएर आएका एन्डी बर्नहमले अब बेलायतको राष्ट्रिय राजनीतिको बागडोर सम्हाल्दै छन्। एउटा सामान्य मेयरबाट सुरु भएको उनको यो असाधारण यात्रा अब विश्वकै सबैभन्दा शक्तिशाली पदहरूमध्ये एकमा पुगेर नयाँ कथा लेख्न तयार छ। तपाईले भने बेलायतको प्रधानमन्त्री एन्डी बर्नहमको उदयलाई कसरी नियालीरहनु भएको छ ? आफना विचारहरु अवश्इ व्यक्त गर्नुहोला।




