५ साउन , काठमाण्डौ ।
एप्पलका आगामी फ्ल्यागसिप फोनहरू सार्वजनिक हुन अझै केही समय बाँकी भएपनि अहिलेदेखि नै चर्चाको विषय बनेका छन् । कम्पनीले आईफोन १८ प्रो वा आईफोन १८ प्रो म्याक्सको बारेमा आधिकारिक रूपमा केही पुष्टि नगरे पनि उद्योगका विभिन्न स्रोतहरूले यी प्रिमियम मोडलहरू सेप्टेम्बर २०२६ मा सार्वजनिक हुन सक्ने संकेत गरेका छन् ।
यसपटकको नयाँ संस्करणमा क्यामरामा महत्त्वपूर्ण सुधार, शक्तिशाली नयाँ चिपसेट र सम्भावित रूपमा पहिलेको भन्दा बढी मूल्य हुन सक्ने अनुमान गरिएको छ । पछिल्ला रिपोर्टहरूलाई सही मान्ने हो भने अमेरिकामा एप्पलका यी उत्कृष्ट स्मार्टफोनहरूका लागि ग्राहकले अहिलेसम्मकै महँगो मूल्य तिर्नुपर्ने हुन सक्छ ।
आगामी आईफोनहरूको बारेमा सबैभन्दा बढी छलफल मूल्यको विषयमा भइरहेको छ । विभिन्न रिपोर्टहरूका अनुसार एप्पलले कि त अघिल्लो वर्षकै मूल्य कायम राख्नेछ वा विशेष गरी मेमोरी र एआई हार्डवेयर जस्ता पाटपूर्जाको लागत बढेका कारण मूल्यमा उल्लेख्य वृद्धि गर्नेछ ।
विश्लेषकहरूबीच यस विषयमा फरक–फरक धारणा रहेकाले एप्पलको आधिकारिक घोषणा नभएसम्म अन्तिम मूल्य निश्चित हुने छैन । अनुमानित विवरण अनुसार, अमेरिकामा आईफोन १८ प्रो को सुरुवाती मूल्य करिब १,२९९ डलर (२ लाख रुपैयाँ) सम्म र आईफोन १८ प्रो म्याक्सको मूल्य १,४९९ डलर (२ लाख ३१ हजार) सम्म हुन सक्ने देखिन्छ ।
केही रिपोर्टहरूले एप्पलले मूल्यमा २०० डलरसम्म वृद्धि गर्न सक्ने दाबी गरेका छन् भने कसैले कम्पनीले उत्पादन लागतको भार आफैंले बोकेर हालको पुस्ताकै हाराहारीमा मूल्य राख्ने विश्वास गरेका छन् । विश्लेषकहरूका अनुसार, केही विशेष प्रिमियम सुविधाहरूले उत्पादन लागत बढाउन सक्छन् जसमा नयाँ पुस्ताको ए २० प्रो चिपसेट, अत्याधुनिक एआई सुविधाहरू, नयाँ क्यामरा हार्डवेयर, सुधारिएको ब्याट्री प्रविधि र तीव्र गतिको कनेक्टिभिटी मुख्य हुन् ।
साथै, विश्वव्यापी रूपमा बढेको मेमोरी लागतले पनि मूल्यवृद्धिमा भूमिका खेल्ने देखिन्छ । यी सबै कारकले गर्दा यो एप्पलको इतिहासमै वर्षौंपछिको ठूलो मूल्य संशोधन हुन सक्छ यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी छ । फोटोग्राफीका सौखिनहरूका लागि आईफोन १८ प्रो सिरिज निकै उत्साहजनक हुन सक्छ ।
