५ साउन , काठमाण्डौ ।
विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ, फिफा विश्वकप २०२६, भव्यताका साथ सम्पन्न भएको छ । ४८ टोली, १०४ खेल, तीन देशमा फैलिएको छ साताको रोमाञ्चक यात्रामा स्पेनले ऐतिहासिक उपाधि जितेको छ । तर यो विश्वकप केवल एउटा च्याम्पियनका कारण मात्र याद गरिने छैन ।
यस प्रतियोगिताले विश्व फुटबललाई नयाँ दिशा दिएको छ, नयाँ बहस जन्माएको छ र भविष्यका विश्वकप कस्ता हुनेछन् भन्ने संकेत पनि गरेको छ । त्यसो भए, इतिहासले विश्वकप २०२६ लाई आखिर कसरी सम्झिनेछ ? अब यसको विश्लेषण गरौं ।
सबैभन्दा पहिले कुरा गरौँ प्रतियोगिताको नयाँ स्वरूपको । यसपटक पहिलो पटक विश्वकपमा ४८ टोली सहभागी भए । प्रतियोगिता सुरु हुनुअघि धेरैले आशंका व्यक्त गरेका थिए कि टोली संख्या बढ्दा खेलको गुणस्तर खस्किनेछ, कमजोर राष्ट्रहरू एकपक्षीय हारको सिकार बन्नेछन् र रोमाञ्च हराउनेछ ।
तर मैदानमा देखिएको दृश्य ठीक उल्टो रह्यो । केप भार्डे, डीआर कंगो र कुरासाओजस्ता टोलीहरूले सबैलाई चकित पारे । केप भार्डेले पहिलो खेलमै स्पेनलाई बराबरीमा रोकेर विश्व फुटबललाई ठूलो सन्देश दियो । डीआर कंगो नकआउट चरणसम्म पुग्यो र इंग्ल्यान्डलाई अन्तिम समयसम्म दबाबमा राख्यो ।
कुरासाओ पनि अन्तिम खेलसम्म दोस्रो चरण प्रवेशको सम्भावनामा रह्यो । यी टोलीहरूको प्रदर्शनले फिफाको ४८ टोलीको निर्णयलाई सही सावित गरिदियो । यसबाट हौसिएर फिफामा अब ६४ राष्ट्रको सहभागितामा विश्वकप खेलाउने प्रस्ताव अघि सारिएको छ ।
विश्वकपको शताब्दी अवसरमा फिफाले ६४ राष्ट्रबिच प्रतिस्पर्धा गराउने तयारी गरेको छ । फिफाको यो अभियान सफल हुँदा पहिलोपटक विश्वकप सर्वाधिक टोलीबिच हुनेछ । फिफाका अध्यक्ष जियानी इन्फानटिनोले विश्वभरिका राष्ट्र विश्वकपमा पु¥याउने उद्देश्यका साथ नयाँ योजना अगाडि बढाइएको बताए ।
‘विश्वकप सीमित राष्ट्र र महादेशबिच मात्र हुँदा प्रतिस्पर्धात्मक भएको देखिएन । अब हामी विश्वभरका राष्ट्रमा विश्वकपमा सहभागिता गराउने अभियानमा अग्रसर भएका छौँ,’ जियानीले भने । सन् २०३० मा विश्वकपका पहिलो तीन खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन् । त्यसपछि स्पेन, पोर्चुगल र मोरोक्कोले विश्वकपका बाँकी खेल गर्नेछन् ।
आधिकारिक रूपमा आगामी चार वर्षको विश्वकप आयोजक युरोप तथा अफ्रिकी महादेश हुन् । तर, विश्वकप सुरु भएको उपलक्ष्यमा फिफाले प्रारम्भिक खेल दक्षिण अमेरिकामा गराउन लागेको हो । ल्याटिन अमेरिकामा सुरु भएको विश्वकपको शतवार्षिकी त्यही मनाउनुपर्ने जिआनीले बताए ।
