‘ज्यानको बदला ज्यान’मा उत्रियो इरान, नेतन्याहुको छोराको हत्या प्रयास, ट्रम्पका छोरामाथि इनाम

९ भदौ , काठमाण्डौ ।

Advertisement

आफ्ना खामेनीसहितका शीर्ष नेताहरु मारिएपछि यसको बदला लिने उद्घोष सोहीबेला गरेको इरान अहिले ‘ज्यानको बदला ज्यानमा’ उत्रिएको छ । इरानको निशानामा अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीसहितका दुवै देशका शीर्ष नेताहरु त छन् नै ।

डोनाल्ड ट्रम्प र बेन्जामिन नेतन्याहूका छोराहरुलाई पनि इरानले निशाना बनाइरहेको छ । यसक्रममा नेतन्याहुले इरानले आफ्नो परिवारलाई निशाना बनाउँदै उनका दुई छोरामध्ये एकको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् ।

Advertisement

सोमबार सरकार समर्थित ‘च्यानल १४’ लाई दिएको अन्तर्वार्तामा उनले आगामी निर्वाचनको पृष्ठभूमिमा आफ्नो परिवार तथा अन्य राजनीतिक नेताहरूको सुरक्षा व्यवस्थाबारे प्रस्ट पारेका हुन् । नेतन्याहूले आफ्ना छोरा याइर र अवनरमध्ये कसलाई निशाना बनाइएको थियो । हत्या प्रयास कहिले र कसरी भएको थियो भन्ने विवरण भने खुलाएनन् ।

इजरायलमा नेतन्याहूका परिवारका सदस्य तथा अन्य राजनीतिक नेताहरूलाई दिइँदै आएको सुरक्षा व्यवस्थालाई लिएर लामो समयदेखि प्रश्न उठ्दै आएको छ । उनले आफूहरूलाई दिइएको सुरक्षा कुनै विलासिता नभएको दाबी गरेका छन् ।

Advertisement

यसैबीच, इजरायली आन्तरिक सुरक्षा एजेन्सी ‘शिन बेट’ले नेतन्याहूकी पत्नी सारा तथा दुवै छोराको सुरक्षा बढाउने निर्णयलाई स्वीकृति दिएको छ । आगामी निर्वाचनमा नेतन्याहू पराजित भए पनि उनीहरूले सुरक्षा सुविधा पाउने बताइएको छ ।

अवनर इजरायलमै बस्दै आएका छन् भने अर्का छोरा याइर पछिल्ला केही वर्षदेखि अमेरिकाको मियामीमा बस्दै आएका छन् । एक रिपोर्टअनुसार हत्या षड्यन्त्रबारे इजरायली सुरक्षा अधिकारीहरूलाई केही महिनाअघि नै जानकारी थियो ।

तर, सैन्य सेन्सरका कारण त्यससम्बन्धी विवरण सार्वजनिक गर्न रोक लगाइएको थियो । इजरायलमा प्रधानमन्त्री र उनको परिवारलाई राज्यका तर्फबाट सुरक्षा प्रदान गरिन्छ । तर, सारा नेतन्याहू र उनका दुवै वयस्क छोरालाई लामो समयसम्म उच्चस्तरीय सुरक्षा दिने निर्णय भएपछि विवाद बढेको छ ।

जुलाई २०२६ मा एक मन्त्रीस्तरीय समितिले नेतन्याहू र उनकी पत्नी सारालाई आजीवन तथा दुवै छोरालाई कम्तीमा पाँच वर्षसम्म सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो । आलोचकहरूले अमेरिकाको मियामीमा बस्दै आएका याइरलाई उनका निजी भ्रमण तथा बिदाका क्रममा हुने खर्च इजरायली करदातामाथि परेको भन्दै आलोचना हुँदै आएको छ ।

सन् २०१८ देखि २०२३ बीच सारा, याइर र अवनरको सुरक्षामा मात्रै करिब तीन करोड २० लाख खर्च भएको विवरण सार्वजनिक भएको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ ।

