काठमाडौं, साउन १९ — परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्। मंगलबार परराष्ट्र मन्त्रालयमा आर्थिक कूटनीति महाशाखाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्वपूर्ण आधार रहेको बताए।उनले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘अन्तर्राष्ट्रिय सहायता र व्यापारको महत्वपूर्ण पाटोलाई थप कसरी वृद्धि गर्न सकिन्छ भन्नेमा ध्यान दिन आवश्यक छ।’
परराष्ट्रमन्त्री खनालले वर्तमान भूराजनीतिक परिस्थितिबाट सिर्जित चुनौती र सीमिततालाई मध्यनजर गर्दै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पारेर अघि बढ्नुपर्ने बताए।
नेपालले कम विकसित मुलुक (एलडीसी) को हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै उनले विगतमा कहाँ–कहाँ अवसर गुमाइयो भन्ने विषयमा समीक्षा आवश्यक रहेको बताए। उनले भने, ‘हामी लामो समयदेखि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ। अब त्यसबाट बाहिर निस्केर अहिले कुन–कुन क्षेत्रमा काम गर्ने भन्ने स्पष्ट बाटो पहिल्याउनुपर्छ।’

उनले सबै क्षेत्रमा एकैपटक काम गर्न खोज्दा तथा सीमित स्रोतसाधनलाई सबै क्षेत्रमा परिचालन गर्दा अपेक्षित परिणाम हासिल गर्न नसकिने बताए। त्यसैले विदेशस्थित नेपाली नियोगहरूले कुन विषयलाई प्राथमिकतामा राखेर काम गर्ने भन्नेमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।
परराष्ट्रमन्त्री खनालले अबको वैश्विक परिवेशमा राजनीतिक शक्ति आर्थिक शक्तिसँग जोडिने भएकाले त्यसलाई मध्यनजर गर्दै नीति तथा योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा एसोसिएसन अफ फर्मर करिअर एम्बास्डर्स अफ नेपाल (अफकान)का अध्यक्ष तथा पूर्वराजदूत भगिरथ बस्नेतसहित संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले अन्तर्राष्ट्रिय सहायता तथा पूर्वराजदूत दीपक धितालले व्यापारका विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए। परराष्ट्रमन्त्री खनालले दुवै प्रस्तोताले प्रस्तुत गरेका गहन र महत्वपूर्ण कार्यपत्रका लागि धन्यवाद व्यक्त गरे। साथै, परराष्ट्र सचिव अमृतबहादुर राईले दुवै कार्यपत्र ज्ञानवर्धक र महत्वपूर्ण रहेको बताए।