‘अर्को चार वर्षमा विश्वकप सय वर्ष पुग्नेछ । जहाँबाट सुरु भएको हो । हामी त्यही भूमिमा विश्वकपको शतवार्षिक मनाउँछौँ,’ जिआनीले भने, ‘त्यसपछि मुख्य आयोजक राष्ट्रले प्रतियोगिता सञ्चालन गर्नेछन् ।’ उरुग्वे फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले विश्वकपमा ६४ टोलीको सहभागिता हुनुपर्ने फिफा कंग्रेसमा प्रस्ताव राखेका थिए ।
यद्यपि अन्तिम चारमा भने फेरि पुरानै शक्तिशाली टोलीहरू पुगे—स्पेन, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड । यसले एउटा सन्देश स्पष्ट गरिदियो कि नयाँ राष्ट्रहरू अब प्रतिस्पर्धी अवश्य बनेका छन्, तर उपाधि जित्न अनुभव, गहिरो संरचना र निरन्तरता अझै पनि ठूला फुटबल राष्ट्रहरूको पक्षमा छ ।
यस विश्वकपले नयाँ स्टार पनि जन्मायो । सबैभन्दा धेरै चर्चा भयो केप भार्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाको । उमेरले ४० पार गरिसकेका उनले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई ऐतिहासिक उपलब्धि दिलाए। उनको प्रदर्शनपछि सामाजिक सञ्जालमा लाखौं नयाँ समर्थक थपिए ।
उनले प्रमाणित गरिदिए कि फुटबलमा उमेरभन्दा पनि आत्मविश्वास, मेहनत र अनुभव ठूलो कुरा हो । यदि व्यक्तिगत प्रदर्शनको कुरा गर्ने हो भने यस विश्वकपमा सुपरस्टारहरूले पनि निराश पारेनन् । गोल्डेन बुटको दौड अन्तिमसम्म रोमाञ्चक रह्यो ।
लियोनल मेसी, केलियन एमबाप्पे, इर्लिङ हालान्ड, ह्यारी केन, उस्मान डेम्बेले र जुड बेलिङ्घमबीच कडा प्रतिस्पर्धा भयो । अन्ततः फ्रान्सका केलियन एमबाप्पे १० गोलसहित गोल्डेन बुट विजेता बने । त्यति मात्र होइन, उनले विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाए ।
उता लियोनल मेसीले पनि उत्कृष्ट प्रदर्शन गर्दै आठ गोल गरे। अर्जेन्टिनाले उपाधि जोगाउन नसके पनि मेसीले आफ्नो स्तर अन्तिम समयसम्म कायम राखे। क्रिस्टियानो रोनाल्डोका लागि भने यो विश्वकप सम्झनलायक बन्न सकेन । उनले यसलाई आफ्नो अन्तिम विश्वकप घोषणा गरे पनि टोलीलाई धेरै टाढासम्म लैजान सकेनन्।
अर्कोतर्फ स्पेनका युवा स्टार लामिन यामालले चोटपछि फर्केर उत्कृष्ट प्रदर्शन गर्दै आफू भविष्यका सुपरस्टारमध्ये एक भएको संकेत दिएका छन् । विश्वकप २०२६ लाई प्रविधिको विश्वकप पनि भनियो । तर प्रविधिले सबैलाई सन्तुष्ट पार्न सकेन। भिडियो असिस्टेन्ट रेफ्री अर्थात् ख्ब्च् फेरि विवादको केन्द्रमा रह्यो।
जर्मनी, क्रोएसिया र इजिप्टसँग सम्बन्धित केही महत्वपूर्ण निर्णयले ठूलो बहस जन्मायो । विशेषगरी अर्जेन्टिनाविरुद्धको खेलपछि इजिप्टका प्रशिक्षकले रेफ्री र भार प्रणालीमाथि खुलेर असन्तुष्टि व्यक्त गरे । क्रोएसियाका प्रशिक्षकले पनि आफ्नो टोलीविरुद्ध भएको निर्णयको आलोचना गर्दै प्रतियोगितापछि पदबाट राजीनामा दिए। उच्च प्रविधियुक्त सेन्सरयुक्त बल प्रयोग गरिए पनि सबै निर्णय स्वीकार्य बन्न सकेनन् ।