इरानको सरकारी टेलिभिजनमा प्रसारित उक्त भिडियो इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट प्रसारित भएको जनाइएको छ । भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गरिएको र उनको सुरक्षा व्यवस्था, सम्भावित ठेगाना तथा दैनिक गतिविधिबारे ग्राफिक्समार्फत विवरण प्रस्तुत गरिएको दाबी गरिएको छ ।

अमेरिकी सुरक्षा निकायहरूले उक्त धम्कीलाई गम्भीर रूपमा लिएको बताइएको छ । ट्रम्प परिवारलाई इरानबाट यसअघि पनि धम्की आउने गरेको उल्लेख गरिएको छ । यद्यपि, उपलब्ध विवरणमा उक्त इनामसम्बन्धी घोषणा इरान सरकारको औपचारिक नीति वा निर्णय हो भन्ने स्वतन्त्र पुष्टि भने गरिएको छैन ।

यसबीच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सोमबार साँझ पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरसँग भेटवार्ता गरेका छन् । भेटमा उनले अमेरिकालाई इरानप्रतिको आफ्नो आवाज र दृष्टिकोण परिवर्तन गर्न आग्रह गरे । पेजेस्कियानले भने, ‘दबाब र धम्कीले सम्झौता कार्यान्वयन अझ जटिल बन्नेछ।’

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उनले ‘अमेरिकाले कानुन र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित इरानप्रतिको आफ्नो प्रतिबद्धता र इस्लामाबाद सम्झौता पालना गर्नुपर्ने’ बताए । यस क्रममा इरानका राष्ट्रपतिले पाकिस्तानको मध्यस्थताका लागि कृतज्ञता पनि व्यक्त गरे ।

साथै उनले निरन्तर सहयोगले इस्लामाबाद सम्झौताको लक्ष्य प्राप्त गर्न मद्दत गर्ने आशा व्यक्त गरे । जुन सम्झौतापत्रमा पाकिस्तानको मध्यस्थतामा गत जुनमा इरान र अमेरिकाले हस्ताक्षर गरेका थिए । पाकिस्तानका सेना प्रमुख मुनिर सोमबारदेखि इरान भ्रमणमा छन् ।

पहिलो दिन जनरल असिम मुनिरसँग छुट्टाछुट्टै भेटघाटमा इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले पनि अमेरिकालाई सम्झौताको पालना गर्न माग गरेका छन् । यता चीनका विदेशमन्त्री वाङ यीले मध्यपूर्व र फारसको खाडी क्षेत्र नाजुक मोडमा पुगेको बताएका छन् ।

उनले सम्बन्धित पक्षहरूलाई सकेसम्म चाँडो वार्तामा फर्कन आग्रह पनि गरेका छन् । चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार वाङ यीले बेइजिङमा सोमबार कुवेतका विदेशमन्त्री शेख जर्राह जाबेर अल–अहमद अल–सबाहसँगको भेटमा उक्त अभिव्यक्ति दिएका हुन् ।

भेटवार्तामा चीनका विदेशमन्त्री वाङ यीले भने, ‘बारम्बार द्वन्द्वको पुरानो ढाँचा दोहोरिनु हुँदैन र तनाव कम गर्नु प्राथमिकतामा हुनुपर्छ।’ उनले थपे, ‘चीन कुवेतलाई गरिएको सहयोग सुदृढ पार्न र यस क्षेत्रमा शान्ति र स्थिरतामा योगदान पु¥याउन तयार छ।’

क्त भेटवार्ता संयुक्त राज्य अमेरिकाले इरानलाई ‘अहिलेसम्मकै ठुलो आर्थिक आक्रमण’ गर्ने धम्की दिएका बेला भएको हो । इरानले आर्थिक युद्ध जारी रह्यो भने फारस खाडीबाट हुने सबै तेल निर्यात रोक्ने र आफ्नो अनुमतिबिना जहाजलाई हर्मुज जलमार्ग प्रवेश गर्न नदिइने चेतावनी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top