११ भदौ ,काठमाण्डौ ।
पछिल्लो प्राप्त जानकारी अनुसार बाढीका कारण बेपत्ता भएकामध्ये १६५ जनाको शव फेला परेको छ । देशका विभिन्न स्थानमा भएको विपद्बाट ठुलो मानवीय क्षति भएको जानकारी गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको हो ।
अझै ८२६ जना मानिस बेपत्ता रहेको मन्त्रालयको तथ्याङ्क छ। बेपत्ता हुनेमा ८५ जना सुरक्षाकर्मी छन् । केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार ‘बेपत्ता सुरक्षाकर्मीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना’ रहेका छन् ।

अन्य बेपत्तामा रसुवाका १६१ र नुवाकोटका एक जना छन् । यस्तै ५७९ जना पर्यटक पनि सम्पर्कविहीन बनेका छन् । सम्पर्कविहीन हुनेमा ११३ नेपाली र ४६६ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ । विपद्मा परेका १०४ जनाको सफल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना छन् ।
फेला परेका १६५ शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा नौ र चितवनस्थित नारायणी नदी आसपास क्षेत्रमा ६४ वटा रहेका छन्। नवलपरासी पश्चिममा पनि पाँच जनाको शव फेला परेको छ । फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेको जानकारी पौडेलले दिएका छन् ।
मन्त्रालयले सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट सम्प्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ । यसबीच सप्तरीका चार इन्जिनियरसहित ६ युवा रसुवामा सम्पर्कविहीन भएका छन् । इलाम र पाँचथरका केही नागरिक सम्पर्कविहीन छन् ।
सल्यानका ४८ जना, मकवानपुरका ४० जना, दोलखाका ५५ जना सम्पर्कविहीन, दैलेखका २ जना सम्पर्कविहीन छन् । यस्तै जाजरकोटका चार जना सम्पर्कविहीन छन् भने तीन जना उद्धारको पर्खाइमा छन् । धादिङबाट गोसाइकुण्ड हिँडेका एकै गाडीका २५ जना पनि सम्पर्कविहीन छन् ।
भोटेकोशी बाढीमा मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, रामेछापका २५ जना सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि परिवारले अपिल गरेको छ । रसुवाको बाढीपछि डोल्पाका पनि दुई जना सम्पर्कविहीन भएका छन् ।
यसैबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज बिहान बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि छन ।
उनीहरू बिहान करिब १० बजे काठमाडौंबाट सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन् । बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । बाढीपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय भएका थिए ।
बाढीलगत्तै उनले उच्चस्तरीय बैठक राखेर उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । समय सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर र आसपासका प्रभावित बस्तीको निरीक्षण गर्ने सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ ।
साथै, प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत र्पुयाउन र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । यसबीच बुधबार भोटेकोसी (रसुवा) मा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूलीको बहाब सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी महाशाखाले आज बिहान ८ बजे सूचना जारी सो जानकारी दिएको हो । आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल रहेको बाढी महाशाखाले जानकारी दिएको छ ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी बाढीमा अतिरिक्त बहाब दुई करोड घनमिटर आयतन देखिएको जनाएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी बाढीको अध्ययन प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै बुधबार साँझ साढे ६ बजे देवघाटमा अतिरिक्त बहाब करिव २ करोड घनमिटर आयतन देखिएको उल्लेख गरेको छ ।
तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा रसुवाको भोटेकोसी हुँदै त्रिशूली र नारायणी नदी तटीय क्षेत्रसम्म ठूलो विनाश भएको प्रतिवेदनमा उल्लेख छ । टाइमलाइनसहितको प्रतिवेदनमा बाढी आएपछि गरिएको सूचनाका कारण ठूलो संख्यामा मानिसको ज्यान जोगिएको उल्लेख छ ।
उता नेपाल–चीन सीमावर्ती रसुवागढी–केरुङ क्षेत्रमा बुधबारको विनाशकारी बाढीपहिरोबारे काठमाडौंस्थत चिनियाँ दूतावासले आफ्नो धारणा सार्वजनिक गर्दै फैलाइएका केही दाबी भ्रामक भएको स्पष्ट पारेको छ । दूतावासले आरोप–प्रत्यारोपभन्दा द्विपक्षीय सहकार्यमा जोड दिएको छ ।

चीनले पूर्वसूचना नदिँदा वा चिनियाँ भूभागमा बनेको भौगर्भिक बाँध भत्कँदा नेपालतर्फ ठूलो क्षति भएको भन्ने समाचार निराधार रहेको दूतावासले जनाएको छ । सन् २०२६ अगस्ट २६ को बिहान नेपालतर्फको भूभागमा भूकम्प वा सोहीसरहको हिमनदी भत्कने घटना घटेको र त्यसैबाट भीषण लेदोसहितको पहिरो उत्पन्न भएको दूतावासको भनाइ छ ।
यो प्राकृतिक विपद्का कारण नेपाल र चीनको ग्याइरोङ क्षेत्र दुवैतर्फ ठूलो मात्रामा मानवीय क्षति हुनुका साथै मानिस बेपत्ता भएका दूतावासले उल्लेख गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा विपद्को यो कठिन परिस्थितिमा आरोप–प्रत्यारोपले केही समाधान नगर्ने भन्दै आपसी सहकार्यले नै मानिसको जीवनरक्षा गर्न सकिने उल्लेख गरिएको छ ।
यता अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले भोटेकोसी नदीमा भीषण बाढी उच्च हिमाली क्षेत्रबाट खसेको हिउँ र चट्टानको हिमपहिरोका कारण आएको हो वा होइन भन्नेबारे नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले अनुसन्धान गरिरहेको जनाएको छ ।
भिडियो फुटेज र प्रभावित क्षेत्रबाट प्राप्त जानकारीका आधारमा गरिएको प्रारम्भिक मूल्यांकनबाट भोटेकोसीको सहायक नदी ल्हेन्दे खोलामा ठूलो मात्रामा हिउँ र चट्टानको लेदो खसेको देखिएको इसिमोडले जनाएको छ । सोही घटनाका कारण उत्पन्न अचानकको तीव्र बहावले पानी, गेग्य्रान र ठूला चट्टानलाई तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएको अनुसन्धानकर्ताको भनाइ रहेको इसिमोडले जनाएको छ ।
नदीको साँघुरो भागमा लेदो तथा गेग्य्रान जम्मा भई अस्थायी रूपमा प्राकृतिक बाँध बनेको थियो वा थिएन भन्नेबारे पनि विज्ञले अध्ययन गरिरहेका छन् । यसरी थुनिएको पानी अचानक खुल्दा दोस्रो चरणको थप गम्भीर जोखिम सिर्जना हुन सक्ने भन्दै अधिकारी तथा वैज्ञानिकले सम्भावित अवरोधको आकार, स्थान र त्यसको स्थायित्वको निरन्तर मूल्यांकन गरिरहेका इसिमोडले जनाएको छ ।
सिस्मोलोजिकल रेकर्डको प्रारम्भिक विश्लेषणबाट विपद्को समयमा केही अस्वाभाविक संकेत दर्ता भएको पनि इसिमोडले जनाएको छ । प्रभावित क्षेत्रभन्दा करिब १२ किलोमिटर टाढा रहेको जिलोङस्थित सिस्मोट्रयाकिङ स्टेसन र झाङमुको दोस्रो स्टेसनमा अस्वाभाविक कम्पन रेकर्ड भएको इसिमोडले जनाएको छ ।
इसिमोडले भनेको छ, “वैज्ञानिकहरू यी भूकम्पीय संकेतहरू आशंका गरिएको हिमपहिरोसँग सम्बन्धित छन् वा छैनन् भन्नेबारे अनुसन्धान गरिरहेका छन् । हालसम्म भूकम्पीय गतिविधि र आएको बाढीबीच प्रत्यक्ष कार्यकारण सम्बन्ध भने स्थापित भइसकेको छैन ।”
जलवायु तथा वातावरणीय जोखिम प्रमुख इसिमोडका छ्याङगोङ झाङले भनेका छन्, “गत वर्ष रसुवामा बाढीले क्षति पु¥याएको उही क्षेत्र पुनः जोखिममा परेको छ । ल्हेन्दे खोलामा आएको हिमपहिरो नै मुख्य कारण भएको आशंका गरिए पनि वास्तविक कारण पुष्टि हुन बाँकी छ । नेपाल–चीन सीमाको माथिल्लो क्षेत्रमा अझै पनि पहिरो र लेदोको अवरोध कायमै रहेकाले अर्को बाढी आउने पक्कापक्की छ र यसैलाई ध्यानमा राख्दै केरुङ नाका खाली गराउने आदेश जारी भइसकेको छ ।”