विश्वकपभर अर्को ठूलो बहस टिकटको मूल्यलाई लिएर भयो । फिफाले स्वचालित मूल्य निर्धारण प्रणाली लागू गरेपछि टिकटको मूल्य निकै महँगो बन्यो । समूह चरणका केही खेलका टिकट सयौंदेखि हजारौं डलरसम्म पुगे भने फाइनलका टिकट बिक्री भए । धेरै समर्थकले विश्वकप अब सामान्य दर्शकको पहुँचभन्दा टाढा गएको टिप्पणी गरे।
यद्यपि आलोचनाका बाबजुद अधिकांश रंगशाला भरिभराउ देखिए । यसले विश्वकपप्रतिको आकर्षण अझै पनि उत्तिकै बलियो रहेको प्रमाणित गरिदियो । यस विश्वकपमा लागू गरिएको नयाँ हाइड्रेसन ब्रेक पनि विवादरहित रहन सकेन । प्रत्येक हाफबीच अतिरिक्त तीन मिनेटको विश्राम दिइयो । फिफाले यसलाई खेलाडीको स्वास्थ्य र अत्यधिक गर्मीबाट बचाउन आवश्यक रहेको बतायो ।
तर धेरै पूर्वखेलाडी, प्रशिक्षक र विश्लेषकले यसलाई खेलको लय बिगार्ने निर्णय भने। कतिपयले यो नियम स्वास्थ्यभन्दा बढी प्रसारण कम्पनीलाई अतिरिक्त विज्ञापन देखाउने अवसर उपलब्ध गराउने उद्देश्यले ल्याइएको आरोप लगाए। अब भविष्यमा यो नियम कायम रहने वा हटाइने भन्ने विषयमा बहस जारी रहने निश्चित देखिन्छ ।
विश्वकपमा मैदानबाहिरको सबैभन्दा ठूलो विषय राजनीति बन्यो । विशेषगरी इरानको सहभागितालाई लिएर सुरुदेखि नै विवाद देखियो । मध्यपूर्वको तनावका कारण इरानी टोलीले यात्रा, भिसा र सुरक्षा सम्बन्धी विभिन्न समस्या सामना गर्नुप¥यो। केही सदस्यलाई अमेरिका प्रवेश अनुमति नदिइएको विषयले अन्तर्राष्ट्रिय चर्चा पायो ।
हरेक खेलपछि तुरुन्तै अमेरिका छोड्नुपर्ने व्यवस्थाले पनि बहस जन्मायो । अन्ततः इरान समूह चरणबाटै बाहिरियो, तर यस प्रतियोगिताले खेल र राजनीतिलाई अलग राख्न कति कठिन छ भन्ने फेरि प्रमाणित गरिदियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाले पनि विश्वकपभर चर्चा पायो ।
फाइनलबाहेक उनले अन्य खेल प्रत्यक्ष हेरेनन् । तर फिफा अध्यक्षसँगको सम्बन्ध र अमेरिकी खेलाडीमाथिको प्रतिबन्ध हटाइएको घटनाले राजनीतिक हस्तक्षेपको बहसलाई थप चर्कायो। यद्यपि त्यसको प्रत्यक्ष लाभ अमेरिकाले लिन सकेन र टोली अन्तिम १६ बाटै बाहिरियो ।
समग्रमा हेर्दा विश्वकप २०२६ ले फुटबललाई नयाँ युगमा प्रवेश गराएको छ । प्रतियोगिताको आकार बढ्यो, नयाँ राष्ट्रहरूले आफूलाई प्रमाणित गरे, सुपरस्टारहरूले आफ्नो अन्तिम चमक देखाए, नयाँ पुस्ताले भविष्यको नेतृत्व गर्ने संकेत दियो, तर सँगै प्रविधि, राजनीति, व्यावसायीकरण र नयाँ नियममाथिका प्रश्नहरू पनि उस्तै बलियो बने ।
सायद इतिहासले विश्वकप २०२६ लाई केवल स्पेनको उपाधिका लागि मात्र सम्झिने छैन । यसलाई फुटबलको विस्तार, परिवर्तन, नयाँ अवसर, नयाँ विवाद र विश्व फुटबलको भविष्यलाई नयाँ मोड दिएको विश्वकपका रूपमा सम्झिनेछ ।।