सूचनाहरूका अनुसार आईफोन १८ प्रो म्याक्समा सोनीको आईएमएक्स ९०५ मुख्य क्यामरा सेन्सर र भेरिएबल एपर्चरको सुविधा हुन सक्छ । यसले प्रयोगकर्तालाई लेन्समा कति प्रकाश पस्न दिने भन्ने कुरा भौतिक रूपमै मिलाउन अनुमति दिनेछ । सफ्टवेयरबाट बनाइने पृष्ठभूमि ब्लर भन्दा फरक यो प्रविधिले कम प्रकाशमा उत्कृष्ट तस्विर खिच्ने, प्राकृतिक गहिराइ, राम्रो डाइनामिक रेन्ज र स्तरीय पोट्र्रेट फोटोग्राफी सुनिश्चित गर्नेछ ।
यो जानकारी सही प्रमाणित भएमा हालका वर्षहरूमा एप्पलको क्यामेरा हार्डवेयरमा भएको सबैभन्दा ठूलो सुधार हुनेछ । कार्यक्षमताको कुरा गर्दा एप्पलले यो प्रो लाइनअपका लागि ए २० प्रो प्रोसेसर ल्याउने अपेक्षा गरिएको छ । यो चिपसेट अत्याधुनिक २ एनएम उत्पादन प्रक्रिया प्रयोग गरेर बनाइने चर्चा छ जसले ब्याट्रीको कम खपत, तीव्र प्रशोधन क्षमता, उत्कृष्ट ग्राफिक्स, परिष्कृत एआई क्षमता र राम्रो थर्मल म्यानेजमेन्ट प्रदान गर्नेछ ।
यो नयाँ चिपले एप्पलको डिभाइसमा आधारित आर्टिफिसियल इन्टेलिजेन्सका आगामी सुविधाहरूलाई थप शक्तिशाली बनाउने अपेक्षा गरिएको छ । हालसम्मका विभिन्न स्रोतहरूका अनुसार, ग्राहकले यसमा २ एनएम प्रविधिको ए २० प्रो प्रोसेसर, प्रो म्याक्समा भेरिएबल एपर्चर क्यामेरा, सोनीको आईएमएक्स ९०५ मुख्य सेन्सर र उत्कृष्ट ब्याट्री लाइफ जस्ता सुविधाहरू पाउनेछन् ।
साथै यसमा सानो डाइनामिक आइल्यान्ड, परिष्कृत स्याटेलाइट कनेक्टिभिटी, एप्पल इन्टेलिजेन्सका विशेष सुविधाहरू, प्रिमियम टाइटेनियम डिजाइन र आईओएस २७ रहने अपेक्षा गरिएको छ । एप्पलले सामान्यतया आफ्नो सेप्टेम्बरको वार्षिक कार्यक्रममा नयाँ आईफोनहरू सार्वजनिक गर्ने गर्छ र आईफोन १८ प्रो सिरिज पनि सोही समयमा आउने अपेक्षा गरिएको छ ।
जानकारहरूका अनुसार, एप्पलले यी उपकरणहरू सेप्टेम्बर २०२६ मा घोषणा गर्नेछ र त्यसको केही समयपछि नै प्रि–अर्डर सुरु भई केही हप्ताभित्रै बजारमा उपलब्ध हुनेछन् । यता चिनियाँ कम्पनी अनरले वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फरेन्स २०२६ मा विश्वकै पहिलो ‘रोबोट फोन’ सार्वजनिक गरेको छ । यस उपकरणले स्मार्टफोनको परम्परागत स्वरूपलाई पूर्णतः परिवर्तन गर्दै यसको भित्रै ४–डिग्री–अफ–फ्रिडम भएको टाइटेनियम एलोय मेकानिकल गिम्बल प्रणाली जडान गरेको छ ।
यस गिम्बलले क्यामरा मोड्युललाई स्वतन्त्र रूपमा चल्न, गुडिरहेका वस्तुहरूलाई पछ्याउन, संगीतको लयमा प्रतिक्रिया दिन र एआईको आउटपुटलाई शारीरिक चालमार्फत व्यक्त गर्न अनुमति दिन्छ । यसले स्मार्टफोनलाई केवल निष्क्रिय टच–स्क्रिन उपकरणबाट एक सक्रिय र अन्तक्र्रियात्मक साथीमा रूपान्तरण गरेको छ ।
