२८ साउन, काठमाण्डौ ।
कंगोमा फैलिएको इबोला भाइरस हालसम्मकै घातक बन्न सक्ने विश्व स्वास्थ्य संगठनले दिएको चेतावनी र अमेरिकी खोप नीतिमा भएको परिवर्तनप्रति पनि डब्ल्यूएचओले आपती जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको वर्तमान प्रकोप यही गतिमा अघि बढेमा हालसम्मकै सबैभन्दा घातक बन्न सक्ने चेतावनी दिएका हुन्।
पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले सन् २०२६ को यो प्रकोपले सन् २०१४ देखि २०१६ सम्मको इबोला महामारीलाई पनि पछि पार्न सक्ने बताए। सो अवधिमा कम्तीमा ११ हजार मानिसको मृत्यु भएको थियो ।
यस वर्षको इबोला प्रकोपको आधिकारिक घोषणा मे १५ मा गरिएको थियो।

हालसम्म कम्तीमा ४,३०० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार आगामी तीन महिनाभित्र भाइरसको फैलावटलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।
तथापि, तीन महिनाभित्र यस रोगलाई पूर्ण रूपमा उन्मूलन गर्ने भन्ने अर्थ नरहेको डब्ल्यूएचओले स्पष्ट पारेको छ। हालको मुख्य लक्ष्य संक्रमणको फैलावट रोक्नु र यसको गति सुस्त बनाउनु मात्र हो । स्वास्थ्य अधिकारीहरूका अनुसार मे महिनामा आधिकारिक घोषणा हुनुभन्दा कम्तीमा तीन महिनाअघि नै इबोलाको प्रकोप सुरु भइसकेको थियो ।
डब्ल्यूएचओ अफ्रिकाका निर्देशक डा. मोहम्मद जनाबीले बूनिया शहरमा आयोजित पत्रकार सम्मेलनमा भने, ’हामी भाइरसको पछिपछि छौँ, तर भाइरस हामीभन्दा अगाडि छ।’ उनका अनुसार अनुसन्धानले यो भाइरस फेब्रुअरीदेखि नै फैलिन थालेको देखाएको छ।
शुरुवातमा धेरै बिरामीमा इबोला पहिचान हुन सकेन र उनीहरूको लक्षणलाई मलेरिया वा टाइफाइड मानिएको थियो । यसबीच डब्ल्यूएचओले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौँदेखिको वैज्ञानिक प्रमाणविपरीत रहेको जनाएको छ ।
राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोपसम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिएका थिए । उनले दादुरा, मम्प्स र रुबेला (एमएमआर) विरुद्धको संयुक्त खोपलाई तीन छुट्टाछुट्टै मात्रामा दिनुपर्ने मागसमेत दोहो¥याएका थिए ।
अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले लामो समयदेखि एमएमआर खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका छन् । वैज्ञानिक अनुसन्धानले भने खोप र अटिजमबीच कुनै सम्बन्ध रहेको पुष्टि गरेको छैन ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एमएमआरलगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताए । “खोपसम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्छ,” उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् ।
अमेरिकी खोप नीतिमा हालै गरिएका परिवर्तन दशकौँदेखिको प्रमाणसँग मेल नखाएकोमा डब्ल्यूएचओ चिन्तित रहेको उनले बताए। उक्त प्रमाणले बालबालिका कुन समयमा विभिन्न रोगको बढी जोखिममा हुन्छन् भन्ने देखाउने उनको भनाइ छ ।
टेड्रोसका अनुसार बालबालिकालाई खोपबाट बलियो सुरक्षा प्रदान गर्न आवश्यक मात्रा र एकैपटक दिन मिल्ने खोपबारे वैज्ञानिक प्रमाणलाई ध्यान दिनुपर्छ । विश्वभरबाट नयाँ तथ्याङ्क प्राप्त हुँदै गएसँगै खोपसम्बन्धी प्रमाणको निरन्तर समीक्षा गरिने उनले बताए ।
खोप दिन अनावश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टाछुट्टै दिने कार्यले खोपलाई सुरक्षित नबनाउने भन्दै उनले यसबाट बालबालिका रोगको जोखिममा पर्न सक्ने चेतावनी दिए । केनेडीले दशकौँदेखि प्रयोग हुँदै आएका खोपसहित विभिन्न खोपको व्यापक समीक्षा अघि बढाएका छन् ।
उनले बालबालिकाको खोप तालिकामा परिवर्तन गर्नुका साथै नयाँ खोप विकासका लागि दिइने बजेटमा कटौती गरेका छन्। यी कदमको अमेरिकी तथा अन्तरराष्ट्रिय चिकित्सा र वैज्ञानिक समुदायले आलोचना गरेको छ । यस वर्षको सुरुमा अमेरिकी अदालतले केनेडीले अघि बढाएका केही खोप नीतिसम्बन्धी परिवर्तन रोकिदिएको थियो ।






