१० भदौ , काठमाण्डौ ।
नेपालमा मनसुनी वायुको प्रभाव अहिले उत्कर्षमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो बुलेटिन अनुसार, मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानको आसपासमा रहेकाले देशभर वर्षाको शृङ्खला बढ्ने देखिएको छ ।
कतै हल्का त कतै भारी वर्षासँगै हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ । अहिलेको अवस्था हेर्ने हो भने, देशभरका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बादलको बाक्लो उपस्थिति देखिन्छ ।

बाँकी तराईका भूभागमा भने आंशिक बादल लागेको छ । अहिले बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसले के संकेत गर्छ भने, आजको दिनभर मौसम स्थिर रहने छैन र वर्षाको मात्रा बढ्दै जानेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम बदली रहनेछ । वर्षा केवल पहाडमा मात्र सिमित हुने छैन । कोशी, बागमती र गण्डकीका धेरैजसो स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ ।
विशेषगरी उच्च हिमाली भेगमा वर्षासँगै हिमपातको समेत सम्भावना छ, जसले गर्दा तापक्रममा गिरावट आउन सक्छ ।कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित वर्षा हुनेछ । मधेस प्रदेश लगायत अन्य प्रदेशका तराईमा पनि वर्षाको बलियो सम्भावना छ ।
आज दिउँसो कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्र र गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातिको समयमा मौसम झनै सक्रिय हुने देखिएको छ । महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकीका हिमाली भेगमा ’धेरै’ स्थानमा वर्षा र हिमपात हुनेछ ।
पहाडी क्षेत्रमा पनि वर्षाको क्रम रोकिने छैन । राति कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विशेष गरी तराईका क्षेत्रमा रातिको समयमा हुने भारी वर्षाले डुबानको समस्या निम्त्याउन सक्छ । त्यसैले नदी तटीय क्षेत्रमा बस्नेहरूले राति सुत्दा पनि सतर्कता अपनाउनु जरुरी छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।
यस्तै, अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा सुरक्षाका कारण रात्रिकालीन यात्रामा रोक लगाइएको छ।
कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ को राजदुवालीमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटोको व्यवस्था रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै मुख्य मार्गहरूमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेस्थित वी.पी. राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा सडकको अवस्था हेरेर मात्र सवारी छाडिने गरिएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन निषेध गरिएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशुली–मैजुङ–स्याफ्रुबेंसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगाड खोलामा आएको बाढीले जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा ठप्प पारेको छ। देशभरका विभिन्न स्थानमा सडक अवरोध भइरहने सम्भावना रहेकाले लामो दूरीको यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बुझ्न यात्रुहरूलाई आग्रह गरिएको छ।