यस फोनको मुख्य फिचर भनेको यसको मेकानिकल गिम्बल प्रणाली हो । टाइटेनियम एलोयबाट निर्मित यस प्रणालीमा प्रयोग गरिएका माइक्रो–मोटरहरू प्रचलित विकल्पहरू भन्दा ७० प्रतिशत साना छन् । यसले ९६ प्रतिशतसम्मको वाकिङ सेक (हिँड्दा हुने थर्कन) घटाउँदै सीआईपीए ५.५ स्तरको स्थिरता प्रदान गर्छ ।
यसको क्यामरा मोड्युल ३६० डिग्रीसम्म घुम्न सक्छ र यसले सिनेमाई प्रभावका लागि ९० र १८० डिग्रीको स्मार्ट मोसन ट्रान्जिसनलाई समर्थन गर्छ । दैनिक प्रयोगमा यो प्रणाली फोनभित्रै लुकेर बस्छ र आवश्यक परेको बेला एउटा बटन थिच्दा बाहिर निस्कन्छ ।
स्मार्टफोनको सानो आकारभित्र यस्तो टिकाउ र कम ऊर्जा खपत गर्ने प्रणाली जडान गर्नु इन्जिनियरिङ क्षेत्रमा एक ठूलो सफलता मानिएको छ । यस उपकरणको एआई क्षमता परम्परागत स्मार्टफोन असिस्टेन्टभन्दा निकै माथि छ । अनर योयो एआईले प्रयोगकर्ताको एउटै अनुरोधमा विभिन्न कामहरू क्रमिक रूपमा आफैं गर्छ ।
जस्तै, एन्टी–मोसन–सिकनेस मोड खोल्ने, स्क्रिनको ब्राइटनेस मिलाउने, अलार्म सेट गर्ने र ट्याक्सी बुक गर्ने जस्ता कामहरू यसले न्यूनतम मानवीय हस्तक्षेपमा पूरा गर्छ । एक प्रदर्शनमा रोबोट फोनले रियल–टाइम तथ्यांक विश्लेषण गरी विश्वकपमा स्पेनले अर्जेन्टिनालाई ३–१ ले हराउने भविष्यवाणी गरेको थियो ।
त्यसक्रममा फोनले गिम्बल प्रणालीको सहयोगमा टाउको हल्लाए जस्तै गरी हल्लिएर आफ्नो विश्लेषणात्मक आत्मविश्वासलाई शारीरिक रूपमा व्यक्त गरेको थियो । क्यामराका हिसाबले यो एक फ्ल्यागशिप उपकरण हो । यसको रियर ट्रिपल क्यामरा प्रणालीमा २०० मेगापिक्सेलको ४डी गिम्बल मुख्य क्यामरा, ५० मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स समावेश छ ।
यो फोन अनर–एआरआरई रणनीतिक साझेदारीबाट जन्मिएको पहिलो उत्पादन हो जसले मोबाइल भिडियोमा एआरआरई लग–सी इन्कोडिङ र एलयूटी कलर ग्रेडिङ जस्ता सुविधाहरू ल्याएको छ । यसमा पेशेवर सिनेमाई कामका लागि आवश्यक सी–लग, फोकस लक र ह्वाइट ब्यालेन्स लक जस्ता सुविधाहरू छन् जसले विशेषगरी गम्भीर भिडियो सर्जकहरूलाई आकर्षित गर्नेछ ।
यो रोबोट फोन मार्च २०२५ मा घोषणा गरिएको अनर अल्फा स्ट्राटेजी अन्तर्गतको पहिलो ठोस उत्पादन हो जसको लक्ष्य कम्पनीलाई स्मार्टफोन निर्माताबाट अग्रणी एआई टर्मिनल इकोसिस्टम कम्पनीमा रूपान्तरण गर्नु हो । यो उपकरण हार्डवेयरको सुधार मात्र नभई यस श्रेणीकै पुनर्परिभाषा हो ।




