काठमाडौं- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको ठूलो युवा जनसङ्ख्या चुनौती नभई देश विकासका लागि ऐतिहासिक अवसर भएको बताएका छन् । संसद्मा ‘बाल श्रम (निषेध तथा नियमन गर्ने) विधेयक- २०८३’ प्रस्तुत गर्दै मन्त्री यादवले सरकारले युवा विषयलाई उच्च प्राथमिकतामा राख्दै ‘नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३’ मार्फत युवा क्षेत्रमा समन्वय र नेतृत्व गर्ने व्यवस्था गरेको जानकारी दिए ।
युवा सवाल बहुआयामिक विषय भएकाले विभिन्न मन्त्रालय तथा निकायले सञ्चालन गरिरहेका कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतासँग जोड्ने र तिनबीच समन्वय गर्ने जिम्मेवारी मन्त्रालयलाई दिइएको उनले बताए । युवा ऐन तथा नीतिलाई समयसापेक्ष बनाउँदै राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी बनाउन ‘राष्ट्रिय युवा परिषद् ऐन, २०७२’ को पुनरावलोकन गर्न लागिएको उनले जानकारी दिए । नेपाल कानून आयोगबाट नयाँ ऐनको मस्यौदा तयार भई मन्त्रालयमा प्राप्त भइसकेको उनको भनाइ छ ।
मन्त्री यादवले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन ‘युवा नीति, २०८२’ ल्याइएको बताए । नीतिमा युवा रोजगारी, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) तथा रोजगारीका अवसर र चुनौतीलगायत विषय समेटिएको उनले जानकारी दिए ।

रोजगारी र सीप विकासका विशेष कार्यक्रमअन्तर्गत मन्त्रालयले ‘रोजगार प्रवर्द्धन दशक’लाई सर्वोच्च प्राथमिकतामा राखेको मन्त्री यादवले बताए ।