इसिमोडका वरिष्ठ क्रायोस्फियरविज्ञ मोहम्मद फारुक आजमले भनेका छन्, “हिममण्डल (क्रायोस्फियर)सँग जोडिएका विपद्हरूको बढ्दो जोखिम विगतमा भन्दा अहिले झनै स्पष्ट रूपमा देखिन थालेको छ । परिवर्तनको गति यति तीव्र छ कि हाम्रा वर्तमान प्रयासले त्यसलाई धान्न संघर्ष गरिरहेका छन् । ल्हेन्दे खोलामा भदौ १० भएको विपद्ले सीमापार जोखिमको सामना गर्न सरकारहरूले समन्वयात्मक कदम चाल्दै अझ बलियो क्षेत्रीय सहकार्य गर्नुपर्ने आवश्यकतालाई थप उजागर गरेको छ ।”
घटनाको मुख्य कारण पत्ता लगाउन र तल्लो तटीय क्षेत्रका बस्तीमा कायम रहेको जोखिमको आकलन गर्न इसिमोडका विज्ञले जलवैज्ञानिक, भूकम्पीय, भूउपग्रह तथा स्थलगत तथ्यांकको निरन्तर विश्लेषण गरिरहेका जनाइएको छ ।
उता नेपालको भोटेकोसीमा आएको विनाशकारी बाढीलाई एक ‘विशाल भूभौतिकीय घटना’ र त्यसपछि उत्पन्न शृंखलाबद्ध प्रतिक्रियाका कारण भएको वैज्ञानिकहरूले बताएका छन् । एबीसी न्युजका अनुसार अमेरिकाको कोलम्बिया युनिभर्सिटीको लामन्ट–डोहर्टी अर्थ अब्जर्भेटरीका भूभौतिकविद् प्रोफेसर गोरान एकस्ट्रोमका अनुसार हिमाली भिराले क्षेत्रमा गएको भीषण पहिरोले ठूलो हिमनदी वा त्यसको मुख्य भागलाई बगाएर लगेको थियो ।
उक्त पहिरो यति शक्तिशाली थियो कि त्यसबाट उत्पन्न कम्पन विश्वभरका सिस्मोग्राफमा ५.२ म्याग्निच्युडको भूकम्पका रूपमा दर्ता भएको उनले बताएका छन् । प्रोफेसर एकस्ट्रोमले पहाडबाट तीव्र गतिमा खसेका चट्टानहरूले ठूलो ऊर्जा उत्पन्न गर्दा हिमनदी पग्लिएको र त्यसका कारण पहाडको फेदीबाट ठूलो मात्रामा लेदोसहितको पानी बगेको बताए ।
भूभौतिकविद् प्रोफेसर एकस्ट्रोमका अनुसार हिमाली क्षेत्रमा यसअघि पनि यस्ता घटनाहरू हुने गरे पनि यो एक विशाल भूभौतिकीय घटना भएकोमा जोड दिएका छन् । प्रोफेसरका अनुसार पहाडबाट चट्टानहरू तल खस्दा अत्यधिक ऊर्जा उत्पन्न भई तातो बनाउँछ, जसले गर्दा हिमनदी पग्लिन पुग्छ, यही कारण पहाडको फेदीमा त्यति धेरै पानी खसेको हुनसक्छ ।
उपत्यकामा खसेको हिउँ, लेदो र पानीको सतह असाधारण रूपमा उच्च रहेको भन्दै उनले करिब १३० देखि १६० फिटसम्म पुगेको तथा पानी प्रतिघण्टा करिब ४४ माइलको गतिमा बगेको अनुमान गरिएको छ ।प्रोफेसर एकस्ट्रोमले जलवायु परिवर्तनका कारण विश्वभर हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् ।
यस्ता पहिरो प्राकृतिक रूपमा हुने भए पनि जलवायु परिवर्तनले यस्ता घटनाको आवृत्ति र तीव्रता बढाउन सक्ने उनको निष्कर्ष छ । यसैबीच देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको जानकारी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिको मिलेर सामना भइरहेको बताएका छन् । उद्धारका लागि बिहान ६ः३० बजेदेखि नै उडानहरू सुरु भइसकेको र १५ भन्दा बढी उडान सम्पन्न भएको उनले जनाएका छन्। थप हेलिकोप्टर पनि उडानका लागि तयारी अवस्थामा राखिएका छन् ।
नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामा ९५ नेपाली र २१ भारतीय नागरिक छन्। यसका साथै टनेलबाट सात जना नेपाली नागरिकको सफलतापूर्वक उद्धार गरिएको जानकारी प्रधानमन्त्री शाहले दिएका छन् ।
प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री द्रुत रूपमा पु¥याउने काम भइरहेको छ। राहत सामग्रीका साथै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट र फलाम–ढुङ्गा काट्ने मेसिन पठाइँदैछ। सम्पर्क सहज बनाउन प्रभावित क्षेत्रमा छिट्टै मोबाइल नेटवर्क तथा चार्जिङको अस्थायी व्यवस्था गरिनेछ ।
नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको प्रबन्ध मिलाइएको छ। चुस्त उद्धारका लागि ड्रोन सर्भेमार्फत जानकारी सङ्कलन अन्तिम चरणमा पुगेको छ। हेलिकोप्टरमार्फत उद्धार गर्दा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिइनेछ ।
राज्यका सम्पूर्ण संयन्त्र परिचालित भएकाले धैर्य तथा संयम राखी उद्धारको प्रतीक्षा गर्न प्रधानमन्त्रीले अनुरोध गरेका छन्। उनले आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न आह्वान समेत गरेका छन् ।




