काठमाडौं- रोजगारी सिर्जना तथा रोजगार इकोसिस्टम निर्माणका विषयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा विभिन्न व्यवसायी महासंघ तथा संघका पदाधिकारीसँग छलफल भएको छ । बिहीबार भएको बैठकमा निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै उद्योग तथा व्यवसायको वास्तविक जनशक्ति आवश्यकताका आधारमा सीपमूलक तालिम सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।
बैठकमा तालिम प्राप्त जनशक्तिलाई प्रत्यक्ष रूपमा रोजगारीका अवसरसँग आबद्ध गर्ने तथा श्रम बजारको माग र सीपबीचको अन्तर घटाउने विषयमा समेत विस्तृत छलफल भएको थियो । छलफलपछि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद, समन्वय र सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने निर्णय भएको छ ।
रोजगारी सिर्जना, उत्पादकत्व अभिवृद्धि तथा दक्ष जनशक्ति विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ ।




