इरानमाथि अमेरिकी प्रतिबन्ध, तेलदेखि सुन र ढुवानीमा रोक

९ भदौ , काठमाण्डौ ।

Advertisement

अमेरिका र इरानबीचको सम्बन्ध थप तिक्ततापूर्ण बन्दै गएको छ। अमेरिकाले कुनै पनि समय वार्ता सुरु हुने दाबी गरिरहेकै अवस्थामा इरानमाथि वित्तीय दबाब बढाउनका लागि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानमाथि नयाँ प्रतिबन्ध लगाइएको बताएका हुन् ।

नयाँ प्रतिबन्धले इरानले प्राप्त गरिरहेको आम्दानीका सबै स्रोतलाई निसाना बनाएको उनले उल्लेख गरेका छन् । नयाँ प्रतिबन्धले इरानका पाँच मुख्य सम्पत्तिलाई निसाना बनाउनेछ । इरानी नियन्त्रणमा रहेको जलमार्ग, इरानी विद्युतीय सम्पत्ति, प्रविधि, सुन, हवाई क्षेत्र र सामुद्रिकसँगै अन्य ढुवानीका इलाकामा प्रतिबन्ध लगाउँदै इरानलाई अमेरिकाले कमजोर बनाउन खोजेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

Advertisement

उक्त प्रतिबन्धमा इरानसँग व्यापार गरिरहेका राष्ट्रहरूलाई समेत निसाना बनाइएको छ । ’’इरानको वर्तमान सत्तालाई साथ दिइरहेका जोकोहीलाई कमजोर बनाउनु नयाँ प्रतिबन्धको उद्देश्य हो,’’ उनले भनेका छन्,अबदेखि विश्वका मुलुकहरूले इरान र अमेरिकामध्ये एक रोज्नुपर्ने उनले बताएका छन् । ’’

अमेरिकी प्रतिबन्धभन्दा माथि कोही पनि छैन,’’ उनको भनाइ उद्धृत गर्दै अलजजिराले भनेको छ । इरानको आम्दानीमा सहयोग गर्ने जो कोही राष्ट्र अमेरिकी निसानामा पर्ने चेतावनी उनले दिएका छन् । ’’यदि कसैलै तेल खरिद गरेर होस् वा अन्य माध्यमबाट इरानलाई आम्दानी गर्न सघाइरहेको छ भने त्यो अमेरिकी निसानामा पर्नेछ,’’ उनले भनेका छन् ।

Advertisement

यो प्रतिबन्धलाई ’’इकोनोमिक डी–डे’’ नाम दिइएको हो । इरानसँग युद्ध लडेको ६ महिनापछि अमेरिकाले नयाँ प्रतिबन्ध अघि सारेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको पटक–पटकको धम्की र आक्रमणबाट पनि इरान नगलेपछि उसलाई सम्झौताका लागि दबाब दिन नयाँ प्रतिबन्ध घोषणा गरिएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

इरानी प्रतिबन्धमा बृहत्तर साथ जुटाउनका लागि अमेरिकाले भनेको छ,’’जसले अमेरिकी नीतिलाई साथ दिन्छ उसले यसबाट लाभ पनि पाउँछ । जसले इरानलाई साथ दिने छ ऊ एक्लो हुनुको अन्य विकल्प हुने छैन । ’’ अमेरिकाले चिनियाँ बैंकहरूलाई पनि चेतावनी दिएको छ । तर चीनसँग कसरी व्यवहार गर्ने भन्नेबारे अमेरिकाले कुनै योजनाबारे खुलाएको छैन ।

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । अमेरिका अनुसार इरानसँग व्यापार गर्ने जुनसुकै संस्थाले अनिवार्य रूपमा अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्नेछ । नयाँ प्रतिबन्धहरू सबैमा तत्कालै लागू हुने छैन । अमेरिकाले केही कम्पनी र व्यवसायीहरूलाई आफ्नो कार्यदिशा समायोजन गर्न छोटो अवधिको छुट (ग्रेस पिरियड) दिने तयारी गरेको छ ।

अर्काेतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी गरिएको भिडियो सार्वजनिक भएको छ । इरानको सरकारी टेलिभिजनमा प्रसारित उक्त भिडियो इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट प्रसारित भएको जनाइएको छ ।

भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गरिएको र उनको सुरक्षा व्यवस्था, सम्भावित ठेगाना तथा दैनिक गतिविधिबारे ग्राफिक्समार्फत विवरण प्रस्तुत गरिएको दाबी गरिएको छ । भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा बैरन ट्रम्पलाई कहाँ र कसरी मार्ने भन्नेबारे बताइएको दाबी गरिएको छ।

भिडियोमा २० वर्षीय बैरनका गतिविधिबारे जानकारी दिइएको छ। क्लिपमा बैरनमाथि निगरानी भइरहेको दाबी गरिएको छ। भिडियोमा एक युवतीले अमेरिकी गोप्य सुरक्षा (यूएस सिक्रेट सर्भिस) को सुरक्षा घेरा छल्दै बैरनको छेउमा बसेको दाबी गरिएको छ। यसरी उनीसम्म पुग्न सकिने दाबी भिडियोमा गरिएको छ।

डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया र छोरा बैरनलाई यूएस सिक्रेट सर्भिसले चौबीसै घण्टा सुरक्षा प्रदान गर्दै आएको छ। भिडियोमा सुरक्षा व्यवस्थालाई छल्ने उपायसमेत बताइएको दाबी गरिएको छ। भिडियोमा बैरनले सुरक्षाकर्मीबाट टाढा रहेर एक्सबक्समार्फत भ्वाइस म्यासेज र टेक्स्टका माध्यमबाट कुराकानी गर्ने दाबी गरिएको छ।

साथै, उनका भिडियो गेम तथा अन्य अकाउन्टबारे समेत जानकारी पत्ता लगाइएको दाबी गरिएको छ। इरानी सरकारी टेलिभिजनले गत महिना अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कसरी मार्न सकिन्छ भन्नेबारे जानकारी दिइएको एउटा भिडियो प्रसारण गरेको थियो।

उक्त भिडियोमा ट्रम्पकी पत्नी मेलानियाबारे विभिन्न जानकारी दिइएको थियो। भिडियोको अन्त्यमा बैरन ट्रम्पलाई लक्षित गर्दै ‘हाम्रो प्रतीक्षा गर, तिम्रो पालो आउँदैछ’ भन्ने सन्देश दिइएको थियो। त्यसपछि अहिले बैरनसँग सम्बन्धित अर्को भिडियो सार्वजनिक गरिएको दाबी गरिएको छ।

अमेरिकी सुरक्षा निकायहरूले उक्त धम्कीलाई गम्भीर रूपमा लिएको बताइएको छ । ट्रम्प परिवारलाई इरानबाट यसअघि पनि धम्की आउने गरेको उल्लेख गरिएको छ । यद्यपि, उपलब्ध विवरणमा उक्त इनामसम्बन्धी घोषणा इरान सरकारको औपचारिक नीति वा निर्णय हो भन्ने स्वतन्त्र पुष्टि भने गरिएको छैन ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना पनि पूर्ण रूपमा अस्वीकार नगरिएको बताएका छन् । उनले स्ट्रेट अफ होर्मुजसहित मध्यपूर्वका अन्य क्षेत्रमा पनि आवश्यक परे सैन्य शक्ति प्रयोग गर्नबाट अमेरिका पछि नहट्ने संकेत दिएका छन् ।

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकाले आर्थिक दबाबको अभियान जारी राखेमा खाडी क्षेत्रबाट हुने सबै तेल निर्यात रोक्न सकिने चेतावनी दिएका छन् । उनका अनुसार इरानमाथि अमेरिकी प्रतिबन्धलाई कुनै पनि देशले समर्थन गरे त्यसलाई इरानविरुद्धको युद्धमा सहभागी भएको रूपमा लिइनेछ ।

यसैबीच, ओमानको उत्तरपूर्वी समुद्री क्षेत्रमा एउटा तेल ट्यांकर अज्ञात प्रक्षेप्यास्त्र वा वस्तुको प्रहारबाट क्षतिग्रस्त भएको खबर आएको छ । बेलायती समुद्री व्यापार सञ्चालन निकायका अनुसार घटना ओमानको अश शिशाहबाट करिब ९ समुद्री माइल उत्तरपूर्वमा भएको हो ।

जहाजका चालक दल भने सुरक्षित रहेको बताइएको छ । तनाव कम गर्ने प्रयासस्वरूप ओमानका विदेशमन्त्री सय्यद बद्र अल–बुसैदी मंगलबार तेहरान जाने भएका छन् । उनले इरानी अधिकारीहरूसँग स्ट्रेट अफ होर्मुजको अवस्थालगायत क्षेत्रीय तनावका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी बन्दरगाहतर्फ मानवीय सहायता बोकेर गएका ४० भन्दा बढी जहाजलाई अमेरिकी नौसैनिक नाकाबन्दी पार गर्न अनुमति दिइएको छ । यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्सल असिम मुनीरसँगको भेटमा अमेरिकाले इरानप्रतिको आफ्नो भाषा र व्यवहार सुधार्नुपर्ने बताएका छन् ।

दबाब र धम्कीको नीति अपनाउँदा समस्या समाधान हुनुको सट्टा थप जटिल बन्ने उनको भनाइ छ । इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता होसेन मोहिबीले इरानको पूर्वाधारमाथि आक्रमण भए अमेरिकी ऊर्जा आपूर्ति मार्ग र महत्वपूर्ण रणनीतिक स्वार्थमाथि ठूलो स्तरको आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।

अमेरिका र इरानबीचको तनावका बीच स्ट्रेट अफ होर्मुज एक महत्वपूर्ण मुद्दा बनेको छ । विश्वको तेल व्यापारको ठूलो हिस्सा यही समुद्री मार्ग भएर हुने गर्दछ । अमेरिका र इरानबीचको द्वन्द्व सुरु भएको लामो समय बितिसक्दा पनि यो मार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा दुई देशबीच अझै वार्ता हुन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top