काठमाडौं– अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताएका छन्। बहुराष्ट्रिय कम्पनी तथा ठूला उद्योगी–व्यवसायीका प्रतिनिधिसँगको छलफलमा उनले सरकार निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने स्पष्ट पारे। वाग्लेले निजी क्षेत्र देशका ठूलो करदाता, रोजगारदाता र लगानीकर्ता भएकाले राष्ट्र निर्माणमा अग्रणी साझेदार रहेको बताए। नेपालको आर्थिक रूपान्तरण सरकार वा कुनै एक मन्त्रालयको प्रयासले मात्र सम्भव नहुने भन्दै उनले सरकार र निजी क्षेत्रले मिलेर यसको नेतृत्व गर्नुपर्ने धारणा राखे।
उनले सरकारको प्राथमिकता केवल कर संकलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको बताए। उद्योगले नाफा कमाउँदा पुनःलगानी, उत्पादन वृद्धि, रोजगारी सिर्जना र बजार विस्तार हुँदै अन्ततः राज्यको राजस्वसमेत बढ्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए। लगानीकर्ताले सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको र कर प्रणाली पूर्वानुमेय रहेको विश्वास गर्न नसके ठूलो लगानी भित्रिन नसक्ने उनको भनाइ छ।

उनले उद्योगी–व्यवसायीलाई नेपालमा थप लगानी गर्न, भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादन तथा प्रविधिमा प्रवेश गर्न र रोजगारी सिर्जना गर्न आग्रह गरे। ‘सरकार तपाईँहरूको साथमा उभिनेछ’ भन्दै उनले निजी क्षेत्रलाई लगानी विस्तारका लागि प्रोत्साहित गरे।
छलफलमा सरकारले आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न व्यवसायीबाट सुझाव माग्दै उनले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था र सरकारी प्रक्रियाका अवरोधबारे स्पष्ट धारणा राख्न आग्रह गरे।
वाग्लेले बैठकलाई सुझाव संकलनमा सीमित नराखी समाधानको कार्यसूची बनाउने बताए। छलफलमा उठेका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गर्ने र अर्थ मन्त्रालयले निरन्तर अनुगमन गर्ने उनको भनाइ छ।
उनले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए। इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई सामाजिक सम्मान दिलाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
‘उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवा उद्यम गर्न प्रेरित हुने वातावरण बनाउन सरकार अघि बढेको छ,’ वाग्लेले भने। उनले आगामी दशकलाई ठूलो लगानी, उत्पादन, रोजगारी र आत्मविश्वासको दशक बनाउने गरी सरकार र निजी क्षेत्रबीचको साझेदारी थप सुदृढ गर्नुपर्ने बताए।




