रविले बोलाएको सर्वदलीय बैठकमा बालेन–सुधन, ओली–हर्क गएनन्

१२ साउन ८३, बुधबार

१३ साउन , काठमाण्डौ ।

Advertisement

सुनसरी तनावलाई लिएर सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा अहिले सर्वदलीय बैठक जारी छ । लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा कांग्रेस सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरु बैठकमा सहभागी भएका छन् ।

Advertisement

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।

तर बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन् । सुनसरीमा एक जनाको मृत्यु हुनेगरी भएको घटनापछि सरकारको आलोचना भइरहेको छ । तराई–मधेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।

Advertisement

तर, सोही विषयमा छलफल गर्न बसेको बैठकमा समाचार तयार पार्दा सरकारका तर्फबाट मुख्य जिम्मेवार मन्त्रीहरूको उपस्थिति छैन । बैठकमा काँग्रेस सभापति गगनकुमार थापाले सुझाव दिँदै सरकार खोजेका छन् ।

बैठकमा सहभागी भएर अहिले निस्किसकेका थापाले भने, ‘माननीय सभापति मार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ । यतिखेर सरकार के गर्दैछ ? कहाँ छ ?’ सरकारले समन्वय नगरेकोप्रति असन्तुष्टि जनाउँदै सभापति थापाले अघि भने, ‘सरकार बन्दुकको गोलीमा मात्र सीमित हुनुहुन्न । स्टाटसमा मात्र भेटिनुहुन्न ।

सरकार अभिभावक मात्र होइन, सरकार लिडर पनि हो । लिडरको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको उसले कोलाबोरेट गर्न सक्नुपर्छ । उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ अनि अरुले पनि उसलाई विश्वास गर्छ ।’ उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्ने बताए ।

‘यतिबेला त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्ने हो । प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने हो । सबैबाट साझा प्रयास गर्ने कुराको एउटा आधार तयार गर्ने हो’, उनले भने ।

गगनले सरकारले नबोलाए पनि रास्वपाले प्रमुख दलको हैसियतमा समयमा बैठक बोलाएको भन्दै आभार प्रकट गरे । उनले अघि थपे, ‘यो बेलामा नेपाली कांग्रेस पार्टीको तर्फबाट जे भूमिका निर्वाह गरेका छौं, जानकारी गरायौं ।’

सभापति थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित पूँजी भएको बताउँदै यसबारे बैठकमा जानकारी गराएको बताए । बैठकमा उनले सुनसरीलगायतका तल्लो तहमा पनि यसरी नै सर्वदलीय बैठक बस्नु पर्ने र त्यसका लागि आफूहरु भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

बैठक सिंहदरबारमा जारी छ। सभापति थापा भने आफ्ना कुरा राखेर निस्किएका छन् । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन भएकोले श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन बैठकबाट निस्किएका हुन् । बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे पनि सहभागी छन् ।

यता नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार समस्याको साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप लगाएका छन् । जारी सर्वदलीय बैठकमा उनले संकटको अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने बताए ।

उनले भने– ’सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ।’

’विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ।

तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ’ उनले भने ।रास्वपा सभापति रबि लामिछानेले बैठक राखेकोमा भने उनले धन्यवाद दिए ।

’यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन’ उनले भने ।

बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने भन्दै उनले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिने धारणा राखे ।

उनले भने ’हाम्रो पार्टीले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पङ्क्तिलाई आवश्यक आन्तरिक निर्देशनसमेत दिएको छ।

घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक छ।’   सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने अनुपस्थित भएका छन् ।

ओलीले पार्टी महासचिव शंकर पोखरेल र साम्पाङले प्रमुख सचेतक आरेन राईलाई बैठकमा पठाएका हुन् । यता प्रधानमन्त्री वालेन्द्र शाहले भने सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सामाजिक संजालबाटै अपील गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ज्यान गुमाएकाको परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह छ । यता सुनसरीको देवानगन्जस्थित कप्तानगन्ज क्षेत्र अहिले सामान्य बन्दै गएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले अहिले स्थिति नियन्त्रणमा रहेको र विस्तारै सामान्य बन्दै गइरहेको जानकारी दिए । यद्यपि प्रशासनले लगाएको कफ्र्यू भने आज दिनभर रहने उनको भनाइ छ ।

उनले भने, ‘अहिले स्थिति नियन्त्रणमा देखिए पनि कफ्र्यू भने दिनभर रहनेछ ।’ उनका अनुसार आज दिउँसो प्रशासनले दुवै पक्षका अगुवा र धार्मिक अगुवासँग बसेर छलफल गर्ने तयारी गरेको छ ।

‘हामी यस घटनालाई जसरी हुन्छ छिटो समाधान गर्ने प्रयासमा छौं । त्यसैले दुवै पक्षसँग बसेर छलफल गर्दैछौं । यसकै कारण यहाँका अरु नियमित कामहरुसमेत भइरहेका छैनन् ।’ सरकारले पनि यस्तो परिस्थितिमा सबैलाई संयमित हुन आग्रह गरेको छ ।

अवस्था नियन्त्रणमा लिनका लागि प्रशासनले प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरेको छ । यता कप्तानगञ्जमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पेटमा गोली लागेका २० वर्षीय जयप्रकाश मेहता र २५ का मिथिलेश मेहताको शल्यक्रियामार्फत गोली निकालिए पनि उनीहरू अझै जोखिममुक्त हुन नसकेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

न्यूरोमै झडपमा घाइते भएका हरेराम यादव र अमलेश मेहताको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

झडपमा स्थानीयतर्फ कम्तीमा ९ जना घाइते भएका थिए । घाइतेहरूको विराट नर्सिङ होममा पनि उपचार भइरहेको छ । झडप नियन्त्रणका क्रममा नेपाल प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना प्रहरी र सशस्त्र प्रहरी बलका १० जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । घाइते प्रहरीहरुको इनरुवा र नोबेल अस्पतालमा उपचार जारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top